भक्तपुर । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का प्रतिनिधि सभा सदस्य उम्मेदवार रामप्रसाद सापकोटा ‘दीपशिखा’ले भक्तपुर क्षेत्र नं. २ मा पार्टीप्रति जनसमर्थन तीव्र रूपमा बढ्दै गएको दाबी गरेका छन्।
शुक्रबार नेकपा भक्तपुर क्षेत्र नं. २ को क्षेत्रीय निर्वाचन परिचालन कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै सापकोटाले टोल–टोलमा भएका भेटघाट, छलफल र अन्तरक्रियाबाट आम नागरिकमा परिवर्तनप्रतिको स्पष्ट चाहना देखिएको बताए। देशमा बढ्दो महँगी, बेरोजगारी, भ्रष्टाचार र राजनीतिक अस्थिरताले जनतालाई निराश बनाएको उल्लेख गर्दै उनले जनताको पीडा बुझ्ने नेतृत्वको आवश्यकता औंल्याए।
“श्रमिक, किसान र युवाको पक्षमा उभिने नेतृत्व आजको आवश्यकता हो,” सापकोटाले भने, “यसका लागि जनताले क्रान्तिकारी विकल्प रोज्नुपर्ने समय आएको छ।”
उनले शिक्षा, स्वास्थ्य, रोजगारी सिर्जना, भ्रष्टाचार नियन्त्रण तथा स्थानीय उत्पादनको संरक्षणलाई आफ्नो प्रमुख एजेन्डा बनाएको जानकारी दिँदै संसदमा पुगेपछि मजदुर, किसान र सीमान्तकृत समुदायको आवाज सशक्त रूपमा उठाउने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा नेकपाका समानुपातिक उम्मेदवार दिलिप प्रजापतिले प्रचण्ड प्रधानमन्त्री रहेका बेला भ्रष्टाचारविरुद्ध गरिएका कारबाही र सुशासनका प्रयासहरूको स्मरण गरे। अन्य दलहरू जनअपेक्षा पूरा गर्न असफल भएको टिप्पणी गर्दै उनले जनताले नयाँ राजनीतिक विकल्प खोजिरहेको र त्यसका लागि नेकपाको स्पष्ट बहुमत आवश्यक रहेको बताए।
कार्यक्रममा बागमती प्रदेश सरकारका पूर्व मन्त्री राजेन्द्रमान श्रेष्ठ, नेकपा केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्यहरू सुनिल गोठे बासु, श्याम बस्नेत, भवानी खड्का, नेकपा बागमती प्रदेश सदस्य युवराज आचार्य, सूर्यविनायक नगर समिति अध्यक्ष सानुकान्छा आलेमगर, सचिव सनिश लागेजु, वाइसीएल नेपाल बागमती प्रदेश समिति अध्यक्ष नरेश रञ्जित, नेकपा केन्द्रीय सदस्य राजु कुटुलगायतको उपस्थिति रहेको थियो।
कार्यक्रमबारे जानकारी वाइसीएल नेपाल भक्तपुरका पूर्व अध्यक्ष सरराज उप्रेतीले दिएका हुन्।




%20(%E0%A4%85%E0%A4%A8%E0%A4%B2%E0%A4%BE%E0%A4%87%E0%A4%A8%E0%A4%95%E0%A4%BE%20%E0%A4%B2%E0%A4%BE%E0%A4%97%E0%A4%BF).gif)
