बोदे अनिवार्य तथा निःशुल्क शिक्षा सुनिश्चित गर्ने भक्तपुरकै पहिलो वडा घोषित

0

भक्तपुर । मध्यपुर थिमि नगरपालिका वडा नं. ८ बोदेलाई आधारभूत तहको अनिवार्य तथा निःशुल्क शिक्षा सुनिश्चित भएको भक्तपुरकै पहिलो वडा घोषणा गरिएको छ । वडा समितिको निर्णयअनुसार शुक्रबार औपचारिक कार्यक्रमबीच उक्त घोषणा गरिएको हो ।

बोदे माविमा आयोजित कार्यक्रममा मध्यपुर थिमि नगरपालिकाका मेयर सुरेन्द्र श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, वडा नं. ८ का अध्यक्ष रमेश थापा श्रेष्ठ तथा वडा नं. २ का अध्यक्ष एवं सामाजिक विकास शाखा प्रमुख श्रीकृष्ण श्रेष्ठलगायतको सहभागिता रहेको थियो ।

अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी ऐन, २०७५ तथा नियमावली, २०७७ अनुसार गरिएको घरधुरी सर्वेक्षणका आधारमा वडा भित्रका १४ वर्षमुनिका सबै बालबालिका विद्यालयको पहुँचमा रहेको पुष्टि भएपछि उक्त घोषणा गरिएको जनाइएको छ ।

वडाका सामुदायिक विद्यालयहरूले आधारभूत तहमा भर्ना, मासिक तथा परीक्षा शुल्क नलिएको तथा शिक्षा सुनिश्चितताका आवश्यक मापदण्ड पूरा गरेको कार्यक्रमका वक्ताहरूले बताएका छन् ।

घोषणापत्रमा वडा तथा नगरपालिकाले विद्यालय बाहिर रहेका बालबालिकाको पहिचान, अभिभावक सचेतना अभिवृद्धि, नियमित अनुगमन तथा वैकल्पिक शिक्षाको व्यवस्था गर्ने प्रतिबद्धता जनाएको छ । साथै सामुदायिक तथा संस्थागत विद्यालयलाई विद्यालय छाडेका बालबालिकाको अभिलेख राखी पुनः भर्नाका लागि पहल गर्न आग्रह गरिएको छ ।

आर्थिक अवस्था कमजोर, दलित तथा सीमान्तकृत समुदायका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था गर्नुपर्ने विषय पनि घोषणापत्रमा समेटिएको छ । स्थानीय समुदायलाई विद्यालय उमेर समूहका कुनै पनि बालबालिका विद्यालय बाहिर रहेको जानकारी भए सम्बन्धित निकायलाई सूचना दिन अनुरोध गरिएको छ ।

वडा नं. ८ ले अनिवार्य तथा निःशुल्क शिक्षा सुनिश्चित अभियानलाई निरन्तर अघि बढाइने जनाएको छ । पछिल्ला वर्षहरूमा नेपालका विभिन्न स्थानीय तहहरूले पनि यस्ता अभियान सञ्चालन गर्दै आएका छन् ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top