भक्तपुर । विगत लामो समयदेखि रोकिएको मध्यपुर थिमि नगरको नगदेशमा प्रत्येक वर्षको सापारुको भोलीपल्टबाट ४ दिन सम्म संचालन हुने १२ वर्षको लामो अन्तरालपछि तान्त्रिक नृत्य परम्परा अन्तर्गत ‘नगदेश तान्त्रिक भैल प्याखः’ पुनः सञ्चालनमा आउन लागेको छ । ‘श्री नगदेश ऐतिहासिक साँस्कृतिक भैल पुचः–२०८२’ को आयोजनामा हुन लागेको भैल प्याखःका कलाकारहरूको नाम सार्वजनिक गरिएसँगै नगदेशमा यो वर्ष भैल प्याखँ सञ्चालन हुने तय भएको आयोजक संस्थाले जनाएको छ ।
संस्थाले सामाजिक सञ्जाल मार्फत कलाकारहरूको नाम र फोटोसमेत सार्वजनिक गर्दै परम्परागत अनुशासन, गहन साधना र सांस्कृतिक पहिचानको रूपमा स्थापित भैल प्याखः यस वर्ष विशेष आकर्षणको रूपमा प्रस्तुत गरिने जानकारी दिएको छ ।
सार्वजनिक गरिएका कलाकारहरू यस प्रकार रहेका छनः
- न्हापा भैलः श्रीष घजु
- लिपा भैलः दिपेश बाडे
- न्हापा दागेंः रनिश साहु
- लिपा दागेंः अपिल घजु
- ज्यापुंगः चाः बिराज दुगु
परम्परागत रुपमा नचाइने भैल प्याखँमा संरचनाअनुसार ५ जना कलाकारहरू रहने व्यवस्था छ भने यसका साथमा विभिन्न प्रकारका बाजागाजा बजाउने कलाकारहरु नेपथ्यमा रहने गर्दछ भने नाच अवधिभर सहयोगीको रुपमा स्वयंसेवकहरुको पनि व्यवस्था रहेको हुन्छ ।
यो प्राचीन तान्त्रिक नाच भक्तपुर क्षेत्रको सांस्कृतिक सम्पदाको महत्वपूर्ण अंश मानिन्छ । १२ वर्षपछि पुनः सञ्चालन हुन लागेको भैल प्याखःले स्थानीयवासीहरूमा विशेष उत्साह र उल्लास थपेको छ । यो नाच सापारुको भालीपल्ट अर्थाट द्वितीया देखि पञ्चमीसम्म चार दिन नगरका विभिन्न स्थानहरुमा नचाइने गरिन्छ ।
आयोजकका अनुसार तालिम, पोशाक र विधिको अन्तिम तयारी तीव्र गतिमा भइरहेको छ । आगामी दिनहरूमा भैलको प्रस्तुति अझ आकर्षक बनाउन आवश्यक सबै तयारी पूरा गरिने जनाइएको छ । परम्परागत तान्त्रिक विधिअनुसार प्रस्तुत गरिने भैल: नाच विशेष सांस्कृतिक, धार्मिक तथा तान्त्रिक महत्व बोकेको मानिन्छ। यस नाचका लागि कलाकारहरूलाई विशेष प्रशिक्षण प्रदान गरिने छ। गुरुपूर्णिमाको अवसर पारेर धाः बाजा तालिम पनि सुरु भइसकेको छ।