भक्तपुर। भक्तपुरलाई लामो समयदेखि आफ्नो गढ बनाउँदै आएको नेपाल मजदुर किसान पार्टी (नेमकिपा) यसपटक प्रतिनिधिसभा निर्वाचनमा पराजित भएको छ। भक्तपुर निर्वाचन क्षेत्र–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार रुकेश रञ्जित विजयी भएसँगै नेमकिपाको तीन दशकभन्दा लामो राजनीतिक किल्ला ढलेको हो।
कुल १ लाख ७ हजार ५४ मत खसेको यस क्षेत्रमा रञ्जितले ३३ हजार ४३६ मत प्राप्त गर्दै विजय हासिल गरे। उनका निकटतम प्रतिस्पर्धी नेमकिपाका प्रेम सुवालले २८ हजार १४७ मत पाए। नेपाली कांग्रेसका किरण पौडेलले ४ हजार २८९ तथा नेकपाका सोमप्रसाद मिश्रले ३ हजार ७२१ मत प्राप्त गरेका छन्।
अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा सुवालले यही क्षेत्रबाट ४० हजारभन्दा बढी मत ल्याएर सहज जित हासिल गरेका थिए। त्यतिबेला उनका प्रमुख प्रतिस्पर्धी एमालेका नवराज गेलाले ११ हजार ८३४ मत मात्र प्राप्त गरेका थिए।
भक्तपुर–१ मा २०४८ सालदेखि नेमकिपाले निरन्तर आफ्नो प्रभाव कायम राख्दै आएको थियो। यही क्षेत्रबाट पार्टी अध्यक्ष नारायणमान बिजुक्छे पाँच पटक तथा प्रेम सुवाल दुई पटक सांसद निर्वाचित भएका थिए। यस कारण नेमकिपालाई संसदमा ‘सदाबहार प्रतिपक्ष’का रूपमा चिनिने गरिएको थियो। तर २०८२ सालको निर्वाचन परिणामले ३५ वर्ष लामो उक्त परम्परा तोडिदिएको छ।
किन फेरियो मत परिणाम?
स्थानीयका अनुसार यसपटकको परिणाममा ‘परिवर्तनको लहर’ प्रमुख कारण बनेको देखिन्छ। क्षेत्रका एक ज्येष्ठ नागरिकका अनुसार नेमकिपाले सैद्धान्तिक आधारमा राम्रो मत पाए पनि सामाजिक सञ्जाल र नयाँ राजनीतिक विकल्पको प्रभावले युवा मतदाताको झुकाव परिवर्तन भएको हो।
उनका अनुसार सामाजिक सञ्जालमा फैलिएको नयाँ राजनीतिक विमर्श र युवापुस्तामा देखिएको परिवर्तनको चाहनाले मत विभाजन गराएको हुन सक्छ। आगामी दिनमा नेमकिपाले युवामुखी कार्यक्रम र रणनीतिमा ध्यान दिनुपर्ने आवश्यकता पनि उनले औंल्याए।
स्थानीय असन्तुष्टिको प्रभाव
केही स्थानीय बासिन्दाका अनुसार भक्तपुर नगर क्षेत्रबाहिरका ठाउँमा विकास र सरोकारका विषयमा पर्याप्त ध्यान नदिइएको गुनासो पनि देखिन्छ। विशेषगरी चाँगु क्षेत्रका मतदाताले आफूहरूका मुद्दामा नेमकिपाले पर्याप्त आवाज नउठाएको आरोप लगाएका छन्।
एक स्थानीयका अनुसार नगरकोट जाने सडक १०–१२ वर्षसम्म निर्माण नहुँदा पनि नेमकिपाबाट ठोस पहल नदेखिएको गुनासो छ। “संसदमा अन्तर्राष्ट्रिय घटनाबारे आवाज उठाउने नेमकिपाले आफ्नै क्षेत्रको सडक समस्यामा पर्याप्त दबाब सिर्जना गर्न सकेन,” उनले भने।
त्यस्तै, भक्तपुर नगरपालिकाको देको–ईटापाके भूमि विकास परियोजनालाई लिएर पनि लामो समयदेखि विवाद भइरहेको छ। परियोजनाबाट प्रभावित स्थानीयले निरन्तर विरोध जनाउँदै आएका भए पनि समस्या समाधानमा ढिलाइ भएको आरोप छ।
सामाजिक सञ्जालमा वडास्तरका केही कर्मचारीको व्यवहारप्रति आलोचना भएको र त्यसले पनि मतदाताको मनोवृत्तिमा असर परेको स्थानीयहरूको अनुमान छ।
सामाजिक सञ्जालमा सक्रिय ‘भक्तपुरियन’ नामक फेसबुक पेजमा बासुकला ताराले भूमि विकास परियोजनाबाट प्रभावितहरूले असन्तुष्टि जनाउँदा केही वडा प्रतिनिधिहरूका विवादास्पद भिडियो सार्वजनिक भएको उल्लेख गरेकी छन्। समस्या समाधान खोज्नुको सट्टा दबाब वा चेतावनी दिने शैली देखिएको भन्दै उनले आलोचना गरेकी छन्।
राजनीतिक विश्लेषकहरूका अनुसार भक्तपुरमा नेमकिपाको पराजय केवल नयाँ राजनीतिक लहरको परिणाम मात्र नभई स्थानीय स्तरमा देखिएका असन्तुष्टि, युवापुस्ताको बदलिँदो सोच र नयाँ विकल्पप्रतिको आकर्षणको संयुक्त प्रभाव हुनसक्छ।




%20(%E0%A4%85%E0%A4%A8%E0%A4%B2%E0%A4%BE%E0%A4%87%E0%A4%A8%E0%A4%95%E0%A4%BE%20%E0%A4%B2%E0%A4%BE%E0%A4%97%E0%A4%BF).gif)
