मातृभाषा राष्ट्रिय कविता महोत्सव–२०८२ सम्पन्न

0



काठमाडौँ। नेपाल प्रज्ञा–प्रतिष्ठानको आयोजनामा अन्तर्राष्ट्रिय मातृभाषा दिवस–२०२६को अवसरमा ‘मातृभाषा राष्ट्रिय कविता महोत्सव–२०८२’ सम्पन्न भएको छ।

दिवसको अवसरमा कमलादी, घण्टाघर, रत्नपार्क र दरबारमार्ग लगायतका स्थानमा विभिन्न जातजाति तथा मातृभाषी समुदायको सहभागितामा प्रभातफेरी तथा शोभायात्रा निकालिएको थियो। बाजागाजा, मौलिक वेशभूषा र सांस्कृतिक झाँकीसहितको र्‍यालीमा थारु, नेवा:, मगर, लिम्बू, थामी, धिमाल, शेर्पा, गुरुङ, छन्त्याल, सुनुवार, राई, तामाङ लगायतका आदिवासी जनजाति समुदायको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमको उद्घाटन प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले पानसमा दीप प्रज्वलन गरी गर्नुभयो। उद्घाटन मन्तव्य दिँदै उहाँले नेपालका मातृभाषाहरू ऐतिहासिक रूपमा विभेदमा परेको उल्लेख गर्दै तिनको संरक्षण र संवर्द्धनका लागि औपचारिकतामा सीमित नभई राज्यले ठोस योगदान गर्नुपर्नेमा जोड दिनुभयो। भाषिक तथा सांस्कृतिक हिंसाको अन्त्यका लागि सबै पक्ष सचेत र सक्रिय हुनुपर्ने उहाँको भनाइ थियो। मातृभाषामा सिर्जित कविताले भाषालाई समृद्ध र जीवित राख्न महत्वपूर्ण भूमिका खेल्ने उहाँले बताउनुभयो।

प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीले अन्तर्राष्ट्रिय मातृभाषा दिवसका अवसरमा विचार–विमर्श र मातृभाषा कविता महोत्सव आयोजना गर्दै आएको जानकारी दिनुभयो। यस्ता कार्यक्रमले मातृभाषाको उत्थान र विकासमा सकारात्मक योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।

महोत्सव संयोजक, प्राज्ञ परिषद् सदस्य तथा साहित्य मातृभाषा कोश तथा व्याकरण विभाग प्रमुख त्रैलोक्यमान बनेपाली ‘अगिब’ले नेपालको संविधान २०७२ ले सबै मातृभाषालाई राष्ट्रभाषाको मान्यता दिएको उल्लेख गर्दै काठमाडौँ महानगरपालिकाले नेपालभाषामा पठनपाठनको व्यवस्था मिलाएको प्रसंग उठाउनुभयो। साथै मैथिली लगायतका दर्जनभन्दा बढी मातृभाषामा विद्यालय तहमा अध्ययन–अध्यापन भइरहेको जानकारी दिँदै मातृभाषा संरक्षणमा सामूहिक प्रतिबद्धता आवश्यक रहेको बताउनुभयो।

महोत्सवमा ४२ भाषाका प्रतिनिधिमूलक कविताहरू वाचन गरिएको थियो। विभिन्न समुदायका कविहरूले लोहोरुङ, याक्खा, बाहिङ, नाछिरिङ, दुंगमाली, वान्तवा, खालिङ, चाम्लिङ, तामाङ, मैथिली, चेपाङ, अवधी, मगही, भोजपुरी, मगर (ढुट र खाम), थारु, लिम्बू, संस्कृत, नेपालभाषा, कुमाल, अछामी, दनुवार, सुनुवार, बाजुरेली, थामी, बैतडेली, धिमाल, थकाली, डोटेली, शेर्पा, उराँव, ताजपुरिया, नेपाली, राजवंशी, गुरुङ, बज्जिका, भुजेल, खस, मुण्डा लगायतका भाषामा कविता प्रस्तुत गर्नुभएको थियो।

कार्यक्रममा सहभागी कवि तथा झाँकी प्रस्तोताहरूलाई कुलपति राईले प्रमाणपत्र प्रदान गर्नुभयो। कार्यक्रमको उद्घोषण प्रज्ञासभा सदस्य कृष्णराज सर्वहारीले गर्नुभएको थियो।

सम्प्रेषण: प्राज्ञ चेतनाथ धमला।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top