भक्तपुर । चाँगुनारायण नगरपालिका–९ ताथलीको ऐतिहासिक, धार्मिक, सांस्कृतिक, पुरातात्त्विक तथा सामाजिक जीवनका विविध पक्ष समेटिएको अनुसन्धानमूलक कृति ‘ताथली : भूगोलदेखि लोकसंस्कृतिसम्म’ को विमोचन तथा परिचर्चा कार्यक्रम सम्पन्न भएको छ।
स्थानीय इतिहास, भूगोल, लोकसंस्कृति, जात्रा–पर्व, मूर्त तथा अमूर्त सम्पदा, परम्परा, जनजीवन र मौलिक पहिचानलाई समेटेर तयार पारिएको उक्त पुस्तकलाई ताथलीको समग्र परिचय प्रस्तुत गर्ने महत्वपूर्ण दस्तावेजका रूपमा लिइएको छ।
चाँगुनारायण नगरपालिका–९ वडा कार्यालयको आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत बजेट तथा कार्यक्रमअन्तर्गत प्रकाशित पुस्तकको विमोचन कार्यक्रम वडा सदस्य रविन बासुकलाको सभापतित्वमा सम्पन्न भएको थियो।
कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशसभा सदस्य तथा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य सुरेन्द्रराज गोसाईँले इतिहास र संस्कृतिविनाको समाजको पहिचान कमजोर हुने भएकाले स्थानीय इतिहासको खोज, अध्ययन र अभिलेखीकरणलाई निरन्तरता दिन आवश्यक रहेको बताए। उनले स्थानीय तहबाट आफ्नै इतिहास, संस्कृति र सम्पदालाई पुस्तकका रूपमा प्रकाशन गर्नु सकारात्मक र अनुकरणीय कार्य भएको उल्लेख गर्दै यसले नयाँ पुस्तामा गाउँप्रतिको अपनत्व र गौरवबोध विकास गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।
उनले कला, संस्कृति र सभ्यताको संरक्षणसँगै देशको सार्वभौमसत्ताको रक्षा पनि उत्तिकै महत्वपूर्ण रहेको उल्लेख गर्दै संस्कृति र सभ्यतामाथि हुने आक्रमणबारे नयाँ पुस्तालाई सचेत र सङ्घर्षशील बनाउनुपर्नेमा जोड दिए।
विशेष अतिथि साहित्यकार तथा संस्कृतिकर्मी सूर्यप्रसाद लाकोजुले ताथली ऐतिहासिक तथा सांस्कृतिक दृष्टिले समृद्ध भए पनि त्यससम्बन्धी सामग्री छरिएर रहेको अवस्थामा पुस्तकले ती विषयलाई एकीकृत रूपमा प्रस्तुत गरेको बताए। मौखिक परम्परामा सीमित रहेका धेरै विषयलाई स्थायी अभिलेखका रूपमा सुरक्षित गर्न पुस्तक सफल भएको उनको भनाइ थियो। उनले भक्तपुरको इतिहास लेखनमा ताथलीमा भेटिएका अभिलेखहरूको विशेष महत्व रहेको उल्लेख गर्दै तिनको संरक्षण र प्रवर्द्धनमा लेखकको योगदान प्रशंसनीय रहेको बताए।
अनुसन्धाता तथा लेखक केदारबहादुर थापाले स्थानीय इतिहास लेखन धैर्य र गहन अनुसन्धानको विषय भएको उल्लेख गर्दै पुस्तक पुराना अभिलेख, स्थानीय जनश्रुति, धार्मिक परम्परा, पुरातात्त्विक प्रमाण तथा समुदायका अग्रजसँगको संवादका आधारमा तयार पारिएको जानकारी दिए। यस्ता कृति भविष्यका अनुसन्धानकर्ता, विद्यार्थी तथा इतिहास अध्ययन गर्नेका लागि भरपर्दो सन्दर्भ सामग्री बन्ने उनको भनाइ थियो।
आर्किटेक्ट, लेखिका तथा शोधार्थी सिर्जना प्रजापतिले ताथलीका मठमन्दिर, पाटीपौवा, शिलालेख, मूर्तिकला, परम्परागत बस्ती तथा सांस्कृतिक सम्पदाको संरक्षणका लागि अनुसन्धानमूलक प्रकाशन अपरिहार्य भएको बताइन्। विकास निर्माणका क्रममा सम्पदाको मौलिकता जोगाउन पनि यस्ता दस्तावेज मार्गदर्शक बन्ने उनको धारणा थियो। उनले पुस्तकले भक्तपुर र ताथलीबीचको ऐतिहासिक सम्बन्धलाई तथ्यका आधारमा स्पष्ट पारेको उल्लेख गरिन्।
