ललितपुर । नेकपा (माओवादी केन्द्र) निकट युवा संगठन वाइसिएल नेपालले देशभर एकसाथ ‘श्रम र उत्पादनमा वाइसिएल अभियान’ सुरु गरेको छ। पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ललितपुरको सुनाकोठीस्थित चौरमा आयोजित विशेष कार्यक्रममार्फत अभियानको औपचारिक उद्घाटन गरे।
अभियान उद्घाटनसँगै प्रचण्ड स्वयं इँटा बोक्ने, घाँस काट्ने, वृक्षारोपण गर्ने र चौर सफा गर्नेजस्ता कार्यमा सहभागी बने। उनले यो अभियान माओवादी आन्दोलनको वैचारिक निरन्तरतासँग जोडिएको बताउँदै युवा पुस्तालाई श्रम र उत्पादनमा संलग्न हुन आह्वान गरे।
"यो अभियान हाम्रो वैचारिक तथा व्यवहारिक आन्दोलनसँग प्रत्यक्ष सम्बन्धित छ। अब युवाहरू उत्पादन, समृद्धि र आत्मनिर्भर अर्थतन्त्र निर्माणको अग्रभागमा उभिनुपर्छ," प्रचण्डले उद्घाटन समारोहमा भने।
उनका अनुसार, केन्द्रीय समिति गठनपछि सम्पन्न पहिलो पदाधिकारी बैठकले वाइसिएललाई उत्पादन र आर्थिक पुनर्निर्माणको अग्रणी भूमिकामा उभ्याउने निर्णय गरिसकेको थियो। सोही निर्णयअनुसार देशव्यापी अभियानको थालनी गरिएको हो।
भ्रष्टाचारविरुद्ध सडक संघर्षको चेतावनी
भ्रष्टाचारको सन्दर्भमा समेत अध्यक्ष प्रचण्डले कडा अभिव्यक्ति दिँदै सरकारलाई चेतावनी दिए।
"यदि सरकार यस्तै ढंगले भ्रष्टाचारमा लिप्त भइरह्यो भने सडकबाटै आन्दोलन गरेर हटाउनु पर्ने अवस्था आउन सक्छ," भन्दै उनले युवाहरूलाई भ्रष्टाचारविरुद्ध उभिन निर्देशन दिए।
नेतृत्व तहको उपस्थिति र राष्ट्रिय स्तरमा अभियान
उद्घाटन कार्यक्रममा माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसाल, वाइसिएल इन्चार्ज रामप्रसाद सापकोटा (दीपशिखा), पार्टीका केन्द्रीय सदस्यहरु हरि दाहाल, राजकाजि महर्जन, साबित्री काफ्ले, दिनेश महर्जन, उर्मिला लामा, बागमती प्रदेश अध्यक्ष सरल सहयात्रीलगायतको उपस्थिति थियो।
वाइसिएल अध्यक्ष पुस्प ओलीका अनुसार, अभियानको सुरुआत ५५ स्थानबाट एकैसाथ गरिएको हो। वाइसिएल केन्द्रीय सदस्य सरराज उप्रेतीले देशभर अभियानलाई थप सशक्त बनाउने योजना रहेको जानकारी दिए।