एजेन्सी । आजको डिजिटल युगमा स्मार्टफोन हाम्रो जीवनको अभिन्न हिस्सा बनिसकेको छ । अब त वयस्क मात्र होइन, साना बालबालिका पनि मोबाइलमा झुण्डिएको देखिन्छन् । तर स्क्रिनको अत्यधिक प्रयोगले बच्चाहरूमा गम्भीर समस्याहरू निम्त्याइरहेको छ । यही विषयमा भारतको कर्नाटक राज्यकी एक विद्यालय शिक्षिकाले निकै सृजनात्मक र संवेदनशील तरिकाले बालबालिकालाई सचेत बनाउने प्रयास गरिन्, जसको भिडियो अहिले इन्स्टाग्राम, एक्स (पूर्व ट्विटर) र फेसबुकमा तीव्र गतिमा भाइरल भइरहेको छ ।
शिक्षिकाले अपनाए अनौठो उपाय
उक्त चेतनामूलक सत्रमा शिक्षिकाले एक बालिकाको आँखा कपडाले बाँधेर कक्षामा ल्याइन् । ती बालिका मोबाइल धेरै चलाएको कारण आँखा बिग्रिएको अभिनय गर्छिन् र दुखाइको कुरा सुनाउँछिन् । यस दृश्यले कक्षा भरिका बालबालिकाहरूलाई भावनात्मक बनाउँछ, कतिपय डराउँछन् पनि । शिक्षिका पनि भावुक हुँदै बच्चाहरूलाई सम्झाउँछिन् कि प्रविधिको असन्तुलित प्रयोगले कति ठूलो समस्या ल्याउन सक्छ ।
यो नविन प्रयासले सामाजिक सञ्जालमा धेरै प्रशंसा पाइरहेको छ ।
बालबालिकाको लागि बढ्दो जोखिम
हालैको एक अध्ययन अनुसार भारतमा पाँच वर्षभन्दा कम उमेरका बालबालिकाहरूले दैनिक औसत २.२ घण्टा स्क्रिन हेर्ने गर्छन् — जुन स्वास्थ्य विशेषज्ञहरूले सिफारिस गरेको सीमा भन्दा धेरै हो । अनुसन्धानले देखाएको छ कि अत्यधिक स्क्रिन टाइमले बालबालिकामा शारीरिक, मानसिक र सामाजिक विकासमा असर पु¥याउने, निद्राको गडबडी, व्यवहारजन्य समस्या र मानसिक तनावसमेत निम्त्याउने सम्भावना हुन्छ ।
अभिभावक भूमिका
- घरमा टेक–फ्री जोन बनाउने (जस्तै भोजन कक्ष र सुत्ने कोठा)
- विशेषगरी ५ वर्ष मुनिका बच्चाहरूका लागि स्क्रिन टाइम सीमित गर्नु
- बच्चाहरूलाई खेलकुद, सिर्जनात्मक गतिविधि र पारिवारिक संवादमा सहभागी गराउने
यो भिडियोले हामी सबैलाई सोच्न बाध्य बनाएको छ – के हामी प्रविधिको प्रयोग गरिरहेका छौं वा प्रविधिले हामीलाई नियन्त्रण गरिरहेको छ ?