अध्यक्ष विजुक्छेंले कुनै समय समाचार लेखन र रिपोर्टिङ कार्यमा सक्रिय भूमिका निर्वाह गरेको उल्लेख गर्दै सोही क्रममा तत्कालीन सुरक्षाकर्मीबाट लाठीप्रहारसमेत सहनु परेको स्मरण गरे । उनले आफू पक्राउ परेपछि मात्र प्रशासनले आफू पत्रकार भएको पहिचान गरेको प्रसंग उल्लेख गरे, जसले त्यस समयको अभिव्यक्ति स्वतन्त्रता र पत्रकार सुरक्षाको अवस्थालाई संकेत गर्ने बताए ।
उनले पत्रकारिताको मूल मर्म सत्य, तथ्य र निष्पक्षतामा आधारित हुनुपर्नेमा जोड दिँदै पत्रकारहरूले कुनै पनि किसिमको डर, दबाब वा त्रास बिना आफ्नो पेशागत दायित्व निर्वाह गर्नुपर्ने धारणा राखे । “पत्रकारहरू सत्य बोल्न र लेख्न पछि हट्नु हुँदैन । यदि पत्रकारिता आफ्नो कर्तव्यबाट विचलित भयो भने त्यसले देश र जनताको हितमा नकारात्मक असर पार्छ,” उनले भने ।
अध्यक्ष विजुक्छेंले पत्रकारहरूले सधैँ देश र जनताको पक्षमा उभिएर विचार अभिव्यक्त गर्नुपर्ने उल्लेख गर्दै इमानदार, जिम्मेवार र अध्ययनशील पत्रकारिताले समाजलाई चेतनशील र सुदृढ बनाउने विश्वास व्यक्त गरे । पत्रकारहरूले निष्ठापूर्वक आफ्नो भूमिका निर्वाह गरे समाजमा सकारात्मक परिवर्तन र उत्साहको वातावरण सिर्जना हुने उनको भनाइ थियो ।
इतिहासका सन्दर्भ प्रस्तुत गर्दै उनले रुसी क्रान्ति तथा दोस्रो विश्वयुद्धका क्रममा जापानमा खसालिएको आणविक बमको प्रभावबारे विश्व समुदायलाई यथार्थ जानकारी गराउन पत्रकारिताले खेलेको भूमिकालाई उदाहरणका रूपमा प्रस्तुत गरे । उनका अनुसार यस्ता घटनाको तथ्यगत र निर्भीक प्रस्तुतीकरणले विश्व जनमत निर्माणमा महत्वपूर्ण योगदान पुर्याएको छ ।
कार्यक्रममा दुई जना पत्रकार सम्मानित
कार्यक्रमका अवसरमा भक्तपुर जिल्लामा क्रियाशील दुई जना पत्रकारलाई सम्मान गरिएको छ । राष्ट्रिय समाचार समिति (रासस)का फोटो विभाग प्रमुख तथा वरिष्ठ फोटो पत्रकार रत्न श्रेष्ठ र कैलाश खबर डटकमका सम्पादक विनोद विक सम्मानित भएका हुन् । उनीहरूलाई नगदसहित सम्मानपत्र प्रदान गरिएको थियो ।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छें रोहितले सम्मानित पत्रकारहरूलाई पुरस्कार तथा सम्मान प्रदान गरे । कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा, राससका अध्यक्ष धर्मेन्द्र झा, भक्तपुरका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाललगायतले सम्मानित पत्रकारहरूलाई बधाई तथा शुभकामना व्यक्त गरे ।
रफत सञ्चार क्लबका अध्यक्ष शुशीलबन्धु थापाले क्लबले प्रत्येक वर्ष जिल्लाका पत्रकारहरूलाई विभिन्न विधामा सम्मान गर्दै पत्रकारिताको प्रवर्द्धन र प्रोत्साहन गर्दै आएको जानकारी दिए ।





%20(%E0%A4%85%E0%A4%A8%E0%A4%B2%E0%A4%BE%E0%A4%87%E0%A4%A8%E0%A4%95%E0%A4%BE%20%E0%A4%B2%E0%A4%BE%E0%A4%97%E0%A4%BF).gif)
