शैक्षिक योग्यताको आधारमा अन्य उम्मेदवारभन्दा सक्षम- कविर राणा

0



भक्तपुर । नेपाली कांग्रेस भक्तपुर–२ का प्रतिनिधि सभा उम्मेदवार कविर राणाले आसन्न प्रतिनिधि सभा निर्वाचनमा आफूविरुद्ध मैदानमा उत्रिएका सबै उम्मेदवारलाई समान हैसियतका राजनीतिक प्रतिस्पर्धीका रूपमा लिएको बताएका छन् । यद्यपि अनुभव, राजनीतिक परिपक्वता, संगठन निर्माण र नेतृत्व क्षमताको दृष्टिले आफू अन्य उम्मेदवारहरूभन्दा अघि रहेको उनको दाबी छ । उनले निर्वाचनलाई व्यक्तिविशेषको होइन, समग्र राजनीतिक विचार र अनुभवको प्रतिस्पर्धा भएको रूपमा व्याख्या गरे ।

नेपाली कांग्रेस निकट प्रेस युनियन भक्तपुरले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै राणाले आफ्नो लामो राजनीतिक यात्राका क्रममा विभिन्न संघर्ष, आन्दोलन र संगठनात्मक चुनौतीहरू सामना गरेको उल्लेख गरे । ती अनुभवका कारण आफू नीति निर्माण, जनप्रतिनिधित्व र जिम्मेवारी वहन गर्न सक्षम भएको उनको भनाइ थियो । यस सन्दर्भमा उनले अन्य उम्मेदवारहरूमा आवश्यक राजनीतिक परिपक्वता र व्यावहारिक अनुभवको कमी रहेको दाबी पनि गरे ।

उनले स्पष्ट शब्दमा भने, “मेरो प्रतिस्पर्धा केवल नेकपा एमालेका महेश बस्नेतसँग मात्र सीमित छैन । भक्तपुर–२ मा चुनावी मैदानमा रहेका सबै उम्मेदवारहरू मेरा प्रतिस्पर्धी हुन्, र म सबैलाई समान रूपमा हेर्छु ।” उनले स्वस्थ प्रतिस्पर्धालाई लोकतन्त्रको सुन्दर पक्षका रूपमा व्याख्या गर्दै जनताको निर्णय नै अन्तिम हुने बताए ।

राणाले शैक्षिक योग्यताको आधारमा पनि आफू अन्य उम्मेदवारभन्दा सक्षम रहेको दाबी गरे । उच्च शिक्षा, राजनीतिक प्रशिक्षण र सार्वजनिक जीवनको अनुभवले आफूलाई जिम्मेवार जनप्रतिनिधि बन्न सहयोग गर्ने उनको भनाइ थियो । उनले निर्वाचन परिणाम आफ्नो पक्षमा आउने विश्वास व्यक्त गर्दै भने, “विगतका निर्वाचनहरूमा पनि हामीले निरन्तर सफलता हासिल गर्दै आएका छौँ । अहिले पार्टी संगठन एकीकृत, अनुशासित र सुदृढ अवस्थामा छ, त्यसैले यसपटकको जित पनि सुनिश्चित छ भन्नेमा म विश्वस्त छु ।”

उनका अनुसार नेपाली कांग्रेस भक्तपुरमा आन्तरिक रूपमा एकताबद्ध अवस्थामा रहेको छ र चुनावी अभियानलाई प्रभावकारी ढंगले अघि बढाइएको छ । स्थानीय स्तरमा पार्टीको पकड बलियो रहेको र मतदाताबाट सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको उनले बताए ।

पत्रकार सम्मेलनमा नेपाली कांग्रेस भक्तपुर जिल्ला सभापति दुर्लभ थापा, पूर्व जिल्ला सभापतिहरू गणेशमान चक्रधर, केन्द्रीय सदस्य मदनकृष्ण श्रेष्ठ, अष्ट कवेललगायतका नेताहरू तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा पार्टी एकता, संगठन सुदृढीकरण र आगामी निर्वाचन रणनीतिबारे समेत चर्चा गरिएको थियो । यद्यपि पार्टी एक भएको घोषणा गर्दै मन्तव्य दिइरहेका सभापति थापा भने आफ्नो भनाइ पूरा हुनुअगावै कार्यक्रमस्थलबाट बाहिरिएका थिए, जसले सहभागीहरूको ध्यान आकर्षित गरेको थियो ।

भक्तपुर–२ निर्वाचन क्षेत्रमा नेकपा एमालेबाट महेश बस्नेत, नेकपाबाट रामप्रसाद सापकोटा ‘दीपशिखा’, राष्ट्रिय स्वतन्त्र पार्टीबाट राजीव खत्री, नेपाल मजदुर किसान पार्टीबाट रमेश वैद्य तथा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट विक्रम थापा उम्मेदवार रहेका छन् । यसैगरी स्वतन्त्र उम्मेदवारका रूपमा पत्रकार जन्मदेव जैसी, सामाजिक अभियन्ता शोभा पाठक तथा उज्यालो नेपाल पार्टीबाट जीतमान लामा पनि चुनावी प्रतिस्पर्धामा सहभागी छन् । यस क्षेत्रमा बहुपक्षीय प्रतिस्पर्धा रहेको भन्दै निर्वाचन परिणामप्रति सबै पक्षको चासो बढ्दो छ ।


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top