भक्तपुर । अभियन्ता हेम पाठकले मापदण्डविपरीत सञ्चालन भइरहेका भक्तपुरका इँटाभट्टा तत्काल हटाउन माग गर्दै सांसदद्वय रुकेश रञ्जित र राजीव खत्रीलाई ध्यानाकर्षण पत्र बुझाएका छन्।
बुधबार सांसद रञ्जित र खत्रीलाई संयुक्त रूपमा पत्र बुझाउँदै पाठकले लामो समयदेखि सञ्चालनमा रहेका इँटाभट्टाबाट फैलिएको प्रदूषणले स्थानीयवासीको स्वास्थ्यमा गम्भीर असर पारिरहेको बताएका हुन्। उनले विशेषगरी स्कुले बालबालिका तथा वृद्धवृद्धा बढी प्रभावित भइरहेको उल्लेख गर्दै सरकार र सम्बन्धित निकायले तत्काल कदम चाल्नुपर्ने माग गरेका छन्।
ध्यानाकर्षण पत्रमा उनले निर्वाचनअघि स्थानीय बासिन्दाले इँटाभट्टा समस्याका विषयमा सांसदद्वयसँग छलफल गरेको स्मरण गराएका छन्। त्यतिबेला दुवै नेताले निर्वाचित भए वा नभए पनि समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाएको उनको भनाइ छ।
“आज तपाईहरू दुवै जना सांसद पदमा निर्वाचित हुनुभएको छ। झन्डै दुई तिहाइ बहुमतसहित तपाईहरूकै सरकार छ। यस विषयमा अब ठोस समाधान निकाल्नुहुन्छ भन्नेमा हामी आशावादी छौं,” पत्रमा उल्लेख गरिएको छ।
पाठकले इँटाभट्टा हटाउन तथा प्रदूषण नियन्त्रणका लागि आफूहरू पटक–पटक स्थानीय तहदेखि सम्बन्धित सरकारी निकायसम्म पुगे पनि अपेक्षित सुनुवाइ नभएको गुनासो गरेका छन्। उनले जनस्वास्थ्य र वातावरण संरक्षणलाई प्राथमिकतामा राखेर तत्काल प्रभावकारी कदम चाल्न आग्रह गरेका छन्।




%20(%E0%A4%85%E0%A4%A8%E0%A4%B2%E0%A4%BE%E0%A4%87%E0%A4%A8%E0%A4%95%E0%A4%BE%20%E0%A4%B2%E0%A4%BE%E0%A4%97%E0%A4%BF).gif)
