ट्रम्पको तस्वीरसहित २५० डलरको नोट ल्याउने प्रस्तावले अमेरिकामा विवाद

0


Image Create by: AI

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको तस्वीर राखिएको २५० डलरको नयाँ नोट जारी गर्ने प्रस्तावले अमेरिकामा कानुनी तथा राजनीतिक बहस चर्किएको छ। प्रस्ताव अहिले अमेरिकी संसदको प्रक्रियामा रहे पनि यसले सार्वजनिक रूपमा व्यापक चर्चा पाएको छ।

रिपब्लिकन सांसद जो विल्सनले गत वर्ष अमेरिकी संसदमा एक विधेयक दर्ता गर्दै २५० डलरको नोटमा ट्रम्पको तस्वीर राख्ने प्रस्ताव अघि सारेका थिए। प्रस्तावित विधेयकमा अमेरिकी वित्त मन्त्रालयलाई ट्रम्पको तस्वीरसहित नयाँ नोट छाप्न निर्देशन दिने व्यवस्था गरिएको छ। उक्त विधेयक हाल हाउस फाइनान्सियल सर्भिसेज कमिटीमा विचाराधीन अवस्थामा रहेको जनाइएको छ।

हालै वाशिङ्टन पोस्टले प्रकाशित गरेको एक रिपोर्टपछि यो विषय पुनः चर्चामा आएको हो। रिपोर्टअनुसार अमेरिकी ट्रेजरर ब्रान्डन बीच र उनका वरिष्ठ सल्लाहकारहरूले २५० डलरको नोटको प्रारम्भिक डिजाइन तयार पार्ने विषयमा छलफल गरेका थिए। अमेरिकी ट्रेजरी विभागले पनि सम्भावित ‘स्मारक नोट’ सम्बन्धी प्राविधिक अध्ययन भइरहेको पुष्टि गरेको छ।

तर प्रस्ताव कार्यान्वयनमा सबैभन्दा ठूलो बाधा अमेरिकी कानुन बनेको छ। सन् १८६६ मा लागू गरिएको कानुनअनुसार अमेरिकी मुद्रा वा सरकारी प्रतिभूतिमा जीवित व्यक्तिको तस्वीर राख्न पाइँदैन। ट्रेजरी अधिकारी स्पेन्सर क्लार्कको तस्वीर नोटमा छापिएपछि उत्पन्न विवादका कारण उक्त कानुन ल्याइएको थियो। त्यसयता अमेरिकी नोटमा केवल दिवंगत व्यक्तिहरूको तस्वीर मात्र प्रयोग गर्ने प्रचलन रहेको छ।

त्यसैगरी २५० डलरको नोट जारी गर्न पनि छुट्टै कानुनी प्रक्रिया आवश्यक पर्ने देखिएको छ। हाल अमेरिकामा १, २, ५, १०, २०, ५० र १०० डलरका नोट मात्रै आधिकारिक रूपमा प्रचलनमा छन्।

ट्रम्प समर्थकहरूले भने अमेरिकाको स्वतन्त्रताको २५०औँ वर्षगाँठका अवसरमा यस्तो नोट जारी गर्नु उपयुक्त हुने तर्क गरेका छन्। ट्रेजरर ब्रान्डन बीचले सांसद जो विल्सनलाई पठाएको पत्रमा वर्तमान राष्ट्रपतिलाई उक्त अवसरमा सम्मान गर्नुपर्ने धारणा व्यक्त गरेका थिए। अमेरिकी वित्तमन्त्री स्कट बेसन्टले पनि स्मारक नोटमा राष्ट्रपतिको तस्वीर राख्न सकिने बताएका छन्।

हाल अमेरिकामा सर्वसाधारणका लागि प्रयोगमा रहेको सबैभन्दा ठूलो नोट १०० डलरको हो। सन् १९६९ पछि अमेरिकी सरकारले ५००, १०००, ५००० र १० हजार डलरका नोट छाप्न बन्द गरेको थियो। ती उच्च मूल्यका नोटहरू अपराध तथा अवैध कारोबारमा प्रयोग हुन सक्ने आशंकाका कारण उत्पादन रोकिएको बताइन्छ।

इतिहासमा अमेरिकाले १ लाख डलरसम्मको ‘गोल्ड सर्टिफिकेट’ जारी गरेको भए पनि त्यो सर्वसाधारणका लागि नभई फेडरल रिजर्भ बैंकहरूबीचको कारोबारमा मात्रै प्रयोग हुने गरेको थियो।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top