अवैध प्लटिङका कारण बाढीपहिरोको जोखिम बढेको आरोप

0


भक्तपुर — भ्रष्टाचारविरोधी अभियन्ता प्रेमध्वज लामा ले भक्तपुरको सूर्यविनायक क्षेत्रमा अवैध जग्गा प्लटिङका कारण बाढीपहिरोको जोखिम बढिरहेको भन्दै भविष्यमा कुनै दुर्घटना भए त्यसको सम्पूर्ण जिम्मेवारी सूर्यविनायक नगरपालिकाले लिनुपर्ने बताएका छन्।

शुक्रबार भक्तपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सूर्यविनायक नगरपालिका क्षेत्रमा भइरहेको अवैध जग्गा प्लटिङ र जथाभावी भू–उपयोगकै कारण वर्षेनी बाढीपहिरोको जोखिम बढ्दै गएको दाबी गरे। आगामी वर्षायाममा यस्ता कारणबाट कुनै मानवीय वा भौतिक क्षति भए त्यसको जिम्मा सूर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापा लगायत जनप्रतिनिधिहरूले लिनुपर्ने उनको भनाइ थियो।

लामाले अहिले पनि विभिन्न स्थानमा अवैध प्लानिङ तथा प्लटिङ कार्य भइरहेको भए पनि नगरपालिका नेतृत्व मौन बसेको आरोप लगाए। उनले यस विषयमा आवश्यक परे अदालतसम्म जाने चेतावनीसमेत दिए।

उनले भक्तपुरका सांसद, नगरपालिकाका प्रमुख तथा उपप्रमुख, वडा अध्यक्ष, स्थानीय प्रशासनसहित सम्बन्धित सबै निकायको ध्यानाकर्षण गराउँदै अवैध प्लटिङ रोक्न तत्काल कदम चाल्न आग्रह गरे। आफूले यस विषयलाई उच्च तहसम्म पुर्‍याइरहेको र निरन्तर आवाज उठाइरहने पनि उनले बताए।

वर्षायाम सुरु हुन लागेकाले बाढीपहिरोका कारण अकालमा जनधनको क्षति हुनसक्ने भन्दै लामाले चिन्ता व्यक्त गरे। विशेषगरी भक्तपुरका सूर्यविनायक नगरपालिकाचाँगुनारायण नगरपालिका क्षेत्रमा व्यापक रूपमा भइरहेको अवैध प्लटिङले बस्ती नै जोखिममा पर्नसक्ने उनको दाबी थियो। पहाडी भूभागमा पर्ने यी क्षेत्रमा डाँडाकाँडामा जथाभावी प्लटिङ कार्य निरन्तर भइरहेको उनले बताए।

फरक प्रसंगमा उनले सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमणप्रति पनि गम्भीर चिन्ता व्यक्त गरे। भक्तपुरका चारवटै नगरपालिकामा सार्वजनिक जग्गा अतिक्रमण भएको विषय हालै नापी र मालपोत कार्यालय भक्तपुरबाट सार्वजनिक भएको उल्लेख गर्दै उनले सम्बन्धित निकायलाई कडाइका साथ कारबाही गर्न आग्रह गरे।

त्यसैगरी, उद्योगधन्दा बन्द गर्ने प्रवृत्तिप्रति असन्तुष्टि जनाउँदै लामाले भक्तपुरका इँटाभट्टाले हजारौँ युवालाई रोजगारी दिएको बताए। प्रदूषण नियन्त्रणका नाममा उद्योग बन्द गर्नुको सट्टा व्यवस्थित र प्रविधिमैत्री बनाइनुपर्नेमा उनले जोड दिए। उद्योग बन्द गरिए युवाको वैदेशिक पलायन अझै बढ्ने उनको भनाइ थियो।

उल्लेखनीय रूपमा, पछिल्लो समय भक्तपुर क्षेत्र नं. १ का सांसद रुकेश रञ्जित ले संसदमा भक्तपुरका इँटाभट्टा बन्द गर्नुपर्ने विषय उठाएका थिए।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top