मोरङ । परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा कोशी प्रदेश अन्तर्गत मोरङ जिल्लाको लेटाङस्थित मण्डलीमा ‘निस्तार-चाडको प्रेम, जीवन बचाउने प्रेम’ अभियान अन्तर्गत १,८२१ औँ विश्वव्यापी रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
बिहीबार आयोजित उक्त कार्यक्रममा मण्डलीका विश्वासी, उनीहरूका परिवार तथा स्थानीय बासिन्दा गरी करिब ९० जनाको सहभागिता रहेको थियो। तीमध्ये ३८ जनाले रक्तदान गरेका थिए।
मण्डलीका एक अधिकारीका अनुसार नयाँ करारको निस्तार-चाड येशू ख्रीष्टले मानवजातिलाई अनन्त जीवनको प्रतिज्ञा गर्नुभएको स्मरणमा मनाइने विशेष अवसर हो। “ख्रीष्टले देखाउनुभएको जीवन बचाउने प्रेमलाई व्यवहारमा उतार्न रक्तदान कार्यक्रम आयोजना गरिएको हो,” उनले बताए। साथै, यस कार्यक्रमले दुर्घटना तथा विभिन्न रोगबाट प्रभावित बिरामीहरूको जीवन बचाउन सहयोग पुग्नुका साथै रक्तदानप्रति सकारात्मक चेतना फैलाउने अपेक्षा गरिएको छ।
कार्यक्रम सञ्चालनमा नेपाल रेडक्रस सोसाइटी मोरङ जिल्ला शाखाले प्राविधिक सहयोग प्रदान गरेको थियो। लेटाङ नगरपालिका वडा नं. ४ का अध्यक्ष राम कुमार श्रेष्ठले समाजका लागि महत्वपूर्ण कार्य गरेको भन्दै मण्डलीप्रति आभार व्यक्त गरेका थिए।
रक्तदानमा सहभागी सुरज रूचालले यस्तो पुण्य कार्यमा सहभागी हुन पाउँदा खुशी व्यक्त गरे। त्यस्तै, अप्सरा माखिमले आगामी दिनहरूमा पनि निरन्तर सहभागिता जनाउने प्रतिबद्धता व्यक्त गरिन्।
‘निस्तार-चाडको प्रेम, जीवन बचाउने प्रेम’ अभियान विश्वव्यापी रूपमा सञ्चालन हुँदै आएको मानवसेवामूलक कार्यक्रम हो। सन् २००५ मा दक्षिण कोरियाबाट सुरु भएको यो अभियान हालसम्म ६७ देशमा सञ्चालन भइसकेको छ। सन् २०२५ सम्म करिब ३ लाख १० हजार सहभागीमध्ये १ लाख ३४ हजारले रक्तदान गरेका छन्, जसबाट करिब ४ लाखभन्दा बढी व्यक्तिको जीवन बचाउन सहयोग पुगेको अनुमान गरिएको छ।
नेपालमा पनि मण्डलीले भूकम्प प्रभावित क्षेत्रमा पुनर्निर्माण, विद्यालय निर्माण सहयोग, वातावरण सरसफाइ, रक्तदान लगायतका विभिन्न सामाजिक गतिविधि सञ्चालन गर्दै आएको छ। ‘आशाको वन’ अभियानमार्फत देशभर करिब १,१५० वटा वृक्षारोपण गरिएको मण्डलीले जनाएको छ।
विश्वका १७५ देशमा फैलिएको परमेश्वरको मण्डलीले सामाजिक सेवा, वातावरण संरक्षण, प्रकोप राहत तथा शैक्षिक सहयोगजस्ता क्षेत्रमा ४४ हजारभन्दा बढी कार्यक्रम सञ्चालन गरिसकेको छ। यस प्रकारका योगदानका लागि मण्डलीले विभिन्न अन्तर्राष्ट्रिय तथा राष्ट्रिय सम्मानहरू समेत प्राप्त गरेको छ।





%20(%E0%A4%85%E0%A4%A8%E0%A4%B2%E0%A4%BE%E0%A4%87%E0%A4%A8%E0%A4%95%E0%A4%BE%20%E0%A4%B2%E0%A4%BE%E0%A4%97%E0%A4%BF).gif)
