ललितपुरमा वीलभयू फाउन्डेसनद्वारा ८४५औँ ‘विश्वव्यापी रक्तदान कार्यक्रम’ सम्पन्न

0


३२० जनाको सहभागिता, १९० जनाले गरे रक्तदान

ललितपुर । अन्तर्राष्ट्रिय कल्याणकारी संस्था वीलभयू फाउन्डेसनको आयोजनामा ललितपुरस्थित श्री गम्भीर समुन्द्र सेतु माध्यमिक विद्यालयमा ‘८४५औँ विश्वव्यापी रक्तदान कार्यक्रम’ सम्पन्न भएको छ।

कार्यक्रममा वीलभयूका सदस्य, उनका परिवार तथा स्थानीय बासिन्दा गरी करिब ३२० जनाको सहभागिता रहेको थियो। सहभागीमध्ये १९० जनाले रक्तदान गरेका थिए।

संस्थाका अनुसार मानिसहरूलाई नियमित रूपमा रक्तदानमा सहभागी हुन प्रेरित गर्ने तथा जीवन बाँड्नुको महत्त्वबारे सचेतना फैलाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। “रगत कृत्रिम रूपमा उत्पादन गर्न नसकिने र अन्य कुनै माध्यमबाट प्रतिस्थापन गर्न नसकिने अमूल्य जीवन स्रोत हो। छिमेकीहरूलाई स्वस्थ जीवनमा फर्काउन सानो सहयोग पुर्‍याउने लक्ष्यसहित सदस्यहरू एकजुट भएका छन्,” संस्थाका प्रतिनिधिहरूले बताएका छन्।

वीलभयूको ‘विश्वव्यापी रक्तदान कार्यक्रम’ एक जनाको रक्तदानबाट सुरु भई समुदायमा आदान–प्रदानको सद्गुण चक्र निर्माण गर्ने उद्देश्यसहित सञ्चालन हुँदै आएको विश्वव्यापी जीवन बचाउने अभियान हो। कोरियाबाट सुरु भएको यो कार्यक्रम विगत २० वर्षदेखि विश्वका विभिन्न देशमा आयोजना हुँदै आएको छ।

संस्थाका अनुसार गत वर्षसम्म ६४ देशका करिब १ लाख ३७ हजार सहभागीमध्ये ६२ हजारभन्दा बढीले रक्तदान गरेका छन्। एक जनाको रक्तदानले तीन जनाको ज्यान बचाउन सक्ने तथ्यलाई आधार मान्दा १ लाख ८६ हजारभन्दा बढी मानिसको जीवनरक्षा गर्न सफल भएको दाबी गरिएको छ।

कार्यक्रमका दिन सहभागीहरूले दर्ता, प्राथमिक स्वास्थ्य परीक्षण तथा रक्त परीक्षणपछि योग्य ठहरिएकाहरूले क्रमशः रक्तदान गरेका थिए। १९० जनाबाट संकलित रगत करिब ७ हजार ६ सय मिलिलिटर रहेको आयोजकले जनाएको छ।

कार्यक्रममा महालक्ष्मी नगरपालिकाकी उपमेयर लक्ष्मी महर्जन, टिकाथली प्रहरी चौकीका प्रमुख प्रहरी नायब निरीक्षक हरिकुमार खड्का, विद्यालयकी प्रधानाध्यापिका निरा कुमारी श्रेष्ठ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केदारकुमार केसी तथा परमेश्वरको मण्डली विश्व सुसमाचार समाजका सचिव बोलबहादुर मगरलगायतको उपस्थिति रहेको थियो।

उपमेयर महर्जनले समाजका लागि योगदान पुर्‍याउँदै आएको वीलभयूको कार्यप्रति आभार व्यक्त गर्दै रक्तदानको महत्त्वबारे चर्चा गरिन्। प्रधानाध्यापिका श्रेष्ठले बाढीपछिको भवन मर्मत, पिउने पानी फिल्टर सहयोगलगायत शैक्षिक क्षेत्रमा पुर्‍याएको योगदानका लागि संस्थाप्रति धन्यवाद ज्ञापन गरिन्।

संयुक्त राष्ट्रसंघको विश्वव्यापी सञ्चार विभागसँग साझेदारी रहेको वीलभयूले ‘आमाको प्रेम सारा संसारमा’ भन्ने नारासहित वातावरण संरक्षण, आपत्कालीन राहत, स्वास्थ्य, शिक्षा तथा समाजकल्याणका क्षेत्रमा १० हजार ९ सयभन्दा बढी गतिविधि सञ्चालन गरिसकेको जनाएको छ।

नेपालमा पनि संस्थाले गोरखा, भक्तपुरलगायत क्षेत्रमा शैक्षिक सामग्री सहयोग, वातावरण संरक्षण अभियान, वृक्षारोपण, भूकम्प तथा कोभिड–१९ महामारीका बेला राहत वितरणजस्ता कार्यक्रम सञ्चालन गर्दै आएको छ।

विभिन्न देशबाट सम्मान तथा पदक प्राप्त गरिसकेको वीलभयूले नेपाल पर्यटन बोर्ड, स्थानीय तह तथा नेपाल रेडक्रस सोसाइटीबाट समेत प्रशंसा–पत्र र कदर–पत्र प्राप्त गरेको जनाएको छ।


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top