सामाजिक सञ्जालमा गलत सूचना लाइक वा शेयर गर्नेलाई पनि कारबाही हुने चेतावनी

0



काठमाडौँनेपाल प्रहरीले सामाजिक सञ्जालमा फैलिने गलत सूचना प्रति सजग रहन सर्वसाधारणलाई आग्रह गरेको छ। बुधबार जारी सूचनामार्फत प्रहरीले सामाजिक सञ्जालमा भ्रामक सामग्री पोस्ट गर्ने मात्र नभई त्यस्ता सामग्रीलाई लाइक, शेयर वा फरवार्ड गर्ने व्यक्ति समेत कानुनी दायरामा आउने स्पष्ट पारेको हो।

प्रहरीका अनुसार पुराना भ्रामक भिडिओलाई नयाँ भन्दै सामाजिक सञ्जालमा पोस्ट गर्ने प्रवृत्ति बढ्दो छ। यस्ता सामग्री पुनः प्रचार–प्रसार गर्नु पनि गलत सूचना फैलाउने कार्य भएको र प्रचलित कानुनअनुसार दण्डनीय अपराध मानिने जनाएको छ। “कुनै सामग्री शेयर, लाइक वा फरवार्ड गर्ने व्यक्ति पनि कानुनी रूपमा जिम्मेवार हुन्छ,” सूचनामा उल्लेख छ।

त्यस्तै, फेक अकाउन्ट प्रयोग गर्दा पहिचान लुक्छ भन्ने धारणा गलत रहेको प्रहरीले स्पष्ट पारेको छ। डिजिटल माध्यम प्रयोग गर्दा प्रयोगकर्ताको पहिचान प्राविधिक रूपमा पत्ता लगाउन सकिने र आवश्यक पर्दा सम्बन्धित व्यक्तिसम्म कानुनी पहुँच सम्भव हुने जनाइएको छ।

प्रहरीले डिजिटल प्रमाणको वैधानिकताबारे समेत प्रस्ट्याएको छ। स्क्रिनशट, आईपी लग, डिजिटल रेकर्ड जस्ता प्रमाणहरू अदालतमा मान्य हुने बताउँदै विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ को दफा ४७ अनुसार विद्युतीय माध्यमबाट गैरकानुनी, अनैतिक वा घृणा फैलाउने सामग्री प्रकाशन गरेमा एक लाख रुपैयाँसम्म जरिवाना, पाँच वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने उल्लेख गरिएको छ। उक्त कसुर दोहोरिएमा थप कडा सजायको व्यवस्था रहेको पनि प्रहरीले जनाएको छ।

कानुन विपरीत सामाजिक सञ्जालमा गलत सूचना फैलाएको पाइएमा प्रहरीका आधिकारिक सामाजिक सञ्जाल अकाउन्ट तथा पेजमार्फत वा १०० मा फोन गरी जानकारी गराउन सर्वसाधारणसँग अनुरोध गरिएको छ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top