काठमाडौं, बुधबार २८ । साहित्यकार जितेन्द्र रसिकको १८औँ कृति बाल विज्ञान उपन्यास ‘साइबोर्ग’ सार्वजनिक गरिएको छ। बुधबार आयोजित कार्यक्रममा इर्टनल पब्लिकेसनका प्रकाशक यमुना पराजुली तथा एजुकेशनल पब्लिसिङ बुक हाउस, जमल काठमाडौंका प्रतिनिधि तथा व्यवस्थापकहरू शितल सुकुभटु, रमण राउट र भजन राउटले संयुक्त रूपमा कृति लोकार्पण गरेका हुन्।
‘साइबोर्ग’ विज्ञान कथामा आधारित बाल उपन्यास हो। प्रकाशक यमुना पराजुलीका अनुसार पुस्तकले विज्ञान र प्रविधिको तीव्र विकासले भविष्यमा निम्त्याउन सक्ने सम्भावित अवस्था र चुनौतीहरूलाई रोचक ढंगले प्रस्तुत गरेको छ। विशेषगरी कृत्रिम बुद्धिमत्ता (आर्टिफिसियल इन्टेलिजेन्स) को तीव्र विकासले मानव समाजमा पार्न सक्ने प्रभाव र त्यसबाट उत्पन्न हुन सक्ने जोखिमबारे उपन्यासले कल्पनाशील र तर्कसम्मत प्रश्नहरू उठाएको छ। विज्ञानले मानिसलाई अमर बनाउन सक्छ कि सक्दैन भन्ने जिज्ञासालाई समेत कथामा समेटिएको बताइएको छ।
लेखक रसिकले बालबालिका तथा किशोरकिशोरीमा कल्पनाशक्ति, जिज्ञासा र तर्कशीलता अभिवृद्धि गर्न पुस्तक उपयोगी हुने विश्वास व्यक्त गरे। पुस्तकको मूल्य २५० रुपैयाँ निर्धारण गरिएको छ।
लोकार्पणसँगै ‘साइबोर्ग’ एजुकेशनल पब्लिसिङ बुक हाउस, रत्नपुस्तक भण्डार लगायतका पुस्तक पसलमार्फत बिक्री वितरण सुरु गरिएको छ। इर्टनल पब्लिकेसन र एजुकेशनल पब्लिसिङ बुक हाउसबीच सहकार्यमा पुस्तक प्रकाशन गरिएको हो।
यसअघि लेखक रसिकका बाल साहित्यतर्फ ‘एलियनको पृथ्वी भ्रमण’ (बालकथासंग्रह), ‘हावा फल्ने रूख’ (सचित्र बालकथा), ‘एङ्ग्री बर्ड’ (बालकथा संग्रह), ‘बेलबहादुरसँग बिहे’ (सचित्र बालकथा, तीन संस्करण), ‘गुलेली’ (बालकथासंग्रह), ‘हनुमानको करामत’ (सचित्र बालकथा) र ‘जादुगर एआई’ (सचित्र बालकथा) प्रकाशित भइसकेका छन्। उपन्यास, गजल, संस्कृति र जीवनी लगायत विभिन्न विधामा उनका ११ कृति प्रकाशित छन् भने करिब एक दर्जन गीत–गजल रेकर्ड भइसकेका छन्। रसिक नेपालभाषा संस्कृति तथा साहित्य क्षेत्रमा समेत सक्रिय रहँदै आएका छन्।




%20(%E0%A4%85%E0%A4%A8%E0%A4%B2%E0%A4%BE%E0%A4%87%E0%A4%A8%E0%A4%95%E0%A4%BE%20%E0%A4%B2%E0%A4%BE%E0%A4%97%E0%A4%BF).gif)
