करका नियम पालना गर्न आग्रह, जरिवानाबाट बच्न समयमै कर तिर्नुहोस्

0



भक्तपुरआन्तरिक राजश्व कार्यालय भक्तपुरकी प्रमुख कर अधिकृत उषा पोखरेलले करका नियम पालना नगर्दा दण्ड–जरिवाना लाग्ने भएकाले समयमै कर तिर्न उद्योगी व्यवसायीलाई आग्रह गरेकी छन्।

भक्तपुर उद्योग वाणिज्य संघको आयोजना तथा आन्तरिक राजश्व कार्यालय भक्तपुरको सहकार्यमा बिहीबार आयोजित ‘करसम्बन्धी समस्या र समाधान’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रमुख कर अधिकृत पोखरेलले करदाताबाट जरिवानासहित बढी राजश्व असुल्नु कार्यालयको उद्देश्य नरहेको स्पष्ट पारिन्। राज्यलाई कर तिर्नु प्रत्येक करदाताको अनिवार्य दायित्व भएको उल्लेख गर्दै उनले ऐनले तोकेका प्रावधानअनुसार समयमै कर बुझाएर जरिवानाबाट बच्न आग्रह गरिन्।

उनले ऐनको परिधिभित्र रही जिम्मेवारी पूरा गर्ने करदाताका लागि विभिन्न छुट तथा सुविधा व्यवस्था गरिएको बताउँदै ती सुविधाको सदुपयोग गर्न आग्रह गरिन्। कर कानुन कार्यान्वयन गराउने निकाय कर कार्यालय भएकाले ऐन–नियम उल्लंघन गरेमा नियमानुसार दण्ड–जरिवाना लाग्ने उनको भनाइ थियो।

पोखरेलले जिल्लाका उद्योगी व्यवसायीलाई करसम्बन्धी जानकारी गराउन संघले खेलेको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा पनि संघसँग सहकार्य गरी करसम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरिने जानकारी दिइन्।

कार्यक्रममा संघका अध्यक्ष कृष्णमुरारी न्यौपानेले राज्यलाई कर तिर्नु नागरिकको दायित्व भएको उल्लेख गर्दै कर नतिर्ने जोकोही पनि कानुनअनुसार कारबाहीको भागिदार हुनुपर्ने बताए। उनले नागरिकलाई कर तिर्नुपर्छ भन्ने अनुभूति गराउने जिम्मेवारी पनि राज्यकै भएको धारणा राखे।

संघले जिल्लाका करदातालाई करसम्बन्धी विविध सूचना प्रदान गर्दै आएको उल्लेख गर्दै उनले कर भुक्तानीका क्रममा उद्योगी व्यवसायीले भोग्ने समस्या समाधान गर्न सरल, सहज, न्यायशील तथा प्रगतिशील कर प्रणाली आवश्यक रहेको बताए।

संघका वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद प्रजापति र कार्यसमिति सदस्य सन्तोषकुमार मिश्रलगायतले कर प्रशासन मितव्ययी र करदाता–मैत्री हुनुपर्नेमा जोड दिएका थिए।

कार्यक्रममा आन्तरिक राजश्व कार्यालय भक्तपुरका कर अधिकृत राजेन्द्र कोइरालाले करसम्बन्धी विविध विषयमा प्रस्तुतीकरण गरेका थिए। संघका सचिव गौतम सुजखूले सञ्चालन गरेको कार्यक्रममा संघका पदाधिकारी, कार्यसमिति सदस्य, विभिन्न वस्तुगत संघका प्रतिनिधि तथा करदाता गरी करिब ९० जना उद्योगी व्यवसायीको उपस्थिति रहेको थियो।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top