सम्पदा संरक्षणदेखि रोजगारीसम्म भक्तपुर–२ मा दीपशिखाका प्रतिबद्धता सार्वजनिक

0



भक्तपुर, भक्तपुर–२ का प्रतिनिधिसभा उम्मेदवार रामप्रसाद सापकोटा (दीपशिखा) ले आफ्नो चुनावी प्रतिबद्धता सार्वजनिक गरेका छन्। **नेपाली कम्युनिष्ट पार्टी**का तर्फबाट उम्मेदवार रहेका उनले सोमबार मध्यपुर थिमि–२ को दुईपोखरीमा आयोजित पत्रकार सम्मेलनमार्फत प्रतिबद्धता सार्वजनिक गरेका हुन्।

कार्यक्रममा उनले सम्पदा संरक्षण र पर्यटन प्रवर्द्धनलाई मुख्य चुनावी एजेन्डाका रूपमा अघि सारे। मध्यपुर थिमि र सूर्यविनायक क्षेत्रको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्व अन्तर्राष्ट्रिय स्तरमा प्रभावकारी रूपमा प्रवर्द्धन हुन नसकेको उल्लेख गर्दै उनले पर्यटनमैत्री पूर्वाधार विकास, व्यवस्थित प्रचारप्रसार तथा निजी क्षेत्रसँगको सहकार्यमार्फत स्वदेशी तथा विदेशी पर्यटक भित्र्याउने योजना प्रस्तुत गरे।

पर्यटनलाई स्थानीय उत्पादन, हस्तकला र होमस्टेसँग जोड्दै रोजगारी तथा आयआर्जनको दायरा विस्तार गर्ने उनको भनाइ छ। स्थानीय पहिचान बोकेको ‘ऐला’लाई ब्रान्डका रूपमा विकास गरी परम्परागत घरेलु उत्पादनलाई उद्योगमा रूपान्तरण गर्ने र विदेशी मदिरा प्रतिस्थापन गर्दै दीर्घकालीन रूपमा अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्ने लक्ष्यसमेत उनले सार्वजनिक गरे।

कृषि क्षेत्रलाई पर्यटनसँग समन्वय गर्दै तरकारी उत्पादनका पुराना केन्द्रहरू पुनर्जीवित गरिने प्रतिबद्धता जनाउँदै उनले किसानलाई तालिम, आधुनिक प्रविधि, शीत भण्डार तथा बजार सुनिश्चिततामार्फत सशक्त बनाइने बताए।

युवा तथा विद्यार्थी लक्षित कार्यक्रमअन्तर्गत सूचना प्रविधिमैत्री वातावरण निर्माण, स्टार्टअप तथा आईटी हब स्थापना, सार्वजनिक स्थानमा निःशुल्क इन्टरनेट सेवा विस्तार र सीपमूलक तालिममार्फत रोजगारी तथा स्वरोजगारका अवसर सिर्जना गर्ने योजना अघि सारिएको छ।

स्वास्थ्य क्षेत्रमा ज्येष्ठ नागरिकलाई घरदैलोमै आधारभूत सेवा उपलब्ध गराउने, नसर्ने रोगको नियमित परीक्षण तथा बीमा योजनालाई प्रभावकारी बनाइने उनले उल्लेख गरे। नगर अस्पतालको स्तरोन्नति र भक्तपुर स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापनाका लागि पहल गरिने प्रतिबद्धता पनि उनले जनाए। साथै, खेलकुद पूर्वाधार विकास र खेलाडी प्रोत्साहन कार्यक्रम सञ्चालन गरिने बताए।

खानेपानी, समयमै सञ्चालन हुने सार्वजनिक यातायात र स्वच्छ वातावरण निर्माणलाई व्यावहारिक लक्ष्यका रूपमा अघि सार्दै उनले सडक सरसफाइ र हरियाली विस्तारलाई अभियानकै रूपमा सञ्चालन गरिने बताए।

सुशासनलाई प्राथमिकतामा राख्दै प्रशासनिक ढिलासुस्ती अन्त्य, भ्रष्टाचार नियन्त्रण तथा पारदर्शी सेवा प्रवाह सुनिश्चित गर्ने अठोट उनले व्यक्त गरे। स्थानीय तहमा प्रभावकारी गुनासो सुनुवाइ संयन्त्र स्थापना, भूमि व्यवस्थासम्बन्धी सेवा स्थानीय तहबाटै उपलब्ध गराउने पहल तथा स्थानीय अदालत स्थापनामार्फत सर्वसुलभ र छिटो न्याय सुनिश्चित गर्ने उनको प्रतिबद्धता छ।

भयमुक्त समाज निर्माण, गुण्डागर्दी नियन्त्रण र राजनीतिक आधारमा हुने विभेद अन्त्य गर्ने प्रतिबद्धता दोहोर्‍याउँदै उनले “जनप्रतिनिधि जनताको सेवक हो” भन्ने मान्यतालाई व्यवहारमा उतार्ने दाबी गरे। “हामी भेटिन्छौं, सुन्छौं र गर्छौं” भन्ने नारासहित जनताको सेवकका रूपमा काम गर्ने उनको भनाइ छ।

पत्रकार सम्मेलनमा नेकपाका समानुपातिक उम्मेदवार दिलिप प्रजापति भीष्म, बागमती प्रदेश सरकारका पूर्वमन्त्री डा. राजेन्द्रमान श्रेष्ठ, नेता श्याम बस्नेत र निर्मल ज्ञवालीलगायतको उपस्थिति रहेको थियो।

भक्तपुर–२ मा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी ३२ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका छन्।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top