मध्यपूर्वमा अमेरिकी प्रविधि कम्पनीका डेटा सेन्टरमाथि इरानी आक्रमण

0



काठमाडौँ — इरान, अमेरिका र इजरायलबीच बढ्दो तनावका बीच मध्यपूर्वमा रहेका प्रमुख अमेरिकी प्रविधि कम्पनीका डेटा सेन्टरहरू आक्रमणको निशानामा परेका छन्। संयुक्त अरब इमिरेट्स (यूएई) र बहराइनमा रहेका व्यावसायिक डेटा सेन्टरहरूलाई इरानले ड्रोन तथा मिसाइल आक्रमण गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

रिपोर्टका अनुसार मार्च १ को बिहान करिब ४:३० बजे इरानी ‘शाहेद–१३६’ ड्रोनले यूएईमा रहेको अमेजन वेब सर्भिस (AWS) को डेटा सेन्टरमा प्रहार गरेको थियो। आक्रमणपछि केन्द्रमा भीषण आगलागी भएको र विद्युत आपूर्ति पूर्ण रूपमा अवरुद्ध भएको बताइएको छ। त्यसपछि अमेजनकै अर्को डेटा सेन्टर पनि आक्रमणको निशानामा परेको थियो।

रोयटर्सका अनुसार बहराइनमा रहेको अमेजनको अर्को डेटा सेन्टर पनि ड्रोन विस्फोटबाट क्षतिग्रस्त भएको छ। यी घटनापछि यूएई र बहराइनका विभिन्न डिजिटल सेवाहरूमा व्यापक अवरोध आएको सीएनबीसीले जनाएको छ।

ट्याक्सी तथा डेलिभरी सेवा एप ‘करीम’, भुक्तानी सेवा प्रदायक कम्पनी ‘अलाआन’ र ‘हबपे’, साथै आबु धाबी कमर्सियल बैंक र एमिरेट्स एनबीडी जस्ता वित्तीय संस्थाका सेवा केही समय प्रभावित भएका थिए। अमेजनले आफ्ना ग्राहकहरूलाई डेटा सुरक्षित राख्न तथा आवश्यक परे अन्य क्षेत्रका सर्भरमा सेवा स्थानान्तरण गर्न सुझाव दिएको जनाएको छ।

इरानको दाबी र सम्भावित निशाना

इरानी राज्यनियन्त्रित सञ्चारमाध्यम तथा तस्निम न्युज एजेन्सीका अनुसार इस्लामिक रिभोल्युसनरी गार्ड कर्प्स (IRGC) ले यी डेटा सेन्टरहरूले ‘शत्रुको सैन्य तथा गुप्तचर गतिविधिलाई सहयोग गरेको’ आरोप लगाउँदै आक्रमण गरेको दाबी गरेको छ।

वायर्ड मिडल इस्ट र युरोन्युजका अनुसार इरानले भविष्यमा सम्भावित निशानाका रूपमा अन्य अमेरिकी प्रविधि कम्पनीहरू—गुगल, माइक्रोसफ्ट, पालान्टिर, आईबीएम, एनभिडिया र ओराकल—लाई पनि सूचीमा राखेको बताइएको छ।

यी कम्पनीहरूले इजरायली सेनालाई प्रविधि उपलब्ध गराएको, विशेषगरी ‘प्रोजेक्ट निम्बस’ मार्फत क्लाउड पूर्वाधार प्रदान गरेको आरोप इरानले लगाएको छ। इरानको खाताम अल–अम्बिया सैन्य कमाण्डले अमेरिकी तथा इजरायली आर्थिक स्वार्थ जोडिएका बैंक तथा आर्थिक केन्द्र वरिपरि सर्वसाधारणलाई कम्तीमा एक किलोमिटर टाढा रहन चेतावनीसमेत दिएको छ।

एआई केन्द्र बन्ने खाडीको योजनामा असर

यूएईले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) लाई ‘नयाँ तेल’ का रूपमा विकास गर्ने लक्ष्यसहित अर्बौँ डलर लगानी गरिरहेको समयमा यी आक्रमण भएका हुन्। द न्यूयोर्क टाइम्सका अनुसार आबु धाबीमा निर्माणाधीन विश्वकै ठूलो एआई डेटा सेन्टरमध्ये एक ‘स्टारगेट यूएई’ परियोजना पनि सुरक्षा जोखिममा परेको छ। उक्त परियोजना ओपनएआई र ओराकलको साझेदारीमा निर्माण भइरहेको बताइएको छ।

प्रविधि विज्ञ क्रिस म्याकगुइरेले द गार्डियनसँगको कुराकानीमा भविष्यमा डेटा सेन्टरहरूको सुरक्षाका लागि मिसाइल प्रतिरक्षा प्रणाली आवश्यक हुन सक्ने बताएका छन्। उनका अनुसार जमिनमा रहेका पूर्वाधार मात्र होइन, हर्मुज जलडमरूमध्य मुनि रहेका फाइबर अप्टिक केबलहरू पनि सम्भावित जोखिममा पर्न सक्छन्।

अमेरिकी प्रतिक्रिया र बढ्दो सुरक्षा चिन्ता

अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमणको प्रतिक्रियास्वरूप इरानले यी प्रविधि कम्पनीहरूलाई निशाना बनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्। रोयटर्सका अनुसार इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको हत्या भएपछि प्रतिशोधस्वरूप यस्तो कदम चालिएको दाबी गरिएको छ।

यसैबीच अमेरिकी सरकारले एआई कम्पनी ‘एन्थ्रोपिक’ लाई ‘सप्लाई चेन रिस्क’ घोषणा गरेको बताइएको छ, जसले युद्धकालीन अवस्थामा प्रविधि कम्पनी र सरकारबीचको सम्बन्ध थप जटिल बन्न सक्ने विश्लेषण गरिएको छ।

विश्लेषकहरूका अनुसार यी घटनाले व्यावसायिक डेटा सेन्टरहरू पनि अब सम्भावित सैन्य लक्ष्य बन्न सक्ने संकेत दिएका छन्। यसले मध्यपूर्व क्षेत्रमा अमेरिकी प्रविधि कम्पनीहरूको लगानी तथा डिजिटल पूर्वाधारको सुरक्षाबारे नयाँ प्रश्न उठाएको छ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top