बिस्का जात्रा व्यवस्थित र शान्तिपूर्ण बनाउन सरोकारवालाबीच छलफल

0



भक्तपुर । भक्तपुरको ऐतिहासिक तथा प्रसिद्ध बिस्का जात्रालाई व्यवस्थित, मर्यादित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्ने उद्देश्यले सोमबार सरोकारवालाबीच छलफल कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा नेपाल विद्युत् प्राधिकरण, नेपाल टेलिकम, केबल नेटवर्क तथा इन्टरनेट सेवा प्रदायकका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर ऐतिहासिक, सांस्कृतिक तथा पुरातात्विक दृष्टिले महत्वपूर्ण मौलिक नगर भएको उल्लेख गर्दै नगरलाई सफा र सुन्दर बनाउने अभियानअन्तर्गत मुख्य बजार क्षेत्रका पसलहरूको छत एकरूप बनाउने कार्य भइरहेको जानकारी दिए।

उनले नगरका विभिन्न स्थानमा छरपस्ट रहेका केबल नेटवर्कका तारहरू व्यवस्थापन गर्न आवश्यक रहेको औंल्याउँदै यसका लागि सबै सम्बन्धित निकायहरूको संयुक्त प्रयास अपरिहार्य रहेको बताए।

यसैगरी, भक्तपुर नगरपालिका वडा नं. ९ का वडाध्यक्ष रविन्द्र ज्याख्वले नगर क्षेत्रमा तारहरू अत्यन्त अस्तव्यस्त रहेको जनगुनासो आएको उल्लेख गर्दै अनावश्यक रूपमा जडान गरिएका केबल नेटवर्कहरू हटाउनुपर्ने आवश्यकता औंल्याए।

भक्तपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराईले सहरको सौन्दर्य अभिवृद्धि तथा अव्यवस्थित तारका कारण हुनसक्ने दुर्घटना न्यूनीकरणका लागि तार व्यवस्थापन आवश्यक रहेको बताए।

छलफलले आगामी बिस्का जात्रालगायत अन्य जात्राका क्रममा विद्युत् प्राधिकरण, नेपाल टेलिकम, केबल नेटवर्क तथा इन्टरनेट सेवा प्रदायकका तारहरूमा क्षति पुग्ने जोखिम न्यूनीकरण गर्न अनावश्यक तार हटाउने तथा व्यवस्थित गर्ने निर्णय गरेको छ।

यसका लागि भक्तपुर नगरपालिका सरसफाइ शाखा प्रमुख दिलिप सुवालको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरी कार्य अघि बढाउने निर्णय गरिएको छ।

कार्यक्रममा सहभागी विभिन्न निकायका प्रतिनिधिहरूले पनि आ–आफ्ना धारणा राख्दै जात्रा व्यवस्थापनमा समन्वय र सहकार्य आवश्यक रहेको बताएका थिए।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top