शिशुहरूको बारेमा तथ्यहरूः नवजात शिशुहरू जन्मेपछि पहिलो ६ महिनासम्म असामान्य तरिकाले सुत्ने गर्छन् । धेरैजसो शिशुहरू दिनभर सुत्ने गर्छन् भने रात पर्नासाथ उनीहरूको आँखा खुल्ने गर्छ । यसपछि त उनीहरू रातभर ननिदाई ब्युँझिरहने प्रयास गर्छन् । सरल भाषामा भन्नुपर्दा, शिशुहरूको सुत्ने प्रणाली उल्टो हुन्छ । उमेर बढ्दै जाँदा उनीहरूको सुत्ने तालिका सामान्य हुँदै जान्छ । प्रारम्भिक केही महिनाहरू आमाबाबुका लागि अत्यन्त चुनौतीपूर्ण हुने गर्दछ ।
शिशुहरूको यो सुत्ने बानी सामान्य हो
भारतको मुम्बईस्थित घाटकोपरको शान्ति हेल्थकेयर क्लिनिककी शिशु रोग विशेषज्ञ डा. श्रुति घटालियाका अनुसार “शिशु जब आमाको पेटभित्र हुन्छ, तब नै उसको सर्केडियन रिदम (शरीरको आन्तरिक समय प्रणाली) विकास भइसकेको हुन्छ । जन्मेपछि पनि उनीहरू सोही रिदमअनुसार चल्ने गर्छन् र सुरुवाती २–३ महिनासम्म राति ब्युँझिनु र दिनमा सुत्न मन पराउँछन् ।”
बारम्बार दूध खानुपर्ने भएकाले पनि ब्युँझिन्छन्
डा. घटालियाका अनुसार नवजात शिशुहरूलाई हरेक २–३ घण्टामा स्तनपान गराउनुपर्छ, जसका कारण पनि उनीहरू बारम्बार ब्युँझिन्छन् । यद्यपि हरेक शिशुको सुत्ने बानी फरक हुन्छ । करिब हरेक २–३ महिनामा उनीहरूको सुत्ने चक्रमा फेरबदल आउने गर्दछ । सामान्यतया ३–४ महिनापछि उनीहरूको सुत्ने बानी केही हदसम्म नियमित हुन थाल्छ ।
घरको वातावरणको प्रभाव र पेटको समस्या पनि कारण हुन सक्छ
विशेषज्ञहरूका अनुसार शिशुको सुत्ने गुणस्तरमा घरको वातावरणको ठूलो भूमिका हुन्छ । जब शिशु धेरै सानो हुन्छ, तव हल्का आवाजले पनि उनीहरू ब्युँझिन सक्छन्, जसका कारण उनीहरू रुन थाल्छन् । ६ महिनापछि भने शिशुलाई एकपटक दूध खुवाएपछि ४–५ घण्टासम्म पुनः स्तनपान गराउनु नपर्ने अवस्था आउन सक्छ ।
धेरैपटक शिशुलाई पेट दुख्ने वा ग्यासको समस्या हुने गर्दछ, जसले गर्दा राति उनीहरू ब्युँझिएर रुन थाल्छन् । त्यसैले प्रारम्भिक ६ महिनासम्म स्तनपान गराएपछि बच्चालाई डकार गराउनु आवश्यक हुन्छ, जसले गर्दा उनीहरू सजिलै सुत्न सक्छन् ।
यस व्यवहारसँग शिशुको स्वास्थ्य, विकास र सुरक्षा जोडिएको हुन्छ
विशेषज्ञहरू भन्छन् कि शिशुहरू राति किन ब्युँझिन्छन् र दिनमा किन सुत्छन् भन्ने कुरा बुझ्नु अत्यावश्यक छ, ताकि आमाबाबुहरुले सही तरिकाबाट सन्तानको हेरचाह गर्न सकून् । शिशुहरूको यस्तो व्यवहार उनीहरूको स्वास्थ्य, पोषण र विकाससँग प्रत्यक्ष सम्बन्धित हुन्छ । यदि शिशुको सुत्ने तालिका लामो समयसम्म असामान्य देखियो भने वा धेरै नै समस्या भइरहेको छ भने चिकित्सकसँग परामर्श लिनु जरुरी हुन्छ ।
सही समयमा माया, ममता र उचित हेरचाहका साथ शिशुहरूको सुत्ने प्रणालीमा सुधार ल्याउन सकिन्छ ।