डा. शशी थापाका तीन कृति एकैसाथ सार्वजनिक

0


–जयराम बिडारी

काठमाडौं । संस्कृतिविद्, लोकबार्ताकार तथा स्रष्टा डा. शशी थापा पण्डितका तीन महत्वपूर्ण कृति— ‘नेपाली कलामा कामकला’, ‘मल्लकालिक नेपालका नारीहरू’ र ‘नागार्जुन क्षेत्रको सांस्कृतिक अध्ययन’— एकैसाथ लोकार्पण गरिएको छ। नेपाल आदर्श महिला संघको आयोजनामा शुक्रबार काठमाडौँको जमलस्थित होटल एल्लो प्यागोडामा विशेष समारोहका बीच यी तीन कृति विमोचन गरिएका हुन्।

कार्यक्रमकी सभापति संस्कृतिविद् प्रा.डा. वीणा पौडेलको अध्यक्षतामा सम्पन्न उक्त समारोहमा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति डा. जगमान गुरुङ, प्रा.डा. पेशल दाहाल, इतिहासकार तथा संस्कृतिविद् दिनेशराज पन्तलगायतका विशिष्ट व्यक्तित्वले सामूहिक रूपमा पुस्तक लोकार्पण गरे।

लोकार्पण कार्यक्रममा बोल्दै डा. जगमान गुरुङले ‘नेपाली कलामा कामकला’ को विषयमा टिप्पणी गर्दै नेपाली समाजमा यस्ता संवेदनशील विषयमा लेखन गर्न हिम्मत गर्न सक्ने डा. शशीको साहसिक कदमको प्रशंसा गरे। उनले “तन्त्र, मन्त्र र यन्त्रको जटिलता र गूढ पक्षलाई कलात्मक रूपमा प्रस्तुत गर्ने यो कृति नेपाली साहित्यिक यात्रामा महत्वपूर्ण योगदान हो” भन्दै सफलताको शुभकामना दिए।

त्यस्तै प्रा.डा. पेशल दाहालले ‘नागार्जुन क्षेत्रको सांस्कृतिक अध्ययन’ को समीक्षात्मक प्रस्तुतिमा भने, “नागार्जुन क्षेत्र नेपालको ऐतिहासिक, सांस्कृतिक र धार्मिक दृष्टिले अत्यन्तै महत्वपूर्ण स्थल हो। सरकारी नक्सामा समेत प्रतिबन्धित कतिपय क्षेत्रका सन्दर्भमा समेत यो कृतिले ठोस तथ्याङ्क र अभिलेखीय प्रमाण प्रस्तुत गरेको छ,” भन्दै डा. शशीको अनुसन्धानात्मक क्षमतालाई प्रशंसा गरे।

समीक्षक दिनेशराज पन्तले ‘मल्लकालिक नेपालका नारीहरू’ पुस्तकबारे बोल्दै भने, “डा. शशी थापा पण्डितले तत्कालीन नेपाली नारीहरूको सामाजिक, आर्थिक, धार्मिक र सांस्कृतिक अवस्थामाथि सूक्ष्म अनुसन्धान गरेकी छन्। यो अनुसन्धान नारी इतिहास अध्ययनका लागि मार्गदर्शक हुनेछ।” उनले व्यक्तिको सीमित स्रोतसाधनमा पनि यस्तो गहन काम गर्नु गर्वको विषय रहेको टिप्पणी गरे।

कार्यक्रमकी सभापति प्रा.डा. वीणा पौडेलले आफ्नी शिष्या डा. शशीको सिर्जनशील कर्मप्रति गर्व व्यक्त गर्दै भनिन्, “सन्तानकी आमा मात्र होइन, अब शशी थापा पण्डित आफ्ना कृतित्वका कारण पुस्तौं पुस्तासम्म स्मरण गरिने स्रष्टा बन्नेछिन्।”

स्वागत मन्तव्यमा कृतिकार डा. शशी थापा पण्डितले पुस्तक तयार पार्दाका अनुभव सुनाउँदै गुरुजन, परिवार र सहयोगीप्रति आभार व्यक्त गरिन्। उनले निकट भविष्यमा संस्कृति विषयक अर्को कृति प्रकाशन हुने जानकारी समेत दिइन्।

कार्यक्रममा कवि तथा प्रस्तोता यादव भट्टराईले मुक्तकीय शैलीमा सहजीकरण गरेका थिए। कार्यक्रममा शब्दपथ साहित्यिकका सम्पादक किशोर पहाडी, स्रष्टा समाज नेपालका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’, उपन्यास समाज नेपालका अध्यक्ष शंकर भारती, साहित्यकार उमेश पाण्डे, बैरागी जेठा, शान्ति सापकोटा, रुबि सत्याललगायत सयौं साहित्यप्रेमीहरूको उपस्थिति रहेको थियो।


Tags

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top