यस निर्वाचनको सन्दर्भ विगतका आम निर्वाचनभन्दा संरचनागत रूपमा फरक देखिन्छ । मतदाताहरू परम्परागत राजनीतिक दलप्रतिको भरोसालाई निरन्तरता दिने कि नयाँ र उदाउँदै गरेका राजनीतिक शक्तितर्फ आकर्षित हुने भन्ने विषय अझै स्पष्ट भइसकेको छैन । राजनीतिक असन्तुष्टि, पुस्तान्तरण र सामाजिक सञ्जालको बढ्दो प्रभावका कारण मतदाताको निर्णय प्रक्रिया थप जटिल बन्दै गएको देखिन्छ । यही कारण, पुराना र नयाँ दुवै दल आत्मविश्वासका साथ प्रतिस्पर्धामा उत्रिएका छन् ।
भक्तपुर–२ को संसदीय निर्वाचन इतिहासले कुनै पनि दलको स्थायी प्रभुत्व स्थापित नभएको स्पष्ट संकेत गर्छ । २०४८ यताका सात संसदीय निर्वाचनमा नेपाली कांग्रेस, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) र नेकपा एमालेले आलोपालो रूपमा प्रतिनिधित्व गरेका छन् । २०४८ मा कांग्रेसका जगन्नाथ आचार्य, २०५१ मा नेमकिपाका आशाकाजी बसुकला, २०५६ मा कांग्रेसका लेखनाथ न्यौपाने, २०६४ मा नेमकिपाका सुनिल प्रजापति, २०७० मा कांग्रेसका रामेश्वरप्रसाद ढुंगेल, २०७४ मा एमालेका महेश बस्नेत र २०७९ मा कांग्रेसका दुर्लभ थापा क्षेत्री निर्वाचित ुभएको थियो ।
यस निरन्तर सत्ता हस्तान्तरणले भक्तपुर–२ लाई कुनै दलको ‘किल्ला’ होइन, मतदाताले समय, सन्दर्भ र उम्मेदवारको मूल्याङ्कनका आधारमा निर्णय गर्ने क्षेत्रका रूपमा स्थापित गरेको छ । यहाँ पार्टी पहिचानभन्दा पनि उम्मेदवारको सार्वजनिक व्यवहार, राजनीतिक पहुँच, कार्यसम्पादन क्षमता र व्यक्तिगत विश्वसनीयता निर्णायक बन्दै आएको देखिन्छ । यसले मतदाता व्यवहार अपेक्षाकृत परिपक्व र विवेकपूर्ण रहेको संकेत गर्छ ।
२०७९ को निर्वाचनमा कांग्रेसका दुर्लभ थापा क्षेत्रीले एमालेका महेश बस्नेतलाई केवल ९५७ मतको अन्तरले पराजित गरेको थियो । यो झिनो मतान्तरले भक्तपुर–२ को राजनीतिक संवेदनशीलता, मत विभाजनको अवस्था र उच्च प्रतिस्पर्धात्मक प्रकृतिलाई स्पष्ट रूपमा उजागर गर्छ । यही पृष्ठभूमिमा २०८२ को निर्वाचन झनै अनिश्चित, बहुआयामिक र विश्लेषणयोग्य बनेको छ ।
यस निर्वाचन क्षेत्रमा सूर्यविनायक र मध्यपुर थिमि नगरपालिका समेटिएका छन् । कुल ९८ हजार ३५६ मतदातामध्ये ४८ हजार ७४ पुरुष, ५० हजार २७७ महिला र पाँचजना अन्य मतदाता रहेका छन् । ३९ मतदान स्थल र ११४ मतदान केन्द्र रहेको यस क्षेत्रमा सानो मतान्तरले पनि अन्तिम नतिजा उल्ट्याउन सक्ने अवस्था छ । पछिल्ला वर्षहरूमा तीव्र सहरीकरण, बसाइँसराइ र नयाँ मतदाताको प्रवेशले परम्परागत मत संरचनामा उल्लेख्य परिवर्तन ल्याएको छ, जसले निर्वाचन परिणामलाई थप अनिश्चित बनाएको छ ।
यसपटक भक्तपुर–२ मा १७ राजनीतिक दल र १५ स्वतन्त्र उम्मेदवारसहित कुल ३२ उम्मेदवार प्रतिस्पर्धामा छन् । यद्यपि, विगतका निर्वाचन नतिजा, संगठनात्मक क्षमता र राजनीतिक प्रभावको आधारमा मुख्य प्रतिस्पर्धा नेकपा एमालेका महेश बस्नेत र नेपाली कांग्रेसका कविर राणाबीच केन्द्रित हुने अनुमान गरिएको छ ।
तर, बदलिँदो राजनीतिक चेतना, युवा मतदाताको सक्रियता र ‘जेन–जी’ विद्रोहपछिको प्रभावलाई हेर्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवारलाई गौण रूपमा लिन सकिँदैन । एमालेका बस्नेत र कांग्रेसका राणासँगै नेकपाका रामप्रसाद सापकोटा (दीपशिखा), रास्वपाका राजीव खत्री, राप्रपाका विक्रम थापा र नेमकिपाका रमेश वैद्यलगायत उम्मेदवारले मत समीकरणलाई प्रभावित गर्न सक्ने क्षमता राख्छन् ।
