भक्तपुर । बागमती प्रदेश सरकारको आयोजना तथा नेपाल तामाङ घेदुङ र नेवा देय दबुको सहकार्यमा भाषा दिवस २०८३ भव्य रूपमा सम्पन्न भएको छ। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा योगदान पुर्याउने व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो।
कार्यक्रममा नेपाल भाषा साहित्य क्षेत्रमा योगदान पुर्याएका डा. पुष्पराज राजकर्णिकार तथा तामाङ भाषा साहित्यमा योगदान दिएका राजेन्द्र थोकरलाई मुख्यमन्त्री बानियाले दोसल्ला ओढाएर सम्मान गरेकाे थियाे।
सो अवसरमा बोल्दै मुख्यमन्त्री बानियाले भाषा केवल सञ्चारको माध्यम मात्र नभई समुदायको पहिचान, संस्कृति र सभ्यताको आधार भएको उल्लेख गरे। उनले बागमती प्रदेश बहुभाषिक, बहुजातीय र विविध सांस्कृतिक विशेषता बोकेको प्रदेश भएकाले सबै भाषाको संरक्षण र सम्मान आवश्यक रहेको धारणा व्यक्त गरे।
मुख्यमन्त्री बानियाले मातृभाषाको संरक्षण गर्नु भनेको आफ्नो इतिहास, संस्कृति र पहिचानको रक्षा गर्नु भएको उल्लेख गर्दै संविधानले सुनिश्चित गरेको भाषिक अधिकार कार्यान्वयनमा प्रदेश सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे। प्रदेश सरकारले सरकारी कामकाजको भाषासम्बन्धी ऐन कार्यान्वयनमा आएको दिनको अवसर पारेर विविध कार्यक्रमसहित भाषा दिवस मनाइएको उनको भनाइ थियो।
कार्यक्रमका विशेष अतिथि भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भाषा दिवसलाई केवल औपचारिक कार्यक्रम र नारामा सीमित नराखी व्यवहारिक कार्यान्वयनमा जोड दिन प्रदेश सरकारलाई आग्रह गरे। उनले भाषा लोप हुनु भनेको राष्ट्रको महत्वपूर्ण सम्पत्ति हराउनु सरह भएको बताउँदै भाषा र संस्कृति संरक्षण नभए पहिचान नै संकटमा पर्ने धारणा राखे।
प्रमुख प्रजापतिले भाषा सम्मेलन आयोजना तथा स्मारिका प्रकाशनलाई प्राथमिकता दिनुपर्ने आवश्यकता औंल्याउँदै भक्तपुर नगरपालिकाले नेपाल भाषाको पाक्षिक पत्रिका ‘ख्वप पौ’ प्रकाशन गर्दै आएको तथा नेपाल भाषा अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउँदै आएको जानकारी दिए।
कार्यक्रमका सभापति तथा बागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठले सरकारी कामकाजी भाषा ऐन २०७९ कार्यान्वयनमा आएको दिनको स्मरणमा प्रत्येक वर्ष वैशाख २४ गते भाषा दिवस मनाउने निर्णयअनुसार यस वर्ष पनि प्रदेशभर विभिन्न कार्यक्रम आयोजना गरिएको जानकारी दिए। उनले सो अवसरमा प्रदेशका सरकारी कार्यालय तथा निकायमा सार्वजनिक बिदासमेत दिइएको जानकारी दिए।
कार्यक्रममा आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगर, नेपाल तामाङ घेदुङका महासचिव जगत डोङ, नेवा देय दबुका केन्द्रीय अध्यक्ष रश्मिला प्रजापति, प्रदेश सचिव दीपेन्द्र सुवेदी तथा नेपाल पत्रकार महासंघका प्रतिनिधिलगायतले शुभकामना मन्तव्य व्यक्त गरेको थियो।
भाषा दिवसको अवसरमा भक्तपुर क्याम्पस अगाडि दुधपाटीबाट सुरु भएको प्रभातफेरि कमलविनायक हुँदै लान्चा फल्चासम्म पुगेपछि औपचारिक कार्यक्रम सम्पन्न भएको थियो। र्यालीमा बागमती प्रदेशका मन्त्रीहरू, सभासद्, विभिन्न स्थानीय तहका प्रमुख, कर्मचारी, पत्रकार तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमका क्रममा मुख्यमन्त्री बानियाले भाषा दिवस विशेष स्मारिकाको विमोचन गरेको थियो भने विभिन्न मौलिक बाजा तथा सांस्कृतिक नृत्यसमेत प्रस्तुत गरिएको थियो।


.webp)


%20(%E0%A4%85%E0%A4%A8%E0%A4%B2%E0%A4%BE%E0%A4%87%E0%A4%A8%E0%A4%95%E0%A4%BE%20%E0%A4%B2%E0%A4%BE%E0%A4%97%E0%A4%BF).gif)
