भक्तपुर । सुख्खा याम सुरु भएसँगै देशका विभिन्न वन क्षेत्रमा डढेलोको जोखिम बढ्न थालेको छ। डिभिजन वन कार्यालय भक्तपुरकी प्रमुख श्रद्धा सिग्देलले अन्य महिनाको तुलनामा फागुनदेखि जेठसम्म वन डढेलो लाग्ने सम्भावना अत्यधिक रहने बताएकी छन्।
वन डढेलो नियन्त्रणसम्बन्धी सप्ताहव्यापी सचेतनामूलक कार्यक्रमको अवसरमा बोल्दै प्रमुख सिग्देलले आगलागी हुनका लागि आगोको स्रोत, इन्धन र अक्सिजन आवश्यक पर्ने बताइन्। यी तीन तत्वको संयोजनलाई ‘फायर ट्रायाङ्गल’ भनिने र यही कारणले सुख्खा मौसममा वन डढेलो छिट्टै फैलिने जोखिम रहने उनले स्पष्ट पारिन्।
उनका अनुसार वन डढेलो व्यवस्थापनका लागि तीन प्रमुख चरण रहनेछन्। पहिलो चरण पूर्वतयारी, जसमा जोखिम न्यूनीकरणका उपायहरू अपनाइन्छन्। दोस्रो चरण प्रतिकार्य वा नियन्त्रण, जसमा लागेको आगो निभाउने काम गरिन्छ। तेस्रो चरण पुनःउत्थान, जसअन्तर्गत प्रभावित वन क्षेत्रको पुनःस्थापना गरिन्छ।
“रोग लागेपछि उपचार गर्नु भन्दा पहिले नै रोकथाम गर्नु उत्तम हुन्छ,” उनले भनिन्, “त्यसैले वन डढेलो रोकथामका लागि सबै पक्षको सक्रियता आवश्यक छ।”
वन डढेलो नियन्त्रण तथा न्यूनीकरणका लागि डिभिजन वन कार्यालय भक्तपुरले विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ। कार्यालयका अनुसार सचेतना र्याली, विद्यालयस्तरीय कार्यक्रम, स्थानीय एफएममार्फत जनचेतनामूलक सन्देश प्रसारण तथा हरित स्वयंसेवक परिचालनजस्ता गतिविधि सञ्चालन भइरहेका छन्।
यसका साथै वन कार्यालयले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, दमकल र स्थानीय निकायसँग समन्वय गर्दै फोकल पर्सन तोकेको जनाएको छ। आगलागीको घटना भएमा तत्काल नियन्त्रणका लागि र्यापिड रेस्पोन्स टिम समेत गठन गरिएको छ।
वन क्षेत्रमा इन्धनको मात्रा घटाउन अग्निरेखा निर्माण तथा वन उद्यम सञ्चालन जस्ता कार्यहरू पनि अघि बढाइएको सिग्देलले जानकारी दिइन्।
वनमा डढेलो लगाउने व्यक्तिलाई कानुनी रूपमा कडा कारबाही हुने व्यवस्था रहेको उनले स्मरण गराइन्। वन ऐनअनुसार वनमा डढेलो लगाएर क्षति पुर्याउने व्यक्तिबाट क्षतिको बिगो असुल गर्ने, तीन वर्षसम्म कैद वा ६० हजार रुपैयाँसम्म जरिवाना अथवा दुवै सजाय हुन सक्ने प्रावधान रहेको छ।
वन क्षेत्रमा डढेलो लागेको जानकारी पाएमा ढिला नगरी सामुदायिक वन समूह, वन कार्यालय, नजिकको प्रहरी कार्यालय वा स्थानीय तहमा तत्काल जानकारी गराउन डिभिजन वन कार्यालय भक्तपुरले अनुरोध गरेको छ। सूचना प्राप्त हुनासाथ र्यापिड रेस्पोन्स टिमले आगो नियन्त्रणमा लिने जनाएको छ।
प्रमुख सिग्देलका अनुसार वन डढेलो नियन्त्रणमा सरकारी निकाय मात्र नभई आम नागरिकको सचेतना र सक्रिय सहभागिता पनि उत्तिकै महत्वपूर्ण हुन्छ।
डिभिजन वन कार्यालय भक्तपुरले सञ्चालन गरेको ‘वन डढेलो नियन्त्रण सचेतना कार्यक्रम’ चैत १ गतेदेखि सुरु भई चैत ७ गतेसम्म सञ्चालन हुनेछ। सोही क्रममा कार्यालयले विभिन्न सामुदायिक वन उपभोक्ता समूहलाई अग्नि नियन्त्रण सामग्रीसमेत वितरण गरेको जनाएको छ।




%20(%E0%A4%85%E0%A4%A8%E0%A4%B2%E0%A4%BE%E0%A4%87%E0%A4%A8%E0%A4%95%E0%A4%BE%20%E0%A4%B2%E0%A4%BE%E0%A4%97%E0%A4%BF).gif)