नेकपा एमालेका सचिव तथा पूर्वसांसद महेश बस्नेत यस निर्वाचनका सबैभन्दा चर्चित र प्रभावशाली उम्मेदवारमध्ये पर्छन । २०७४ मा कांग्रेसका दमननाथ ढुंगानालाई उल्लेख्य मतान्तरले पराजित गर्दै उनले यस क्षेत्रमा बलियो राजनीतिक उपस्थिति स्थापित गरेको थियो । २०७९ मा झिनो मतान्तरले पराजित भएपछि उनी पुनः राजनीतिक पुनरागमनको स्पष्ट लक्ष्यसहित मैदानमा उत्रिएका छन् ।
एमालेको संगठित संरचना, स्थानीय तहमा कार्यकर्ता परिचालन क्षमता, केन्द्रीय नेतृत्वसँगको निकटता र विकास निर्माणमा योगदान दिएको दाबी उनका प्रमुख आधार मानिन्छन् । समर्थकले उनलाई कार्यसम्पादनमा केन्द्रित र निर्णायक नेता ठान्दा आलोचकहरूले उनको राजनीतिक शैलीलाई आक्रामक, ध्रुवीकरणकारी र विवादप्रिय भनेर आलोचना गर्ने गरेका छन् । यही द्वन्द्वात्मक छविले उनको चुनावी सम्भावनालाई बलियो र कमजोर दुवै बनाएको छ ।
नेपाली कांग्रेसका उम्मेदवार कविर राणा पत्रकारिता र राजनीतिमा लामो अनुभव बोकेका नेता हुन् । उनीआफूलाई सन्तुलित, सेवामुखी र जिम्मेवार प्रतिनिधिका रूपमा प्रस्तुत गर्दै आएको छ । २०७९ मा कांग्रेसले यस क्षेत्रमा जित हासिल गरेको मनोवैज्ञानिक लाभ र संगठनात्मक निरन्तरता उनका मुख्य आधार हुन् ।
तर, कांग्रेसका लागि मुख्य चुनौती आन्तरिक एकता कायम राख्दै नयाँ दल र स्वतन्त्र उम्मेदवारका कारण हुन सक्ने मत विभाजनलाई न्यूनिकरण गर्नु हो । सहरी मतदाता र युवा मतदाताको बदलिँदो प्राथमिकतालाई सम्बोधन गर्न कांग्रेसले स्पष्ट एजेन्डा र प्रभावकारी संचार रणनीति प्रस्तुत गर्नुपर्ने दबाब पनि देखिन्छ ।
नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार रामप्रसाद सापकोटा (दीपशिखा) जनयुद्धकालीन पृष्ठभूमिबाट उदाएका अनुभवी र संगठनप्रति प्रतिबद्ध नेता हुन् । अघिल्ला निर्वाचनमा गठबन्धनलाई जिताउन निर्णायक भूमिका खेलेको नेकपाले यसपटक गठबन्धनभन्दा बाहिर रहेर आफ्नै बलमा प्रतिस्पर्धा गर्दै गुमेको राजनीतिक उपस्थिति पुनःस्थापित गर्ने रणनीति लिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजीव खत्री परम्परागत राजनीतिप्रति असन्तुष्ट युवा, सहरी र पहिलोपटक मतदान गर्ने मतदातालाई लक्षित गर्दै आफूलाई वैकल्पिक राजनीतिक शक्तिका रूपमा प्रस्तुत गरिरहेको छ । २०७९ को समानुपातिक निर्वाचनमा प्राप्त मतले रास्वपाको आधार विस्तार भइरहेको संकेत गरेको छ, जसले यसपटक प्रत्यक्ष निर्वाचनमा पनि प्रभाव पार्न सक्ने सम्भावना देखिन्छ ।
समग्रमा, भक्तपुर–२ मा एमाले र कांग्रेसबीच मुख्य प्रतिस्पर्धा हुने सम्भावना देखिए पनि ‘जेन–जी’ विद्रोह, जनसांख्यिकीय परिवर्तन र बदलिँदो मतदाता चेतनाले नयाँ राजनीतिक शक्तिहरूलाई पनि निर्णायक भूमिकामा पु¥याउन सक्छ । यहाँ कुनै पनि दलको सहज जित सुनिश्चित देखिँदैन ।
पुरानो राजनीतिक विरासत, संगठनात्मक शक्ति र नयाँ विकल्पबीचको यस प्रतिस्पर्धाको अन्तिम निर्णय फागुन २१ गते मतपेटिकामार्फत सार्वजनिक हुनेछ । इतिहास पुनः दोहोरिन्छ वा नयाँ राजनीतिक अध्याय सुरु हुन्छ भन्ने प्रश्नको उत्तर मतगणनापछि मात्र स्पष्ट हुनेछ । तथापि, भक्तपुर–२ को नतिजाले नेपाली प्रतिनिधिमूलक लोकतन्त्र, दलगत प्रतिस्पर्धा र मतदाता व्यवहारसम्बन्धी बहसमा दूरगामी प्रभाव पार्ने निश्चित छ ।

.webp)


%20(%E0%A4%85%E0%A4%A8%E0%A4%B2%E0%A4%BE%E0%A4%87%E0%A4%A8%E0%A4%95%E0%A4%BE%20%E0%A4%B2%E0%A4%BE%E0%A4%97%E0%A4%BF).gif)
