भक्तपुर क्षेत्र नं. २ मा युवा नेतृत्वको ‘सुशासन र समृद्धि’ एजेन्डा
भक्तपुर, निर्वाचन २०८२ लक्षित गर्दै नेपाली कम्युनिस्ट पार्टी, भक्तपुर क्षेत्र नं. २ ले आफ्नो प्रतिबद्धता–पत्र सार्वजनिक गरेको छ। पार्टीका प्रत्यक्ष उम्मेदवार राम प्रसाद सापकोटा 'दीपशिखा'ले ‘युवा नेतृत्वको नयाँ भिजन, समृद्ध भक्तपुर हाम्रो मिसन’ नारासहित सुशासन, समृद्धि र विकासमुखी कार्यक्रम अघि सारेका हुन्।
उम्मेदवार सापकोटाले देशले भोगेको राजनीतिक अस्थिरता अन्त्य गर्दै सुशासन कायम गर्ने र जनतालाई सहज सेवा–सुविधा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे। आवश्यक ऐन, कानून तथा नीतिगत व्यवस्था निर्माण गरी योजना कार्यान्वयनका लागि बजेट सुनिश्चित गर्ने उनको भनाइ छ।
प्रतिबद्धता–पत्रमा भक्तपुरको कला, संस्कृति र सम्पदाको संरक्षणलाई प्राथमिकता दिइएको छ। मूर्त तथा अमूर्त सम्पदाको संरक्षणका लागि अक्षय कोष स्थापना र नीतिगत व्यवस्था गरिने उल्लेख छ। गुठी ऐन परिमार्जन गरी जात्रा, पर्व र किसानमैत्री व्यवस्थापन गरिने जनाइएको छ।
मध्यपुर थिमि र सूर्यविनायक नगरपालिका क्षेत्रभित्रका थिमि, नगदेश, बोदे, रानीकोट लगायत ऐतिहासिक क्षेत्रको अन्वेषण र पुनःनिर्माण गरिने योजना अघि सारिएको छ। साथै मध्यपुर थिमिमा सांस्कृतिक ट्रेल तथा सूर्यविनायकमा पर्यापर्यटन मार्ग विकास गरिने प्रतिबद्धता जनाइएको छ।
स्थानीय विशेषतामा आधारित अन्तर्राष्ट्रियस्तरको सांस्कृतिक उद्योगग्राम स्थापना गर्ने योजना पार्टीले अघि सारेको छ। मौलिक नेवारी रक्सीलाई गुणस्तरीय ब्रान्डिङ गरी अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गरिने जनाइएको छ।
सरकारी तथा मर्ज भएका विद्यालय भवनमा आईटी हब, वर्क स्टेसन र स्टार्टअप केन्द्र स्थापना गरी युवालाई तालिम तथा रोजगारीको अवसर प्रदान गर्ने उल्लेख छ। कृषि क्षेत्रमा तालिम, अनुदान, बिक्री केन्द्र, शीतभण्डार, बीउ बैंक र सिँचाइ व्यवस्थापनमार्फत ‘कृषि क्रान्ति’ कार्यक्रम लागू गरिने बताइएको छ।
भक्तपुर चक्रपथको बाँकी खण्ड सम्पन्न गर्न बजेट व्यवस्थापन गर्ने तथा भित्री सडक स्तरोन्नति गर्ने योजना सार्वजनिक गरिएको छ। व्यवस्थित बस्ती विकासका लागि आवश्यक कानून तर्जुमा गरिने उल्लेख छ।
डिजिटल सिटी अवधारणाअन्तर्गत विद्युतीय बस सञ्चालन, हनुमन्ते र मनोहरा कोरिडोर निर्माण, ढल प्रशोधन केन्द्र स्थापना तथा नियमित सडक सफाइको प्रबन्ध गरिने प्रतिबद्धता जनाइएको छ। ‘बृहत् खानेपानी परियोजना’ मार्फत प्रत्येक घरमा स्वच्छ खानेपानी सुनिश्चित गर्ने लक्ष्य लिइएको छ।
सरकारी विद्यालयलाई पूर्वाधारसहित गुणस्तरीय बनाउने, नर्सिङ तथा आईटी कलेज स्थापना गर्ने तथा अपाङ्गतामैत्री संरचना निर्माण गर्ने योजना अघि सारिएको छ। ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा, मिर्गौला डायलासिस र क्यान्सर स्क्रिनिङ सुविधा उपलब्ध गराइने उल्लेख छ। साथै नेपाल–कोरिया मैत्री नगरपालिका अस्पताललाई विशिष्टीकृत अस्पतालका रूपमा विकास गरिने जनाइएको छ।
सरकारी कार्यालयमा हुने ढिलासुस्ती अन्त्य गर्न कानुनी व्यवस्था, नापी–मालपोत स्थानीय सरकार मातहत ल्याउने तथा स्थानीय अदालत गठनको पहल गरिने प्रतिबद्धता पत्रमा उल्लेख छ। प्रत्येक नगरमा सुविधा सम्पन्न खेलमैदान र नियमित प्रशिक्षण तथा प्रतियोगिता सञ्चालन गरिने योजना पनि समावेश छ।
उम्मेदवार सापकोटाले आफू र पार्टी टोल–टोलमा सहज उपलब्ध हुने, जनताका समस्या सुन्ने र कार्यान्वयनमुखी नीति ल्याउने दाबी गरेका छन्। लोडसेडिङ अन्त्य, ऊर्जा निर्यात, सामाजिक न्याय र संघीयता कार्यान्वयनको अनुभवका आधारमा भक्तपुर क्षेत्र नं. २ मा विकास मोडल लागू गर्ने उनको भनाइ छ।
पार्टीले पाँचकुने तारामा मतदान गरी विजयी गराउन मतदातासमक्ष अपिल गरेको छ।




%20(%E0%A4%85%E0%A4%A8%E0%A4%B2%E0%A4%BE%E0%A4%87%E0%A4%A8%E0%A4%95%E0%A4%BE%20%E0%A4%B2%E0%A4%BE%E0%A4%97%E0%A4%BF).gif)
