काठमाडौं । तारा एकपटक मात्र मर्छ भन्ने वैज्ञानिक मान्यता अब बदलिन भएको छ । युरोपियन स्पेस अब्जरभेटरी (ईएसओ) का वैज्ञानिकहरूले पहिलोपटक ताराको दोहोरो विस्फोट (Double Detonation) भएको दृश्य प्रमाण फेला पारेका छन्, जसले ताराको दुईपटक ‘मृत्यु’ हुनसक्ने सम्भावनालाई पुष्टि गरेको छ ।
यो वैज्ञानिक खोज सुपरनोभा 'SNR 0509-67.5' को अध्ययनबाट सम्भव भएको हो, जुन पृथ्वीबाट लगभग १ लाख ६० हजार प्रकाश वर्ष टाढा रहेको ‘लार्ज म्याजेलानिक क्लाउड’ नामक आकाशगंगाको स्याटेलाइट ग्यालेक्सीमा अवस्थित छ । वैज्ञानिकहरूका अनुसार यो सुपरनोभा करिब ३०० वर्षअघि विस्फोट भएको हो ।
यस अध्ययनको नेतृत्व गरेका अस्ट्रेलियास्थित न्यू साउथ वेल्स विश्वविद्यालयका प्रमुख अनुसन्धानकर्ता डा. प्रियम दासले विज्ञप्तिमा भने, “डबल डेटोनेसनको यो ठोस प्रमाणले खगोलशास्त्रमा लामो समयदेखि चलिरहेको रहस्य सुल्झाउन सघाउ पुर्याउनुका साथै ब्रह्माण्ड भित्रको रहस्यलाई उजागर गर्न नयाँ ढोका खोलिदिएको छ ।”
पहिलोपटक देखियो दोहोरो विस्फोटको प्रमाण
वैज्ञानिकहरूले युरोपियन स्पेस अब्जरभेटरीको ‘भेरी लार्ज टेलिस्कोप’(VLT) र ‘मल्टी युनिट स्पेक्ट्रोस्कोपिक एक्सप्लोरर’ (MUSE) प्रविधिको सहायताले उक्त अवशेषमा गरिएको अध्ययनमा दोहोरो विस्फोटको संकेत भेट्टाएका हुन् । यसले ताराले चन्द्रशेखर सीमा (सूयृको तुलनामा करिब १.४ गुणा बढी भार) नपुगेकै अवस्थामा पनि सुपरनोभा बन्न सक्ने नयाँ सम्भावना देखाएको छ ।
सामान्यतया, जब दुई ताराको प्रणालीमा एउटा तारा मरेर ’ह्वाइट ड्वार्फ’ (सेतो पुड्के तारा) बन्छ, त्यो बाँकी जीवित साथी ताराबाट पदार्थ खिच्न थाल्छ । पदार्थको मात्रा चन्द्रशेखर सीमा (सूर्यको भारभन्दा करिब १.४ गुणा बढी) पार गरेपछि मात्र विस्फोट हुने पुरानो मान्यता रहँदै आएको थियो ।
तर, नयाँ सिद्धान्त अनुसार, ह्वाइट ड्वार्फले खिचेको पदार्थले वरिपरि हेलियमको एक तह बनाउँछ । जब यो हेलियम अस्थिर भएर जल्न थाल्छ, त्यही पहिलो विस्फोट गराउँछ । त्यसले उत्पन्न गरेको शक्तिशाली तरंग (शक वेभ) ह्वाइट ड्वार्फको केन्द्रमा ठोक्किएर दोस्रो, अझ शक्तिशाली विस्फोट गराउँछ । यसैलाई ‘डबल डेटोनेसन’ भनिन्छ ।
खगोलशास्त्रमा क्रान्तिकारी खोज
यस खोजले खगोलशास्त्रीहरूका लागि टाइप Ia सुपरनोभाका बारेमा नयाँ दृष्टिकोण प्रस्तुत गरेको छ । टाइप Ia सुपरनोभालाई ब्रह्माण्डीय दूरी मापन गर्न प्रयोग गरिन्छ, किनभने यिनले सदैव एकै मात्राको प्रकाश उत्सर्जन गर्छन् । त्यसैले वैज्ञानिकहरू यिनलाई ’स्ट्यान्डर्ड क्यान्डल’ पनि भन्छन् ।
ईएसओ र हबल स्पेस टेलिस्कोपद्वारा सङ्कलित डेटा अनुसार 'SNR 0509-67.5' एक ह्वाइट ड्वार्फ सुपरनोभा भएको प्रमाणित गरिएको छ । अवशेषमा भेटिएको ‘डबल डेटोनेसन’ को फिङ्गरप्रिन्ट लामो समयसम्म रहने खालको भएको वैज्ञानिकहरूले जनाएका छन् ।
यो अध्ययनले खगोलशास्त्रको एक पुरानो सिद्धान्तमा प्रश्न उठाउँदै ताराको जीवनचक्र र ब्रह्माण्डको संरचना बुझ्नका लागि नयाँ ढोका खोलिदिएको छ ।