काठमाडौं, — नेपाल रेडक्रस सोसाइटी, काठमाडौँ जिल्ला शाखाले बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका क्रममा ३० मतदान केन्द्रमा प्राथमिक उपचार स्वयंसेवक परिचालन गर्ने भएको छ।
जिल्ला शाखाका अनुसार काठमाडौँ महानगरपालिकासहित अन्य १० पालिकाभित्र रहेका विभिन्न मतदान केन्द्रमा प्रत्येक केन्द्रमा चार–चार जना स्वयंसेवक खटाइने छन्। मतदानका क्रममा आकस्मिक स्वास्थ्य समस्या देखिन सक्ने अवस्थालाई ध्यानमा राख्दै यस्तो व्यवस्था गरिएको शाखाले जनाएको छ।
यसका साथै शाखाले एम्बुलेन्ससहित सात सदस्यीय एक छुट्टै टोलीलाई पूर्वतयारी अवस्थामा राखेको छ। आवश्यक परेमा उक्त टोली तत्काल परिचालन गरिनेछ।
जिल्ला शाखाका सभापति श्यामकाजी डोटेलले मतदान केन्द्रमा आकस्मिक प्राथमिक उपचार सेवा आवश्यक पर्न सक्ने भएकाले स्थानीयस्तरमै प्राथमिक उपचार टोली र आवश्यक सामग्री पूर्वतयारी अवस्थामा राखिएको जानकारी दिए। उनका अनुसार प्राथमिक उपचार आवश्यक पर्ने व्यक्तिलाई स्वयंसेवकले तत्काल सेवा प्रदान गर्नेछन्।
निर्वाचनलाई लक्षित गर्दै शाखाले स्वयंसेवकहरूका लागि अभिमुखीकरण कार्यक्रमसमेत सञ्चालन गरेको थियो। उक्त कार्यक्रममा प्राथमिक उपचार पुनर्ताजगी, सुरक्षित पहुँच, मनोसामाजिक सहयोग तथा मनोवैज्ञानिक प्राथमिक उपचार सम्बन्धी सैद्धान्तिक र प्रयोगात्मक कक्षा सञ्चालन गरिएको जनाइएको छ।
मानवीय सेवाका विभिन्न गतिविधिमा सक्रिय रहँदै आएको शाखाले निर्वाचनजस्ता संवेदनशील अवसरमा समेत स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै स्वयंसेवक परिचालन गर्दै आएको जनाएको छ।




%20(%E0%A4%85%E0%A4%A8%E0%A4%B2%E0%A4%BE%E0%A4%87%E0%A4%A8%E0%A4%95%E0%A4%BE%20%E0%A4%B2%E0%A4%BE%E0%A4%97%E0%A4%BF).gif)
