डोलेश्वरमा साउन १ गतेदेखि साउनी मेला सुरु, भाद्र ६ गतेसम्म धार्मिक कार्यक्रम जारी रहने

0


भक्तपुर । 
हिन्दु धर्मावलम्बीहरूको एक प्रमुख तीर्थस्थल डोलेश्वर महादेव मन्दिरमा यस वर्ष पनि साउन १ गतेदेखि भाद्र ६ गतेसम्म साउनी मेला आयोजना हुने भएको छ। केदारनाथको शिरका रूपमा मानिने डोलेश्वर महादेव मन्दिर परिसरमा हुने उक्त मेलाको जानकारी डोलेश्वर महादेव संरक्षण तथा विकास समितिले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमार्फत दिएको हो।

मेलाको उद्घाटन बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले साउन १ गते डोलेश्वर मन्दिरमा गर्नेछ। उद्घाटनको दिन बिहान ७ बजे चन्द्रविनायक मन्दिर, पौखेलबाट डोलेश्वर मन्दिरसम्म कलश यात्रा आयोजना गरिनेछ।

मेलाको अवधिभर विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरु सञ्चालन हुनेछन्। साउन ३ र ५ गते, १० र १२ गते, १७ र १९ गते, २४ र २६ गते तथा साउन ३१ गते धार्मिक प्रवचन तथा भजनकीर्तन कार्यक्रमहरु आयोजना हुनेछन्। प्रवचनहरू पण्डित बालकृष्ण अर्याल, सुवी मानवज्यू र पण्डित जनार्दन पौडेलबाट हुनेछ भने विभिन्न कलाकारहरूले भजनकीर्तन प्रस्तुत गर्नेछन्।

मेलाको समापन भाद्र ६ गते सूर्यविनायक नगरपालिकाका नगर प्रमुख बासुदेव थापाले गर्ने जानकारी साे कार्यक्रममा गराइउकाे  थियाे । डोलेश्वर महादेव संरक्षण तथा विकास समितिका अध्यक्ष धर्मराज बस्नेतका अनुसार, यस वर्ष पनि दर्शनार्थीहरूको उल्लेख्य उपस्थिति हुने अपेक्षा गरिएको छ। मेलालाई व्यवस्थित र भव्य बनाउने उद्देश्यले विभिन्न उप-समितिहरू गठन गरिएका छन्। मेलामा सहज दर्शन व्यवस्थापन गर्न स्थानीय संघ–संस्था, टोल सुधार समिति तथा महिला समूहहरूसँग समन्वय गरिनेछ।

सुरक्षा तथा स्वास्थ्य व्यवस्थाको लागि विशेष तयारी गरिएको बताइएको छ। मन्दिर परिसरमा सीसी टिभी जडान गरिएको छ भने प्रहरी, स्वयंसेवक र ट्राफिक व्यवस्थापनका लागि सम्बन्धित निकायहरूसँग सहकार्य गरिनेछ। मेलाको अवधिभर भक्तजनहरूको स्वास्थ्य परीक्षणका लागि रणशेर गण सूर्यविनायकसहितका अस्पतालहरूसँगको समन्वयमा स्वास्थ्य शिविर सञ्चालन गरिनेछ।

सिपाडोलस्थित डोलेश्वर महादेव मन्दिर सन् २००९ (वि.सं. २०६६ साल) भाद्र ६ गते भारतको प्रसिद्ध केदारनाथ मन्दिरको शिर भागका रूपमा घोषणा भएको थियो। त्यसयता यसको धार्मिक महत्व झनै बढ्दै गएको छ।

सिपाडोल वडा नं ८ का वडा अध्यक्ष पुष्पराज बस्नेतले डोलेश्वर महादेवलाई धार्मिक पर्यटनको केन्द्र बनाउन नगरपालिकाले विशेष पहल गरिरहेको जानकारी दिए। मेलामा सहभागी हुन समितिले आम नागरिकहरूलाई आह्वान समेत गरेको छ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top