काठमाडौं । पछिल्ला चार वर्षमा नेपालभर १ लाख ७० हजारभन्दा बढी स्मार्टफोन हराएको तथ्यांक सार्वजनिक भएको छ। प्रहरीको तथ्यअनुसार आर्थिक वर्ष २०७६/७७ देखि २०८१/८२ को फागुन महिनासम्म एक लाख ७० हजार ६५८ वटा स्मार्टफोन हराएको उजुरी परेका छन्।
तर, तीमध्ये केवल ३५ हजार १७६ थान मोबाइल मात्र फेला पारिएका छन्, जुन कूल हराएको संख्याको झण्डै २०.६१ प्रतिशत हो। औसतमा हेर्दा, नेपालमा हराएका १० वटा स्मार्टफोनमध्ये दुईवटामात्र फिर्ता हुने गरेका छन्।
राजधानी काठमाडौंमै पनि फोन हराउने, चोरी हुने र पकेटमारीको दर उच्च छ। जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ मा मात्रै १४ हजार ५५० वटा स्मार्टफोन हराएको रिपोर्ट प्राप्त भएको छ। तीमध्ये ७ हजार ६३ वटा चोरी, ४ हजार ७१७ वटा हराएको र २ हजार ७७० वटा पकेटमारी भएको उल्लेख गरिएको छ।
काठमाडौंको दर राष्ट्रिय औसतभन्दा थोरै माथि
काठमाडौँमा प्रहरीको सक्रियताले ४ हजार ९८ वटा फोन फेला पारिएका छन्, जुन फेला पारिएको कुल दर २८ प्रतिशत पुग्छ। यो दर राष्ट्रिय औसतभन्दा केही बढी भए पनि हराएका सबै फोनको उजुरी नपरेको प्रहरीले जनाएको छ।
फोन फेला पार्न एमडीएमएस प्रणाली
हराएका वा चोरी भएका मोबाइल ट्र्याक गर्न नेपाल दूरसञ्चार प्राधिकरणको एमडीएमएस (मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम) प्रणाली प्रयोगमा ल्याइन्छ। सेवाग्राहीले प्राधिकरणको वेबसाइटमा 'लस्ट/स्टोलन रजिस्ट्रेसन' फाराम भरेपछि प्रहरीको अनुसन्धान अघि बढ्छ। मोबाइलमा नयाँ सिम प्रयोग भएमा प्राधिकरणले प्रहरीलाई सोको जानकारी उपलब्ध गराउँछ।
तर, एमडीएमएसमा दर्ता नभएका मोबाइल ट्र्याक गर्न नसकिने प्रहरीले स्पष्ट पारेको छ।
हराएको मोबाइल फेला पार्न के गर्ने ?
गुगलको ‘फाइन्ड हब’ प्रयोग
गुगलले प्रदान गर्ने 'फाइन्ड हब' सेवा एन्ड्रोइड स्मार्टफोनहरू हराएपछि खोज्न सहयोगी हुन्छ। यो सेवा प्रयोग गर्न फोन हराउनु अघि नै सेटिङ तयार पार्नुपर्छ।
आवश्यक सेटिङहरू:
- गुगल अकाउन्टमा साइन इन गरिएको हुनु
- लोकेसन सेवा सक्रिय हुनु
- पिन, पासवर्ड वा प्याटर्न सेट गरिएको हुनु
- फोन गुगल प्लेमा देखिने स्थिति हुनु
- टु-स्टेप भेरिफिकेसन र ब्याकअप कोड सेट गरिएको हुनु
सेवा प्रयोग गर्ने तरिका:
- android.com/find मा जानुहोस् वा फाइन्ड हब एप खोल्नुहोस्।
- आफ्नो गुगल अकाउन्ट प्रयोग गरेर लगइन गर्नुहोस्।
- फोन नजिक छ भने ‘Play Sound’ प्रयोग गरेर घण्टी बजाउन सकिन्छ।
- टाढा छ वा चोरी भएको छ भने ‘Secure Device’ प्रयोग गरेर फोन लक गर्न सकिन्छ।
- यदि फोन फेला नपर्ने स्थिति छ भने ‘Erase Device’ प्रयोग गरी सबै डेटा मेटाउन सकिन्छ।
सामसङका प्रयोगकर्ताका लागि 'Find My Mobile'
सामसङ फोनका लागि ‘Find My Mobile’ तथा ‘SmartThings Find’ जस्ता सुविधाले फोनको लोकेसन ट्र्याक गर्न र अफलाइन अवस्थामा पनि खोज्न सहयोग गर्छ।
मोबाइल हराएपछि गर्नुपर्ने कामहरू
सिम कार्ड तुरुन्त ब्लक गर्नुहोस्सेवा प्रदायकसँग सम्पर्क गरेर आफ्नो सिम कार्ड ब्लक गराउनुहोस्।
मोबाइल बैंकिङ, सामाजिक सञ्जाल, इमेल आदिका पासवर्ड तुरुन्त परिवर्तन गर्नुहोस्।
बैंक तथा वालेट सेवा सूचना दिनुहोस्
मोबाइलमा रहेका बैंक तथा डिजिटल वालेट सेवा बन्द गराउन सम्बन्धित संस्थालाई जानकारी दिनुहोस्।
परिवार वा साथीलाई जानकारी दिनुहोस्
हराएको फोनबाट सामाजिक सञ्जाल प्रयोग गरी ठगी हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै नजिकका व्यक्तिहरूलाई खबर गर्नुहोस्।
स्वतन्त्र रूपमा फोन फिर्ता लिन प्रयास नगर्नुहोस्
फोनको लोकेसन थाहा पाएकामा पनि प्रहरीको सहयोग बिना आफैँ खोज्न जानु उचित हुँदैन।
हराएको फोन रिपोर्ट गर्ने प्रक्रिया
- मोबाइलको आईएमईआई नम्बर सङ्कलन गर्नुहोस् (*#06# डायल गरेर थाहा पाइन्छ)।
- नेपाल दूरसञ्चार प्राधिकरणको वेबसाइट मा गएर ‘Lost/Stolen’ फाराम भर्नुहोस्।
- आवश्यक विवरणहरू (फोन ब्रान्ड, मोडल, हराएको मिति, स्थान, इमेल आदि) प्रविष्ट गर्नुहोस्।
- जिल्ला प्रहरी कार्यालयमा निवेदन दिनुहोस्।
मोबाइल हराउनु वा चोरी हुनु आमसमस्या भए पनि प्रविधिको सही उपयोगले फेला पार्ने सम्भावना बढाउन सकिन्छ। स्मार्टफोन प्रयोगकर्ताहरूले आफ्नो मोबाइल सुरक्षित राख्न, ट्र्याक गर्न मिल्ने प्रणालीहरू सक्रिय राख्न र हराएमा तुरुन्त आवश्यक कदम चाल्नुपर्ने देखिन्छ।