सम्पदा यात्रामार्फत भक्तपुरको कला, संस्कृति र रैथाने उद्योग प्रवर्द्धन

0



भक्तपुर । भक्तपुरको ऐतिहासिक कला, संस्कृति तथा रैथाने उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित ‘गो लोकल अभियान’ अन्तर्गत सन्ध्याकालीन सम्पदा यात्रा (Evening Heritage Walk) सम्पन्न भएको छ। कार्यक्रम भक्तपुर घरेलु तथा साना उद्योग संघ र भक्तपुर पर्यटन विकास समितिको संयुक्त आयोजनामा तथा टोस्टमास्टर्स क्लबको सहकार्यमा सम्पन्न भएको हो।

भक्तपुर दरबार स्क्वायरबाट सुरु भएको सम्पदा यात्रा तलेजु भवानी मन्दिर, पाँचतले मन्दिर अवस्थित टौमढी क्षेत्र, दत्तात्रय तथा नवदुर्गा पीठ हुँदै अघि बढेको थियो। यात्राका क्रममा सहभागीहरूलाई भक्तपुरका ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्पदाबारे जानकारी गराइएको थियो।

आयोजकका अनुसार भक्तपुरका मठमन्दिर र ऐतिहासिक धरोहर मात्र नभई यहाँका परम्परागत उद्योगहरू पनि जीवित सम्पदाका रूपमा रहेका छन् भन्ने सन्देश प्रवाह गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। रैथाने उद्योगको संरक्षण गर्दै दिगो पर्यटनसँग जोड्ने अभियानको मुख्य लक्ष्य रहेको जनाइएको छ।

यसपटकको सम्पदा यात्रा सांस्कृतिक स्थलमा मात्र सीमित नरही भक्तपुरको पहिचान बोकेका परम्परागत उद्योगहरूको प्रत्यक्ष अवलोकनसमेत गराइएको थियो। यात्राका क्रममा सहभागीहरूले झ्याल, ढोका तथा काठका बुट्टा कुँद्ने काष्ठकला उद्योग, भादगाउँले कालो टोपी उत्पादन केन्द्र, चिउरा (बजि), चामल तथा पिठो उत्पादन गर्ने पुराना उद्योगलगायत विभिन्न स्थानीय उद्योगहरूको भ्रमण गरेका थिए।

विभिन्न सम्पदा तथा उद्योगहरूको अवलोकनपछि यात्रा ‘ख्वप छेँ’ मा पुगेर औपचारिक रूपमा समापन गरिएको थियो। कार्यक्रममा सहभागीहरूले यात्राका क्रममा प्राप्त अनुभव तथा जानकारी एकआपसमा साटासाट गरेका थिए।

आयोजकहरूले यस्ता रचनात्मक तथा चेतनामूलक सम्पदा यात्राले भक्तपुरको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने, आन्तरिक तथा बाह्य पर्यटकका लागि भक्तपुरलाई अझ आकर्षक गन्तव्य बनाउने तथा स्थानीय अर्थतन्त्र सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्। साथै, परम्परागत सीप र संस्कृतिलाई नयाँ पुस्तासँग जोड्न समेत यस्ता कार्यक्रम प्रभावकारी हुने उनीहरूको भनाइ छ।

कार्यक्रममा ‘गो लोकल अभियान’ का सह–संयोजक रामसुन्दर भेलेले सम्पदा यात्राको उद्देश्यबारे जानकारी गराएका थिए। त्यसैगरी भक्तपुर घरेलु तथा साना उद्योग संघका अध्यक्ष श्यामसुन्दर श्रेष्ठले सहभागीहरूलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि निरन्तर सहभागिताका लागि आग्रह गरेका थिए। कार्यक्रमको सहजीकरण भक्तपुर पर्यटन विकास समितिका अध्यक्ष दिपेशराज शर्माले गरेका थिए।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top