भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सचिव तथा महेश बस्नेतले भक्तपुर क्षेत्र नं–२ का प्रतिनिधि सभा उम्मेदवारका रूपमा आफ्नो चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन्। ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षालाई भक्तपुरबाट साकार पार्ने उद्घोषसहित उनले पूर्वाधार, पर्यटन, स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राख्दै विगतका अधुरा योजना सम्पन्न गर्ने र नयाँ महत्वाकांक्षी कार्यक्रम अघि सार्ने घोषणा गरेका हुन्।
स्वास्थ्य क्षेत्रमा ठूला योजना
बस्नेतले देशकै जेठो अस्पताल वीर अस्पताललाई भक्तपुरमा स्थानान्तरण गरी चिकित्सा अध्ययन प्रतिष्ठान स्थापना गर्न पहल गर्ने प्रतिबद्धता जनाएका छन्। साथै सूर्यविनायक नगरपालिकास्थित अस्पताललाई ट्रमा सेन्टरका रूपमा विकास गर्ने तथा नेपाल–कोरिया मैत्री अस्पतालको स्तरोन्नति गर्ने योजना पनि उनले अघि सारेका छन्।
पूर्वाधार र सडक विस्तार
विगत कार्यकालमा सडक विस्तारलाई मुख्य उपलब्धि बताएका बस्नेतले यसपटक सूर्यविनायक–धुलिखेल सडक निर्माण सम्पन्न गराउन पहल गर्ने बताएका छन्। पेप्सीकोला–सानोथिमि–सल्लाघारी सडक विस्तार, अरनिको राजमार्गको सौन्दर्यीकरण तथा कोटेश्वरको ट्राफिक जाम न्यूनीकरणका लागि जडिबुटी–मनोहरा करिडोरमा बेलब्रिज सञ्चालनलाई प्राथमिकतामा राखिएको छ।
पर्यटन र शहरी विकास
पर्यटन प्रवर्द्धनका लागि भक्तपुरका डाँडाहरूलाई समेटेर विशेष प्याकेज ल्याइने उल्लेख गरिएको छ। मध्यपुर थिमिमा रात्रीकालीन बजार सञ्चालन गर्ने योजना पनि सार्वजनिक गरिएको छ। त्यस्तै, गठ्ठाघर क्षेत्रमा पाँच हजार क्षमताको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र निर्माण तथा ल्यान्ड पुलिङमार्फत स्मार्ट सिटी विकास गर्ने योजना प्रतिबद्धतापत्रमा समेटिएको छ।
खानेपानी, शिक्षा र रोजगारी
‘एक घर एक धारा’ अभियानलाई निरन्तरता दिँदै ‘वाटर बैंकिङ’ अवधारणा लागू गर्ने र स्मार्ट ट्वाइलेट निर्माण गर्ने योजना बस्नेतले अघि सारेका छन्। ‘एक पालिका, एक प्राविधिक शिक्षालय’ तथा सामुदायिक क्षेत्रमा पोलिटेक्निक कलेज स्थापना गर्ने, ‘एक घर एक स्नातक’ अभियान सञ्चालन गर्ने र युवालाई स्वरोजगारसँग जोड्ने कार्यक्रम ल्याउने प्रतिबद्धता पनि जनाइएको छ।
अघिल्लो कार्यकालका उपलब्धि
बस्नेतले आफ्नो अघिल्लो कार्यकालमा हनुमन्ते करिडोर निर्माण, साढे पाँच अर्बभन्दा बढी लागतका सडक, रंगशाला तथा दर्जनौं पुल निर्माणलाई प्रमुख उपलब्धिका रूपमा उल्लेख गरेका छन्। उनले आफूलाई विकासप्रेमी, कर्मशील र निडर उम्मेदवारका रूपमा पुनः परीक्षण गर्न मतदातासँग आग्रह गरेका छन्।
यसैबीच, सोही पार्टीबाट भक्तपुर क्षेत्र नं–१ का उम्मेदवार सोम मिश्रले पनि आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन्।




%20(%E0%A4%85%E0%A4%A8%E0%A4%B2%E0%A4%BE%E0%A4%87%E0%A4%A8%E0%A4%95%E0%A4%BE%20%E0%A4%B2%E0%A4%BE%E0%A4%97%E0%A4%BF).gif)
