ललितपुर । ललितपुरमा यस वर्ष पनि ऐतिहासिक नृसिंह जात्रा सञ्चालनको तयारी सुरु भएको छ । जात्राको प्रारम्भिक विधिको रूपमा पाटन दरबारस्थित मल्ल राजालाई फूल राखी परम्परागत शैलीमा निमन्त्रणा दिने कार्यक्रम हुन लागेको हो ।
गुरु पूर्णिमाका दिन विशेष विधिबाट फूल, जनै, सुपारी आदि अर्पण गरी मल्ल राजालाई निमन्त्रणा दिने परम्परा रहेको छ। जात्रा सञ्चालन गर्ने जिम्मेवारी पालो अनुसार पाउने राजोपाध्याय परिवारको अगुवाइमा यो निमन्त्रणा विधि सम्पन्न गरिन्छ ।
विसं १७४१ मा राजा बनेका योगनरेन्द्र मल्ललाई आजसम्म पनि जीवित राजाका रूपमा मान्ने परम्परा रहिआएको छ । दरबारको उपल्लो तल्लामा उहाँका लागि आरक्षित कोठाको झ्याल सधैं खुला राखिन्छ भने शयनकक्ष यथावत् राखिएको छ । २०४६ सालसम्म उहाँका लागि तमाखु चढाउने चलन पनि कायमै थियो ।
दरबार अगाडि रहेको योगनरेन्द्र मल्लको शालिकको टाउकोमा रहेको चरासँग सम्बन्धित एक किंवदन्तीअनुसार, राजा स्वयंले आफ्नो मृत्युपछिको अवस्था वर्णन गर्दै जबसम्म आफ्नो टाउकोमा रहेको चरा उडेर जाँदैन तबसम्म आफू जीवित रहेको ठान्नु भन्नु भएको जनविश्वास छ । यही विश्वासका आधारमा आजसम्म पनि उहाँलाई जीवित मानिँदै आएको हो ।
नृसिंह जात्राको प्रारम्भिक विधिको रूपमा पाटन दरबारस्थित तुसाहिटीको शिलाको खातमा फूल राखी मल्ल राजालाई आधिकारिक रूपमा निमन्त्रणा गरिन्छ । हाल गुथी संस्थान ललितपुरका प्रमुखको उपस्थितिमा यो विधि सम्पन्न गरिने गरिएको छ ।
मल्ल राजालाई निमन्त्रणा गरेपछि मात्र अन्य अतिथिहरू—राष्ट्रपति, गुथिका थकालीहरू, तथा अन्य गण्यमान्य व्यक्तिहरूलाई औपचारिक रूपमा जात्रामा सामेल गरिने चलन छ ।
हरेक वर्ष भाद्र कृष्ण पंचमीका दिन सञ्चालन हुने नृसिंह जात्रा यस वर्ष साउन २९ गते परेको छ । सोही अनुसार जात्राको पूर्वतयारीस्वरूप (असार २६ गते) दिउँसो १ बजे मल्ल राजालाई निमन्त्रणा स्वरूप फूल अर्पण गर्ने कार्यक्रम तय गरिएको जनाएको छ ।
नृसिंह जात्रा संचालनको जिम्मेवारी राजोपाध्याय समुदायका सदस्यहरूले उमेरको वरिष्ठता र पालोअनुसार लिने गर्दछन् । पालो परेको परिवारलाई उपकर्म गुठी व्यवस्थापन समिति, श्रीनृसिंह जात्रा व्यवस्थापन समिति र श्रीनृसिंह जात्रा समारोह समितिले आवश्यक सहयोग उपलब्ध गराउँछन् । यस वर्ष जात्रा सञ्चालनको जिम्मेवारी गाःबहालका मधुर शर्मा राजोपाध्यायको परिवारले लिएको छ ।
नेपाल संवत् ७५१, अर्थात् विक्रम संवत् १६८८ देखि निरन्तर सञ्चालनमा रहेको यो जात्रा ललितपुरको सांस्कृतिक गौरवको प्रतीक मानिन्छ । जात्रासँग जोडिएका परम्परा, विश्वास र समुदायको सहभागिताले यसलाई अझ ऐतिहासिक र जीवित संस्कृतिको रूपमा स्थापित गराएको छ ।