भक्तपुर । निर्वाचन क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार राजीव खत्री विजयी भएका छन्।
शनिबार सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार खत्रीले ४२ हजार ३३४ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का महेश बस्नेतले १० हजार ९९६ मत प्राप्त गरे भने नेपाली कांग्रेसका कबिर राणाले ८ हजार ४०१ मत प्राप्त गरेका छन्।
विजयपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै खत्रीले भक्तपुरका मतदाताले पुस्तान्तरण र रूपान्तरणको चाहनालाई मतमार्फत अभिव्यक्त गरेको बताए। उनले आफू विजयी भए पनि कसैले हारको अनुभूति गर्नु नपर्ने भन्दै सबै पक्षका सही मुद्दा र एजेन्डालाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरे।
“म जितेँ भनेर अरूले हारको महसुस गर्नु पर्दैन। सही एजेन्डा जहाँबाट आए पनि त्यसलाई बोकेर अघि बढ्छु,” उनले भने।
आफ्नो नियत सफा राखेर भक्तपुरमा काम गर्न आएको उल्लेख गर्दै खत्रीले आगामी दिनमा यहाँका जनतासँग सहकार्य गरेर विकास र परिवर्तनका काम अघि बढाउने बताए।
भक्तपुर–२ मा कुल ९८ हजार ३५६ मतदाता रहेकामा ७२ हजार ७६१ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ।




%20(%E0%A4%85%E0%A4%A8%E0%A4%B2%E0%A4%BE%E0%A4%87%E0%A4%A8%E0%A4%95%E0%A4%BE%20%E0%A4%B2%E0%A4%BE%E0%A4%97%E0%A4%BF).gif)
