भ्रष्टाचार प्रकरणमा चीनका दुई पूर्व रक्षामन्त्रीलाई मृत्युदण्ड सजाय

0


काठमाडौं । चीनले भ्रष्टाचारको आरोपमा आफ्ना दुई पूर्व रक्षामन्त्री ली साङ्फु र वेई फेङ्हेलाई सम्पत्ति जफतसहित मृत्युदण्डको सजाय सुनाएको छ। चिनियाँ सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार उनीहरूलाई “दुई वर्षको स्थगित मृत्युदण्ड” दिइएको हो।

चिनियाँ कानुनी व्यवस्थाअनुसार दोषीले उक्त अवधिभित्र कुनै नयाँ अपराध नगरेमा सजायलाई आजीवन कारावासमा रूपान्तरण गर्न सकिन्छ।

पूर्व रक्षामन्त्री ली साङ्फुलाई सन् २०२३ मा अचानक पदबाट हटाइएको थियो। त्यसअघि उनी लामो समय सार्वजनिक रूपमा नदेखिएपछि विभिन्न अड्कलबाजी सुरु भएका थिए। पछि चिनियाँ अधिकारीहरूले उनीमाथि भ्रष्टाचारसम्बन्धी अनुसन्धान भइरहेको पुष्टि गरेका थिए।

चिनियाँ सरकारी टेलिभिजन सीसीटीभीका अनुसार सैन्य अनुशासन अनुसन्धान निकायले लीमाथि पार्टी अनुशासन र कानुनको गम्भीर उल्लङ्घन गरेको निष्कर्ष निकालेको थियो। उनीमाथि ठूलो रकम घुस लिएको, अरूलाई घुस दिएको तथा पदको दुरुपयोग गरेको आरोप लागेको छ।

अनुसन्धान प्रतिवेदनमा लीका गतिविधिले चीनको सैन्य हतियार विकास र सैन्य उपकरण प्रणालीको विश्वसनीयतामा गम्भीर असर परेको उल्लेख गरिएको छ।

त्यस्तै, पूर्व रक्षामन्त्री वेई फेङ्हेमाथि पनि घुस लिएको र आफ्नो पदको दुरुपयोग गरेको आरोप पुष्टि भएको चिनियाँ सैन्य अदालतले जनाएको छ। अनुसन्धानअनुसार उनले रक्षा मन्त्रालय र सेनासम्बन्धी निर्णयहरूमा प्रभाव प्रयोग गरी लाभ दिलाएबापत घुस लिएका थिए।

वेई फेङ्हे सन् २०१८ देखि २०२३ सम्म चीनका रक्षामन्त्री थिए। उनी चिनियाँ सेनाको रणनीतिक ‘रकेट फोर्स’ का पूर्व कमान्डरसमेत हुन्। रकेट फोर्सले चीनको परमाणु तथा लामो दूरीका मिसाइल प्रणालीको जिम्मेवारी सम्हाल्दै आएको छ।

चीनमा पछिल्लो समय ‘पीएलए रकेट फोर्स’ र सैन्य हतियार खरिद विभागलाई केन्द्रमा राखेर व्यापक भ्रष्टाचार अनुसन्धान भइरहेको बताइएको छ। सैन्य उपकरण खरिद, रक्षा सम्झौता तथा ठेक्कापट्टामा अनियमितता भएको आशंकामा धेरै वरिष्ठ अधिकारीमाथि अनुसन्धान चलाइएको छ।

ली साङ्फु र वेई फेङ्हेविरुद्धको अनुसन्धान सेन्ट्रल मिलिट्री कमिसन (सीएमसी) अन्तर्गतका निकायहरूले गरेका हुन्। सीएमसी चीनको सर्वोच्च सैन्य संस्था हो, जसको नेतृत्व राष्ट्रपति सी जिनपिङले गर्दै आएका छन्।

विश्लेषकहरूले यसलाई राष्ट्रपति सी जिनपिङको भ्रष्टाचारविरोधी अभियानअन्तर्गतको ठूलो कारबाहीका रूपमा व्याख्या गरेका छन्। पछिल्लो एक वर्षमा चीनको सैन्य तथा एरोस्पेस क्षेत्रसँग सम्बन्धित दर्जनौँ उच्च अधिकारीहरू पदमुक्त भइसकेका छन्।

(एजेन्सीहरूको सहयोगमा)

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top