क्ल्यूचेवस्कॉय ज्वालामुखीको विस्फोटले हवाई यातायात प्रभावित, वैज्ञानिकहरू चिन्तित
![]() |
फाेटाेः नासा |
अमेरिकी अन्तरिक्ष संस्था नासाको 'Aqua' स्याटेलाइटले खिचेको फॉल्स-कलर तस्बिरमा करिब १६०० किलोमिटरसम्म फैलिएको धुवाँको गहिरो नदी देखिएको छ। तस्बिरमा ज्वालामुखीबाट निस्किएको लावा दायाँ–बायाँ दुई छेउबाट फैलिँदै राक्षसी सिङझैँ देखिएकोले वैज्ञानिकहरूले यसलाई ‘राक्षसी ज्वालामुखी’ भनेर समेत उल्लेख गरेका छन्।
नासाका अनुसार, रातो इन्फ्रारेड रङ प्रयोग गरेर तयार पारिएको उक्त तस्बिरमा लावा, खरानी र ग्यासको बाक्लो मुस्लो देखाइएको छ, जसले करिब १२ किलोमिटरसम्मको आकाश ढाकेपछि आन्तरिक तथा क्षेत्रीय उडानहरू प्रभावित भएका छन्।
हवाई उडान र जलवायुमा असर
विस्फोटको कारण कामचाट्का आसपासका क्षेत्रका हवाई उडानहरू अस्थायी रूपमा अवरुद्ध भएका छन्। वैज्ञानिकहरूको भनाइमा, यस्ता शक्तिशाली विस्फोटले न केवल स्थानीय वातावरणमा तर समग्र वैश्विक जलवायु प्रणालीमा पनि अस्थायी असर पार्न सक्छ। वायुमण्डलमा फैलिएको खरानी र ग्यासका कणहरूले पृथ्वीको सतहमा पुग्ने सूर्यको किरणलाई अवरुद्ध गर्दै तापक्रम घटाउन सक्छन्।
एशियाकै अग्लो सक्रिय ज्वालामुखी
४,७५४ मिटर (१५,५९७ फिट) उचाइको क्ल्यूचेवस्कॉय ज्वालामुखी एशिया र युरोपकै सबैभन्दा अग्लो सक्रिय ज्वालामुखी मानिन्छ। सन् २०२५ को अप्रिलदेखि यसको हालको गतिविधि सुरु भएको हो, जुन अहिले पनि जारी छ। तथ्यांकअनुसार, यो ज्वालामुखी २१औँ शताब्दीमा मात्रै १८ पटक विस्फोट भइसकेको छ भने पछिल्ला सय वर्षमा ६० पटकभन्दा बढी विस्फोट भएको छ।
Birth of the new cone on Eurasia's highest active volcano - the Klyuchevskaya Sopka on the Kamchatka Peninsula - filmed by videographer Artyom Gromov and his team pic.twitter.com/kuJRdEvOgh
— The Siberian Times (@siberian_times) March 9, 2021
यसको नजिकै अवस्थित ‘बेज़ीमीयानी’ नामक अर्को सानो ज्वालामुखी पनि सन् १९५५ पछि नियमित रूपमा सक्रिय रहँदै आएको छ।
‘रिङ अफ फायर’को जोखिमपूर्ण भूभाग
कामचाट्का क्षेत्र विश्वकै सबैभन्दा सक्रिय भूगर्भीय क्षेत्र ‘Pacific Ring of Fire’ को हिस्सा हो। ४०,००० किलोमिटर लामो यो क्षेत्रमा विश्वका दुई-तिहाइ सक्रिय ज्वालामुखी अवस्थित छन्। यस क्षेत्रको भूकम्प दर पनि उच्च छ। क्ल्यूचेवस्कॉय वरिपरि उश्कोव्स्की, टोलबाचिक, ज़िमिना, उदिना जस्ता अन्य सक्रिय ज्वालामुखीहरू पनि रहेका छन्, जसले यस भेगलाई एक प्राकृतिक ज्वालामुखी प्रयोगशालाको रूप दिएको छ।
वैज्ञानिकहरूको चिन्ता
भूगर्भविद्हरूका अनुसार यस्ता ज्वालामुखी गतिविधिहरू पृथ्वीको आन्तरिक संरचना र गतिशीलता बुझ्न अत्यन्त उपयोगी छन्। यद्यपि, यिनले मानव जीवन र वातावरणमा पार्न सक्ने जोखिम उच्च हुने भएकाले यस्ता घटनाप्रति वैज्ञानिक सतर्कता, विस्तृत अनुगमन तथा दीर्घकालीन अनुसन्धान आवश्यक रहेको उनीहरूको भनाइ छ।