भक्तपुर । स्वास्थ्य सेवा दिन प्रतिदिन महँगिदै गएको वर्तमान अवस्थामा भक्तपुरस्थित जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले निःशुल्क रुपमा गुणस्तरीय उपचार सेवा दिँदै आएको छ। नेपाल सरकारले स्थापना गरेको यो केन्द्रबाट दैनिक रूपमा बढ्दो संख्यामा सर्वसाधारणले सेवा लिइरहेका छन्।
एकातिर निजी अस्पतालहरूले आधुनिक सेवाको नाममा महँगो शुल्क लिइरहेका बेला सरकारी अस्पतालहरूमा सेवाग्राहीको अत्यधिक चापले गुणस्तरीय सेवा नपाइने गुनासोहरू बढ्दो छन्। अर्कोतर्फ नेपालमा औषधि उत्पादन कम र आयातमा निर्भरता बढी भएकाले समेत उपचार सेवा महँगिएको जनाइएको छ। हाम्रो आफ्नै देशमा औषधी लगायतको उत्पादन नहुने कारणबाट पनि नेपालकिो लागि स्वास्थ्य सेवा महँगो हुने गरेको बताइन्छ ।
तर हाल आयुर्वेदका नाममा हुने गरेका गैरजिम्मेवार मुलक क्रियाकलापहरु र विना प्रमाणित निर्माण भएका आयुर्वेदका औषधीको सेवनका कारण हुने गरेका स्वास्थ्य समस्या आउने गरेको भ्रम सिर्जना गर्दै मानिसमा आयुर्वेद विरुद्ध भ्रामक तथ्यहरु बहिर आइरहेको कारण देशकै मौलिक र सदियौं पुरानो प्रमाणिक आयुर्वेद चिकित्सा प्रणालीलाई आम जनमानसमा सकारात्मक र सही सूचना प्रवाहित गरी आम जनतामा आयुर्वद चिकित्सा प्रणाली प्रति विश्वास जगाउन र जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, भक्तपुरले सेवा सुरु गरेको तीन वर्षभित्र उल्लेखनीय प्रगति गरेको विषयमा बिहीबार केन्द्र परिसरमा आयोजित पत्रकार सम्मेलनमा केन्द्रले आफ्नो तिन वर्षे कार्य प्रगति सार्वजनिक गर्दै सञ्चारकर्मीहरूसँग संवाद कार्यक्रम सम्पन्न ग¥यो।
कार्यक्रममा केन्द्रका प्रमुख डा. नदन कँडेलले आयुर्वेद चिकित्सा पद्धति स्वास्थ्यका लागि सुरक्षित, प्राकृतिक र साइड इफेक्ट रहित भएकाले जनताको आकर्षण बढ्दै गएको जानकारी दिए। उनका अनुसार, “केन्द्रमा उपचार गर्न आउने बिरामीको संख्या हरेक वर्ष बढ्दो क्रममा छ, जसमा सञ्चार माध्यमबाट प्रवाहित सकारात्मक सूचनाले पनि ठूलो भूमिका खेलेको छ।“
उनले जानकारी दिएअनुसार, केन्द्रमा दर्ता शुल्कदेखि उपचार, परीक्षण तथा झण्डै २३ प्रकारका आयुर्वेद औषधिसमेत निःशुल्क रूपमा उपलब्ध गराइन्छ। साथै, सस्तो दरमा औषधि उपलब्ध गराउने उद्देश्यले सञ्चालित औषधि विक्री केन्द्रमार्फत १० प्रतिशत छुटमा औषधि वितरण गरिंदै आएको छ।
डा. कँडेलका अनुसार, “यद्यपि आयुर्वेद औषधि अन्य केमिकलयुक्त औषधिको तुलनामा केही महँगो पर्न सक्छ, तर दीर्घकालीन रुपमा हेर्दा सुरक्षित, प्राकृतिक र जीवनशैलीमैत्री उपचार प्रणाली भएकाले यसको माग बढ्दै गएको छ।“
केन्द्रको मुख्य कार्यालय भक्तपुरको कमलविनायकमा रहेको छ। हाल भक्तपुर जिल्लाका चारवटै पालिकासँग समन्वय गर्दै आयुर्वेद सेवा विस्तार गरिंदै आएको छ भने आगामी दिनमा केन्द्रलाई १६ शैयाको अस्पतालमा स्तरोन्नति गर्ने लक्ष्य पनि राखिएको जानकारी दिइएको छ ।