९२ वर्षको उमेरमा पुनः चुनाव लड्ने घोषणा ! ४३ वर्षदेखि निरन्तर सत्तामा

0



एजेन्सी । क्यामरुनका राष्ट्रपति पॉल बिया पुनः एकपटक राष्ट्रपति पदका लागि चुनाव लड्ने भएका छन् । यस्तो खबरले धेरैलाई अचम्ममा पारेको छ । ९२ वर्ष पुगेका बिया सन् १९८२ देखि निरन्तर ४३ वर्षदेखि सत्तामा छन् र अहिलेसम्म चुनाव हारेका छैनन् ।

ग्त बुधबार सामाजिक सञ्जाल ‘एक्स’ मार्फत चुनाव लड्ने घोषणा गर्दै बियाले भने, “देश र जनताको सेवामा म अझै सक्षम छु । देश–विदेशका धेरैजनाले फेरि चुनाव लड्न आग्रह गरेपछि मैले निर्णय गरेको हुँ ।” तर, जनताले साँच्चिकै आग्रह गरे वा यो देखाउनका लागि मात्रै भनिएको हो भन्ने विषयमा प्रश्न उठ्न थालेका छन् ।

सत्ताको लामो यात्रामा अनेक विवाद

बिया सन् १९८२ मा पहिलो पटक राष्ट्रपति बनेका थिए । त्यसयता उनले हरेक चुनावमा जित हासिल गरेका छन् । आलोचकहरूका अनुसार उनले आफ्नो सत्ता कायम राख्न देशको संविधानसमेत परिवर्तन गराएका थिए, जसले उनलाई बारम्बार चुनाव लड्न अनुमति दिएको थियो ।

सन् २०१८ को चुनावमा उनले ७१ प्रतिशत मत ल्याएर जित हासिल गरे पनि विपक्षीले त्यसमा व्यापक धाँधली भएको आरोप लगाएका थिए । अब फेरि चुनाव जितेमा बिया लगभग १०० वर्षको उमेरसम्म सत्तामा रहनेछन्, जुन कुनै पनि लोकतान्त्रिक देशका लागि अस्वाभाविक मानिन्छ ।

स्वास्थ्य अवस्थाबारे चिन्ता

गत वर्ष बिया लगभग ६ हप्तासम्म सार्वजनिक जीवनबाट टाढा रहे । न त उनले कुनै भाषण दिएका थिए, न सार्वजनिक कार्यक्रममा देखिएका थिए । यसैले उनको मृत्युको अफवाहसमेत फैलिएको थियो । पछि भने उनी केही औपचारिक कार्यक्रममा देखिएका थिए । धेरैको धारणा छ कि उमेर र स्वास्थ्यले उनलाई राष्ट्रपतिको जिम्मेवारी सम्हाल्न योग्य बनाउँदैन ।

देशभित्र चुलिंदो असन्तोष

देशभित्र र बाहिरबाट बियाको उमेर, स्वास्थ्य र लामो शासनप्रति आलोचना चर्किएको छ । धेरै नागरिक अब नयाँ, ऊर्जावान् र युवा नेताको खोजीमा छन् । चर्चित मानवअधिकार वकिल फेलिक्स अगबोरले भने, “हामीलाई यस्तो नेतृत्व चाहिन्छ, जसले जनताको आकांक्षा पूरा गर्न सक्छ, सत्ता जोगाउन होइन ।”

यहाँसम्म कि उनका नजिकका केही पुराना नेताहरू पनि अब उनको विपक्षमा उभिएका छन् । पूर्वमन्त्री इसा चिरोमा बाकारी र बेल्लो बूबा म्यागारी जस्ता नेताहरूले सत्तारूढ पार्टी नै छाडेर स्वतन्त्र रूपमा चुनाव लड्ने घोषणा गरिसकेका छन् ।

केही समर्थन पनि कायम

यद्यपि बियाको समर्थनमा बोल्नेहरू पनि छन् । कतिपयको तर्क छ कि बियाले देशमा शान्ति र स्थायित्व ल्याएका छन् । एक सरकारी कर्मचारीले भने, “यदि उनी चुनाव लड्दैछन् भने यसको मतलब उनी अझै पनि सक्षम छन् ।” अर्की महिला कन्सल्टेन्टले भनिन्, “हामीलाई परिवर्तन चाहिएको होला, तर अहिलेको अवस्थामा बियाको विकल्प छैन जस्तो लाग्छ ।”

डरका कारण जनता मौन

क्यामरुनमा अभिव्यक्ति स्वतन्त्रताको अवस्था कमजोर रहेको मानिन्छ । बीबीसीसँग कुराकानी गर्ने धेरै मानिसले आफ्नो नाम, उमेर वा पेशा खुलाउन मानेनन् । उनीहरूलाई डर छ कि सरकारद्वारा उनीहरूलाई लक्ष्य बनाउन सकिन्छ । एक स्थानीय बासिन्दाले भने, “मैले कहिल्यै सुनेको थिइनँ कि ९२ वर्षको मान्छे फेरि राष्ट्रपतिको उम्मेदवार बन्ने तयारीमा छ । मलाई त लाग्यो अब उनी विश्राममा जानेछन् ।”

क्यामरुनमा पॉल बियाको आगामी चुनावी तयारीले फेरि लोकतन्त्र, उमेर सीमा, नेतृत्वको संक्रमणजस्ता मुद्दालाई चर्चाको केन्द्रमा ल्याएको छ । अब प्रश्न उठेको छ— के देश बियाको नेतृत्वमा अझै अघि बढ्न चाहन्छ, वा अब परिवर्तनको समय आएको हो ?


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top