शुभकामना मन्तव्यका क्रममा ताथली साकोसका अध्यक्ष एकबहादुर खत्रीले ताथलीको समग्र इतिहास समेटिएको पुस्तक प्रकाशन हुनु स्थानीय समुदायका लागि गर्वको विषय भएको बताए। इतिहास र संस्कृतिबारे नयाँ पुस्तालाई जानकारी गराउने प्रभावकारी माध्यम पुस्तक नै भएको उनको भनाइ थियो।
नेपाल मजदुर किसान पार्टी ताथलीका राजाराम छुकांले ताथलीको मौलिक पहिचान संरक्षणका लागि स्थानीय समुदाय स्वयं जागरुक हुनुपर्नेमा जोड दिँदै पुस्तकले त्यस अभियानलाई थप बल पुग्ने विश्वास व्यक्त गरे। उनले पुस्तक प्रत्येक घर, विद्यालय र पुस्तकालयसम्म पुग्नुपर्ने धारणा राखे।
पुस्तकका लेखक तथा अनुसन्धानकर्ता हरिसुन्दर छुकांले ताथली ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पुरातात्त्विक दृष्टिले महत्वपूर्ण बस्ती भए पनि यसका विविध पक्ष समेटिएको समग्र दस्तावेजको अभाव रहेकाले पुस्तक तयार गरिएको बताए। उनले स्थानीय अग्रजसँगको संवाद, पुराना दस्तावेज, अभिलेख, शिलालेख, धार्मिक स्थल, पुरातात्त्विक अवशेष, जनश्रुति तथा प्रकाशित–अप्रकाशित सामग्रीको अध्ययनका आधारमा पुस्तक तयार पारिएको जानकारी दिए।
कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै चाँगुनारायण नगरपालिकाकी कार्यपालिका सदस्य कमला गिरीले स्थानीय सरकारको दायित्व पूर्वाधार निर्माणमा मात्र सीमित नरही इतिहास, भाषा, संस्कृति र सम्पदाको संरक्षणमा पनि उत्तिकै महत्वपूर्ण रहने बताइन्। वडा कार्यालयले स्थानीय सम्पदाको अभिलेखीकरण र संरक्षणलाई प्राथमिकतामा राख्दै पुस्तक प्रकाशन गरेको उनले जानकारी दिइन्।
कार्यक्रमको सञ्चालन वडा सचिव सपना श्रेष्ठले गरेकी थिइन्। कार्यक्रममा जनप्रतिनिधि, अनुसन्धानकर्ता, साहित्यकार, संस्कृतिकर्मी, शिक्षक, सञ्चारकर्मी, राष्ट्रसेवक कर्मचारी, समाजसेवी, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा स्थानीयवासीको उल्लेखनीय उपस्थिति रहेको थियो।
वक्ताहरूले ताथलीको इतिहास, पुरातात्त्विक सम्पदा, धार्मिक आस्था, जात्रा–पर्व, लोकविश्वास, भाषा, कला, परम्परा र जीवनशैलीको संरक्षणका लागि यस्ता अनुसन्धानमूलक प्रकाशनलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए। उनीहरूले पुस्तकलाई विद्यालय, पुस्तकालय, अध्ययन केन्द्र तथा घर–घरमा पुर्याई अध्ययन संस्कृतिको विकास गर्नुपर्ने धारणा पनि राखेका थिए।
स्थानीय तहको पहलमा प्रकाशित ‘ताथली : भूगोलदेखि लोकसंस्कृतिसम्म’ पुस्तक ताथलीको ऐतिहासिक तथा सांस्कृतिक पहिचान अभिलेखीकरण गर्ने महत्वपूर्ण कृतिका रूपमा स्थापित हुने अपेक्षा गरिएको छ। साथै, स्थानीय समुदायको स्मृति, सभ्यता र सांस्कृतिक सम्पदालाई पुस्तान्तरण गर्दै भावी अनुसन्धानका लागि आधार तयार पार्ने महत्वपूर्ण दस्तावेजका रूपमा यसलाई हेरिएको छ।




%20(%E0%A4%85%E0%A4%A8%E0%A4%B2%E0%A4%BE%E0%A4%87%E0%A4%A8%E0%A4%95%E0%A4%BE%20%E0%A4%B2%E0%A4%BE%E0%A4%97%E0%A4%BF).gif)
