भक्तपुर । उपत्यकाका मेयर फोरमको निर्णयअनुसार मध्यपुर थिमी नगरपालिकाले आगामी वैशाख ११ गते शुक्रबारदेखि विद्यालय सञ्चालन गर्ने निर्णय गरेको छ। शिक्षा समितिको बैठकले सो निर्णय गर्दै केही दिनअघि शिक्षा मन्त्रालयबाट जारी परिपत्रअनुसार प्रभावित पठनपाठनलाई नियमित बनाउन स्थानीय तहहरूले समन्वय गरी विद्यालय खोल्ने तयारी गरिएको जनाएको छ।
नगरपालिकाका अनुसार विद्यालय सञ्चालनसँगै नियमित कक्षा सञ्चालन, विद्यार्थीको उपस्थितिमा वृद्धि तथा सिकाइ प्रक्रियालाई प्रभावकारी बनाउने लक्ष्य राखिएको छ। विद्यालयहरूलाई आवश्यक व्यवस्थापन मिलाएर पठनपाठन सञ्चालन गर्न आग्रह गरिएको छ भने अनुशासन, स्वास्थ्य सुरक्षा र शैक्षिक वातावरणलाई प्राथमिकतामा राखिने बताइएको छ।
यसैबीच, विद्यालय क्षेत्रलाई सुरक्षित, अनुशासित र दुर्व्यसनमुक्त बनाउने उद्देश्यसहित नगरपालिकाले कडा कदम चाल्ने निर्णय गरेको छ। विद्यार्थीलाई लक्षित गरी सुर्तिजन्य तथा मदिराजन्य पदार्थको बिक्री–वितरणमा कडाइ गरिनेछ। विद्यालय पोशाकमा रहेका विद्यार्थीलाई चुरोट, सुर्ती, गुट्खा तथा मदिरा बिक्री गर्न नपाइने व्यवस्था लागू गरिने र विद्यालय वरपरको क्षेत्रमा निगरानी बढाइने जनाइएको छ।
पछिल्लो समय विद्यालय क्षेत्र आसपास विद्यार्थीलाई लक्षित गरी यस्ता पदार्थ बिक्री हुने गुनासो बढेपछि उक्त निर्णय कार्यान्वयनमा ल्याइएको नगरपालिकाले जनाएको छ। विद्यालय समयमै विद्यार्थीहरू अस्वस्थ गतिविधितर्फ आकर्षित हुने जोखिम बढेको भन्दै विद्यालय परिसर र आसपासका व्यापारिक प्रतिष्ठानमाथि नियमित अनुगमन गरिनेछ।
नगरपालिकाले विद्यालय नजिक रहेका पसल, होटल, किराना व्यवसाय तथा अन्य व्यापारिक केन्द्रलाई विद्यार्थीलाई लक्षित गरी कुनै पनि प्रकारका सुर्तिजन्य वा मदिराजन्य पदार्थ बिक्री नगर्न निर्देशन दिएको छ। विद्यालय पोशाकमा रहेका विद्यार्थीलाई यस्ता वस्तु बिक्री गरेको पाइएमा सम्बन्धित व्यवसायीमाथि कानुनी कारबाही गरिने चेतावनी दिइएको छ।
नगर उपप्रमुख विजयकृष्ण श्रेष्ठले विद्यार्थीको स्वास्थ्य, आचरण र भविष्यलाई ध्यानमा राख्दै विद्यालय क्षेत्रलाई थप व्यवस्थित बनाउन आवश्यक कदम चालिएको बताए। उनले विद्यालय वरपरको वातावरण स्वच्छ र सुरक्षित राख्नु स्थानीय तह मात्र नभई समाजकै साझा दायित्व भएको उल्लेख गरे।
सरोकारवालाहरूले विद्यार्थीको भविष्यसँग प्रत्यक्ष जोडिएको विषय भएकाले विद्यालय क्षेत्रलाई सुरक्षित र दुर्व्यसनमुक्त बनाउने अभियानलाई प्रभावकारी रूपमा अघि बढाउनुपर्नेमा जोड दिएका छन्।




%20(%E0%A4%85%E0%A4%A8%E0%A4%B2%E0%A4%BE%E0%A4%87%E0%A4%A8%E0%A4%95%E0%A4%BE%20%E0%A4%B2%E0%A4%BE%E0%A4%97%E0%A4%BF).gif)
