भक्तपुर । चाँगुनारायण नगरपालिका–९ ताथलीका स्थानीय बासिन्दाले आफ्नो क्षेत्रमा बढ्दै गएको माटो उत्खनन, त्यसले वातावरणमा पारेको असर र सडकमा भएको क्षतिबारे ध्यानाकर्षण गराउँदै चाँगुनारायण नगरपालिकालाई ज्ञापनपत्र बुझाएका छन्।
स्थानीयका अनुसार ताथलीका विभिन्न ठाउँमा अनियन्त्रित रूपमा माटो उत्खनन र ओसारपसार भइरहेको छ। यसका कारण वातावरणीय सन्तुलन बिग्रँदै गएको, भूक्षय र पहिरोको जोखिम बढेको तथा बस्तीको सुरक्षामा पनि खतरा बढेको उनीहरूको भनाइ छ।
ज्ञापनपत्रमा विशेष गरी तख्येचा र तधचा: क्षेत्रबाट रातको समयमा माटो निकाल्ने काम भइरहेको उल्लेख गरिएको छ। साथै साखकर्मी टोल, राउत टोल, इथाचा र चुनदेवी आसपासका क्षेत्रमा पनि माटो उत्खनन र ओसारपसार बढ्दै गएको बताइएको छ। स्थानीयका अनुसार यसले वातावरणमा नकारात्मक असर पार्नुका साथै सडक र अन्य सार्वजनिक संरचनामा पनि क्षति पुर्याएको छ।
केही समयअघि नगरपालिका र सम्बन्धित पक्षको पहलमा फैढोका–सौडोल–न्हेम्हाफुकी–खड्का हुँदै बुढाथोकी टोलसम्म जाने सडकमा कालोपत्रे गरिएको थियो। तर अत्यधिक भार बोकेका टिपर र ट्रकहरू निरन्तर चल्दा सडकको कालोपत्रे बिग्रन थालेको स्थानीयले बताएका छन्।
ज्ञापनपत्र बुझाउन गएको स्थानीय टोलीका सदस्य हरिसुन्दर छुकांले नगर प्रमुख जीवन खत्रीलाई ज्ञापनपत्र बुझाउँदै माटो उत्खननमा संलग्न व्यक्तिहरूले नगरपालिकाको नीतिगत कमजोरीको फाइदा उठाइरहेको आरोप लगाए। उनले यस समस्यालाई तुरुन्तै समाधान गर्न नगरपालिकाले प्रभावकारी कदम चाल्नुपर्ने बताए।
ज्ञापनपत्रका पाँच बुँदामा ताथलीका सडकहरूको क्षमताभन्दा बढी भार बोकेका सवारी साधन गुड्दा धुलो, धुवाँ र ध्वनि प्रदूषण बढेको उल्लेख गरिएको छ। साँघुरा सडकमा यस्ता सवारी साधन चल्दा दुर्घटनाको जोखिम पनि बढेको छ। यसले स्थानीय बासिन्दा, विद्यार्थी र सर्वसाधारणलाई दैनिक आवतजावतमा समस्या भइरहेको स्थानीयको गुनासो छ।
स्थानीयका अनुसार यस विषयमा नगरपालिका, नगर प्रहरी र सम्बन्धित निकायलाई पटक–पटक मौखिक जानकारी दिइएको भए पनि हालसम्म ठोस कदम चालिएको छैन।
स्थानीय तथा वडा नं. ९ का वडा सदस्य रविन बासुकलाले भने, “हामीले यस विषयमा धेरैपटक जानकारी र खबरदारी गरेका थियौं, तर त्यसको सुनुवाइ भएन। नगरपालिकाले समयमै ध्यान नदिँदा जनप्रतिनिधिलाई स्थानीयका धेरै गुनासा सुन्नु परेको छ र स्थानीयहरू पीडित बनेका छन्।”
स्थानीय बासिन्दाले ताथली क्षेत्रमा भइरहेको माटो उत्खननको तत्काल अनुगमन गर्न, मापदण्ड लागू गर्न, अनियमित उत्खनन रोक्न र अत्यधिक भार बोकेका सवारी साधनमा तौल सीमा कडाइका साथ लागू गर्न माग गरेका छन्। साथै क्षतिग्रस्त सडकको तत्काल मर्मत गर्न पनि उनीहरूले आग्रह गरेका छन्।
त्यसैगरी बस्ती र विद्यालय आसपास दुर्घटना कम गर्न ट्राफिक व्यवस्थापन सुधार गर्न, आवश्यक संकेत चिन्ह राख्न र वातावरणीय असरलाई ध्यानमा राख्दै माटो उत्खननसम्बन्धी स्पष्ट नीति र नियम लागू गर्न पनि स्थानीयले माग गरेका छन्।
ज्ञापनपत्र बुझ्दै नगर प्रमुख जीवन खत्रीले माटो उत्खनन र त्यसबाट भएको क्षतिबारे नगरपालिका सचेत भएको बताए। उनले समस्या समाधानका लागि स्थलगत अनुगमन गरिने र अवैध माटो उत्खनन नियन्त्रण गर्न विशेष संयन्त्र बनाइने जानकारी दिए।
उनका अनुसार नगरपालिकाका जनप्रतिनिधि, प्रहरी, नगर प्रहरी, प्रशासन कार्यालयका प्रतिनिधि र सरोकारवालाको सहभागितामा संयन्त्र बनाएर माटो उत्खनन र त्यसले सिर्जना गरेका समस्या समाधान गर्ने तयारी गरिएको छ।




%20(%E0%A4%85%E0%A4%A8%E0%A4%B2%E0%A4%BE%E0%A4%87%E0%A4%A8%E0%A4%95%E0%A4%BE%20%E0%A4%B2%E0%A4%BE%E0%A4%97%E0%A4%BF).gif)
