नीलबाराही क्षेत्र संरक्षण सरोकार समितिका सचिव अनिश बैद्यका अनुसार, विगत दस वर्षदेखि नगरपालिका समक्ष संरक्षणका लागि पटक–पटक माग राखिँदै आए पनि नगरपालिकाले कुनै चासो नदेखाएको गुनासो गरेका छन् । हाल जनश्रमदानमार्फत पहिरो नियन्त्रणको काम अन्तिम चरणमा पुगेको बेला मात्र नगरपालिका संघीय सरकारको सहयोगमा ठेक्का प्रक्रिया अघि बढाउँदै हस्तक्षेप गर्न खोजेको आरोप उनीहरूले लगाएका छन् ।
बैद्यले जनश्रमदाताको भेलामा भने, “कुन योजना अन्तर्गत काम गर्न लागिएको हो भन्ने सार्वजनिक नगरी, स्थानीयको विना सहभागिता र स्वीकृति नलिइ नगरपालिकाले यहाँ कुनै काम गर्न पाउँदैन ।”
गत जेठ ३ गतेबाट सुरु भएको जनश्रमदानमा हजारौं स्थानीय भक्तजन सहभागी हुँदै आएका छन् । उनीहरूले नीलबाराही मन्दिर जाने मुख्य सडक—पाकिङ क्षेत्रदेखि मन्दिरसम्मको झण्डै ३ सय मिटर दूरीमा—फेदबाट नयाँ जग बसालेर दुई लेनको सडक निर्माण गरेका छन् । यसअघि पहिरोका कारण साँघुरिएको बाटो केवल पैदलयात्रुका लागि मात्र उपयोगी थियो ।
मन्दिर क्षेत्रलाई हाल अस्थायी रूपमा प्लास्टिकले ढाकेर पहिरोको जोखिम न्यूनीकरण गर्ने काम स्थानीय युवाहरूको सक्रियतामा जारी रहेको छ ।
हालै संघीय सरकारको सहयोगमा नगरपालिकाले ठेक्कामार्फत काम सुरु गर्ने तयारी गरेसँगै स्थानीय समुदायमा शंका र असन्तोष चुलिएको हो । संरक्षणको नाममा कुनै ठोस योजना सार्वजनिक नगरी काम गर्न खोजिएको भन्दै स्थानीयले आपत्ति जनाएका छन् ।
श्री नीलबाराही क्षेत्र संरक्षण सरोकार समितिका सहसचिव निशुल प्रजापतिका अनुसार, “हामी जनश्रमदानमार्फत पहिरो नियन्त्रणमा जुटिरहेका बेला चाहिने माटो ओसारपसारमा समेत नगरपालिकाले अवरोध गरेको छ । यसले हाम्रो अभियानलाई कमजोर पार्ने संकेत दिन्छ ।”
उनका अनुसार, चाँगुनारायण नगरपालिका–१ बाट ल्याइँदै गरिएको माटोमा समेत जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलीय बैठकपछि प्रतिबन्ध लगाइएको छ । यसले जनश्रमदानको गति केही सुस्त पारेको भए पनि काम भने रोकिएको छैन ।
करिब ५ सय रोपनी क्षेत्रफलमा फैलिएको नीलबाराही क्षेत्र काठमाडौं उपत्यकाका चार प्रमुख बाराहीमध्येको एक हो । मन्दिर थुम्कोमा अवस्थित रहेको यस क्षेत्र चारैतिरबाट पहिरोको उच्च जोखिममा रहेको छ । ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पर्यावरणीय महत्त्वका दृष्टिले अति संवेदनशील मानिने यो क्षेत्रको संरक्षणमा नगरपालिका वर्षौंदेखि निष्क्रिय रहेको स्थानीयको आरोप छ । नगरपालिकाले करोडौं बजेटको योजना ल्याउने तयारी गरिरहेको बताइए पनि, आठ–दश वर्षको लामो प्रतीक्षा पछिसमेत ठोस पहल नभएको भन्दै स्थानीयहरू निराश छन् ।
हरेक साताको शनिवार, सोमबार र बुधबार नियमित रूपमा सञ्चालन भइरहेको जनश्रमदान अभियान स्थानीयको उत्साहप्रति प्रतिबद्धता दर्शाउने संकेत हो । उनीहरूले चेतावनी दिएका छन—नगरपालिकाले स्पष्ट योजना सार्वजनिक गरी स्थानीयसँग सहकार्य नगरेसम्म कुनै पनि निर्माण वा संरक्षण कार्य गर्न स्वीकृत हुनेछैन ।
नीलबाराही संरक्षण अभियान स्थानीयको सक्रियता र एकताको उदाहरण बनेको छ । नगरपालिकाले यदि समयमै पारदर्शिता सहभागिता र सहजिकरणको बाटो नअँगालेको खण्डमा भविष्यमा थप विरोध र द्वन्द चर्किदै जाने संकेत देखिएको छ ।