HIIT वा कार्डियोः तौल घटाउने कुन विधि प्रभावकारी ?

0

काठमाडौं । पछिल्लो समय तीव्र गतिमा फैलिँदै गएको मोटोपनको समस्या आधुनिक जीवनशैलीसँग गाँसिएको छ । अनियमित खानपान, तनाव, तथा शारीरिक निष्क्रियताका कारण तौल वृद्धि हुने मात्र होइन, त्यसले उच्च रक्तचाप, मधुमेह, मुटुरोग, लिवर सम्बन्धी गडबडी जस्ता दीर्घकालीन स्वास्थ्य समस्या निम्त्याउन सक्छ ।

यही कारण, धेरैले तौल घटाउन विभिन्न प्रयास गर्छन् — कोही डाइट प्लान अवलम्बन गर्छन्, कोही व्यायाममा सक्रिय हुन्छन्, भने कोही जिम, दौड वा साइकल चलाउने बानी बसाल्छन् । यद्यपि, “ एचआइआइटि प्रभावकारी कि कार्डियो?” भन्ने प्रश्नमा अझै धेरै अन्योल छन् ।

एचआइआइटि के हो ?

HIIT अर्थात् High–Intensity Interval Training एक किसिमको उच्च तीव्रता युक्त व्यायाम हो, जसमा छोटो अवधिमा धेरै शक्ति खर्च गरिन्छ । सामान्यतः १० देखि ३० मिनेटभित्र सीमित यो अभ्यासले मुटुको गति तीव्र बनाउने र शरीरको मेटाबोलिज्म दर उच्च बनाउने कार्य गर्छ ।

अमेरिकी स्वास्थ्य अध्ययनहरूका अनुसार, एचआइआइटिले पारम्परिक कार्डियो भन्दा छिटो र बढी क्यालोरी बर्न गर्ने क्षमता राख्दछ । साथै, व्यायाम पश्चात पनि शरीरमा २४ घण्टासम्म क्यालोरी बर्न हुने प्रक्रिया जारी रहन्छ ।

मांसपेशी संचित राखी शरीरको बोसो घटाउन चाहनेहरूका लागि यो विधि विशेष उपयोगी मानिन्छ । साथै, यसले मुटु तथा फोक्सोको कार्यसम्पादनमा सुधार ल्याउने अध्ययनहरूले देखाएका छन् ।

यद्यपि, अत्यधिक तीव्र भएकाले नयाँ अभ्यासकर्ताहरू, जोर्नी समस्या भएका वा वृद्ध व्यक्तिहरूका लागि यसले जोखिम निम्त्याउन सक्छ ।

कार्डियो के हो ?

कार्डियो अथवा एरोबिक व्यायाम भनेको नियमित गतिमा लामो समयसम्म गरिने अभ्यास हो, जसमा शरीरको ठूला मांसपेशी समूहहरू सक्रिय हुन्छन् ।

यसअन्तर्गत दौड, जॉगिङ, साइकल चलाउने, पौडी खेल्ने, ट्रेडमिल वा रोइङजस्ता गतिविधिहरू पर्छन् । सामान्यतः यस्तो व्यायाम २० देखि ४५ मिनेटसम्म गरिन्छ ।

कार्डियो अभ्यासले स्टेमिना (सहनशक्ति) बढाउने, हृदय र फोक्सोलाई सबल बनाउने र गतिहीन जीवनशैलीबाट सक्रियतामा लैजाने माध्यमको रूपमा महत्वपूर्ण भूमिका खेल्दछ ।

तौल घटाउन कुन उपयुक्त ?

यदि तपाईं समय अभावमा हुनुहुन्छ, तथा छोटो अवधिमा बढी क्यालोरी बर्न गर्न चाहनुहुन्छ भने तौल घटाउन उपयुक्त हुनसक्छ । तर, यदि तपाईं व्यायाममा नयाँ हुनुहुन्छ, वा स्वास्थ्यगत समस्या छ भने लो–इन्टेन्सिटी कार्डियोबाट सुरु गर्नु सुरक्षित मानिन्छ ।

स्वास्थ्य विशेषज्ञहरूका अनुसार, एचआइआइटि र कार्डियोको सन्तुलित संयोजन नै दीर्घकालीन रूपमा लाभदायक हुन्छ । हप्तामा २–३ दिन एचआइआइटि तथा बाँकी दिन कार्डियो वा स्ट्रेन्थ ट्रेनिङ राख्दा शरीरमा सन्तुलित सुधार देखिन्छ ।

स्वस्थ जीवनशैलीका लागि कुन व्यायाम रोज्ने भन्ने निर्णय तपाईंको शारीरिक अवस्था, समयको उपलब्धता, तथा नियमितता कायम गर्न सक्ने क्षमतामा आधारित हुनुपर्दछ ।

कार्डियो वा एचआइआइटि जे भए पनि, निरन्तरता नै सफलताको आधार हो । सक्रिय रहनुहोस्, किनभने स–साना प्रयासहरूले पनि दीर्घकालीन परिवर्तन ल्याउन सक्छ ।

स्रोतः हेल्थ यूएसन्यूज


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top