भक्तपुरमा १० युवामध्ये २ लागूऔषध दुर्व्यसनमा, एड्सको जोखिम उच्च

0


भक्तपुर । भक्तपुर जिल्लामा कलेज उमेरका प्रत्येक १० युवामध्ये २ जना लागूऔषध दुर्व्यसनमा फसेको खुलासा भएको छ। राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्र (NCASC) को सन् २०२४ को तथ्यांकअनुसार यस्तो अवस्था देखिएको हो, जसले एड्स संक्रमणको उच्च जोखिमसमेत उजागर गरेको छ।

तथ्यांक अनुसार दुर्व्यसनमा फसेका युवामध्ये धेरैले गाँजादेखि लिएर सुईमार्फत लागुपदार्थ सेवन गरिरहेका छन्। एउटै सुईको पुनःप्रयोगका कारण एड्स (एचआईभी) संक्रमणको सम्भावना गम्भीर रूपमा बढेको देखिएको छ।

सुई प्रयोगकर्ता र यौनकर्मी समूह उच्च जोखिममा

भक्तपुरमा हाल १३१२ देखि १५३७ जना सुईमार्फत लागुपदार्थ सेवन गर्ने प्रयोगकर्ता रहेको अनुमान छ। तीमध्ये अधिकांश पुरुष भए पनि महिलाको संलग्नता पनि नकार्न नसकिने बताइएको छ। सँगै, केन्द्रका तथ्यांक अनुसार जिल्लामा ४८१८–५४३४ महिला यौनकर्मी, ४२६–५०० पुरुष यौनकर्मी, ५७५–६६३ तेस्रोलिङ्गी (जसमध्ये २६१–३२५ यौनकर्मी), र ६३८–७०४ पुरुष पुरुषसँग यौनसम्बन्ध राख्ने समूहमा पर्ने जनाइएको छ। यी सबै एचआईभी संक्रमणको दृष्टिकोणले ‘होटस्पट’ मानिन्छन्।

रिपोर्ट कम, जोखिम उच्च

भक्तपुर अस्पतालस्थित एआरटी केन्द्रमा हालसम्म १५३ जना मात्र एचआईभी संक्रमित रिपोर्टेड छन् — तीमध्ये १०० पुरुष, ४५ महिला, ४ तेस्रोलिङ्गी र ४ बालबालिका छन्। तर, विशेषज्ञहरूका अनुसार वास्तविक संक्रमित संख्या धेरै बढी हुन सक्छ, किनभने धेरै संक्रमित राजधानी वा अन्य जिल्लाहरूमा उपचार लिन जान्छन् वा सामाजिक डरका कारण खुलेर आउँदैनन्।

काउन्सिलर सृष्टि अर्यालका अनुसार, “समाजमा लाञ्छना र भेदभावका कारण संक्रमितहरू लुकेर बस्न बाध्य छन्, जसले संक्रमणको श्रृंखला तोड्न कठिन बनाउँछ।”

कार्यक्रम कमजोर, समन्वयको खडेरी

संघीयतापछिको संरचनामा स्वास्थ्य सेवा स्थानीय तहको जिम्मामा पुगे पनि एचआईभी तथा लागूऔषध दुर्व्यसनविरुद्धका कार्यक्रमहरू पर्याप्त देखिँदैनन्। ‘सुरुवात’ संस्थाले हालै आयोजना गरेको जिल्लास्तरीय छलफलमा यस्तै गुनासोहरू उठाइएका थिए।

संस्थाका कार्यकारी निर्देशक राजेश दिदियाले भने, “एकै सुई प्रयोग गर्ने प्रवृत्तिले युवामाझ एचआईभी फैलिन थालेको छ। प्रहरी मात्रै होइन, शैक्षिक संस्थामै चेतनामूलक अभियान आवश्यक छ।”

सहकार्य र बजेटमा जोड

बैठकमा भक्तपुरका चारै नगरपालिका, सरोकारवाला निकाय तथा गैरसरकारी संस्थाहरूबीच सहकार्य र बजेटको समन्वय गर्नुपर्नेमा जोड दिइएको थियो। साट्क्टस् संस्थाका प्रतिनिधि रोशन सुवालले भने, “हामीसँग मात्र २९८३ महिला यौनकर्मी र ५३३९ ग्राहक सम्पर्कमा छन्। भक्तपुर ट्रान्जिट प्वाइन्ट भएकाले यथार्थ संख्या अझै बढी हुन सक्छ।”

जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख ईश्वरबहादुर थापाले भने, “स्वास्थ्य क्षेत्रलाई विकास निर्माण सरह प्राथमिकता दिन जरुरी भइसकेको छ।”

आँकडाको होइन, अस्तित्वको

भक्तपुरको यथार्थले चेतावनी दिन्छ — यदि अहिले नै सचेतना, सहकार्य, कार्यक्रम तथा बजेटको समुचित व्यवस्था गरिएन भने लागूऔषध दुर्व्यसन र एचआईभी संक्रमणको विस्फोट रोक्न मुस्किल हुनेछ। सहभागीहरूको निष्कर्ष थियो — यो अब केवल तथ्यांकको सवाल होइन, समाज र भावी पुस्ताको संरक्षणको लडाइँ हो।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top