बाढीले चीन–नेपाल जोड्ने मितेरी पुल पूर्णरूपमा क्षतिग्रस्त बनाउँदा दुईतर्फी आवागमन अवरुद्ध भएको छ। जिल्ला प्रशासन कार्यालय रसुवाका अनुसार हालसम्म ७ जनाको शव फेला परेको छ भने १८ जना अझै सम्पर्कविहीन छन्। तीमध्ये ३ जना प्रहरी, ९ जना सर्वसाधारण र ६ जना चिनियाँ नागरिक छन्।
सुक्खा बन्दरगाहमा पार्किङ गरिएको अवस्थामा रहेका विद्युतीय सवारीसाधन (ईभी) र कन्टेनरसहित करिब १०० सवारीसाधन बगाएको अनुमान गरिएको छ। यद्यपि, क्षतिको यकिन विवरण अझै आउन बाँकी छ।
उद्धार र राहत कार्य तीव्र
सैनिक, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले हालसम्म बाढीमा फसेका ५७ जनाको उद्धार गरिसकेको छ। नेपाली सेनाको हेलिकप्टरमार्फत जोखिममा परेकाहरूको उद्धार गरिएको हो। रसुवागढी जलविद्युत आयोजनामा फसेका कामदारसहित २३ जनाको उद्धार गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
विदुर नगरपालिका–९, नुवाकोटका ६७ वर्षीय पाल्देन तामाङ र उनकी श्रीमती मंगलीमाया तामाङले खोलाको बीचमा रहेको सिसौको रुख चढेर करिब एक घण्टा बिताउँदै ज्यान जोगाएका थिए।
खोजी कार्यमा सेना सक्रिय
सम्पर्कविहीनहरूको खोजीका लागि धादिङस्थित नम्बर–६ बाहिनी अड्डाबाट सेनाको टोली त्रिशूली हुँदै, र रसुवास्थित श्रीनाथ गणको टोली स्याफ्रुवेशीतर्फ परिचालित गरिएको छ। प्रहरी र सशस्त्र प्रहरी पनि खोजी कार्यमा खटिएका छन्।
जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी निरीक्षक कृष्णबहादुर धितालका अनुसार रसुवागढी भन्सार यार्डमा रहेका कन्टेनर र डिब्बा बगाएका छन्, र जलविद्युत आयोजना ड्याममा ठूलो क्षति पुगेको छ। बेलिब्रिजहरू बगाएपछि स्थानीय आवतजावत समेत अवरुद्ध भएको छ।
प्रधानमन्त्री र गृहमन्त्रीको निरीक्षण
प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखक बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणमा पुगेका छन्। प्रधानमन्त्री ओलीले उद्धार र राहत कार्यमा कुनै कमी हुन नदिन निर्देशन दिँदै, पहिला उद्धार, पछि राहत र पुनर्निर्माणमा केन्द्रित हुने बताएका छन्।
ठूला क्षतिहरू:
- नेपाल–चीन जोड्ने मितेरी पुल पूर्ण क्षतिग्रस्त
- स्याफ्रुबेशी–रसुवागढी सडक बगायो
- रसुवा भन्सार यार्डमा क्षति
- ईभी चार्जिङ स्टेशन ध्वस्त
- रसुवागढी जलविद्युत आयोजनाको ड्याममा क्षति
- करिब १०० ट्रक, कन्टेनर र ईभी बगाए
पहिचान खुलेका सम्पर्कविहीन १५ व्यक्तिहरू:
- प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठ
- प्रहरी जवान मुन्ना ठाकुर
- प्रहरी जवान लोकेन्द्र बोहोरा
- चिनियाँ नागरिक यु युई
- लि हुवाछिङ
- याङ छुवान
- यु हाई हाङ
- यु स्याओ छिउ
- चोउ योङ
- बर्दियाका जिपन चौधरी
- सन्तोष दइत
- बुद्धिराम थारु
- लक्ष्मी नारायण थारु
- सुरेश थारु
- बाग्लुङका नरेन्द्र विक
- सिन्धुपाल्चोकका फूर्वा लामा
- गोविन्द मोक्तान
- लोकमान तामाङ (ठेगाना नखुलेको)
प्रशासनको आग्रह
हाल नदीको बहाव केही घटे पनि बाढीको जोखिम कायम नै रहेकाले स्थानीय प्रशासनले सर्वसाधारणलाई सतर्कता अपनाउन र जोखिमयुक्त क्षेत्रमा नजान आग्रह गरेको छ।
— सम्पर्कविहीनहरू सुरक्षित रहून् भन्ने कामना सहित, उद्धार कार्य निरन्तर जारी छ।