काठमाडौं। सरकारले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका क्रममा ड्रोनको प्रयोग गर्न निषेध गरेको छ। केन्द्रीय सुरक्षा समितिको निर्णयअनुसार आगामी फागुनमा हुने निर्वाचनमा ड्रोन उडाउन नपाइने गृह मन्त्रालयले जनाएको छ।
गृह मन्त्रालयका प्रवक्ता तथा सहसचिव आनन्द काफ्लेले निर्वाचनको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै ड्रोन प्रयोगमा रोक लगाउने निर्णय भइसकेको जानकारी दिए। उनले सामाजिक सञ्जालको दुरुपयोग बढ्दै गएको उल्लेख गर्दै त्यसलाई नियन्त्रण गर्न नेपाल प्रहरीले सञ्चालनमा ल्याएको अध्याधुनिक युनिटलाई थप प्रभावकारी बनाइने बताए।
प्रवक्ता काफ्लेका अनुसार निर्वाचन आचारसंहिता उल्लङ्घन हुने गरी मिथ्या तथा भ्रमपूर्ण सूचना, साथै घृणास्पद अभिव्यक्ति प्रवाह गर्ने व्यक्तिहरूको निगरानीका लागि विशेष टोली परिचालन गरिएको छ। निर्वाचन विरोधी गतिविधिमा संलग्न हुनेलाई कानुनी दायरामा ल्याउन सुरक्षा संयन्त्रले चुस्त निगरानी गरिरहेको उनले बताए।
उनले निर्वाचन प्रहरीको बीमा व्यवस्था, सञ्चार सम्पर्क नहुने मतदानस्थलको पहिचान तथा त्यस्ता स्थानमा आवश्यक प्रबन्ध मिलाउने तयारी भइरहेको जानकारी पनि दिए। गृह मन्त्रालयले सबै सुरक्षा निकाय तथा प्रशासनिक संयन्त्रलाई निर्वाचन सुरक्षामा कुनै पनि कमजोरी हुन नदिन र व्यवस्थापनलाई प्रभावकारी बनाउन निर्देशन दिइसकेको काफ्लेले बताए।
यसैबीच, गृहमन्त्री ओमप्रकाश अर्यालले एकीकृत निर्वाचन सुरक्षा योजना–२०८२ अनुसार जिम्मेवार निकायहरूले गरिरहेका कार्य, जनशक्ति परिचालन र बन्दोबस्ती योजनाको समीक्षा गर्दै थप प्रभावकारी व्यवस्था गर्न आवश्यक निर्देशन दिएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयले सामाजिक सञ्जाल प्रयोग गर्दा संयम अपनाउन आग्रह गर्दै मिथ्या, भ्रमपूर्ण तथा कसैलाई लाञ्छना लगाउने सामग्री प्रकाशन वा प्रसारण नगर्न चेतावनी दिएको छ। यस्ता गतिविधिमा संलग्न भएमा कानुनअनुसार कारबाही गरिने पनि मन्त्रालयले स्पष्ट पारेको छ।




%20(%E0%A4%85%E0%A4%A8%E0%A4%B2%E0%A4%BE%E0%A4%87%E0%A4%A8%E0%A4%95%E0%A4%BE%20%E0%A4%B2%E0%A4%BE%E0%A4%97%E0%A4%BF).gif)
