भक्तपुरका चारवटै नगरपालिकाले सार्वजनिक गरे आगामी आवको बजेट

0



भक्तपुर । भक्तपुर जिल्लाका चारवटै नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि बजेट सार्वजनिक गरेका छन्। बुधबार सम्पन्न नगरसभामा सम्बन्धित उपप्रमुखहरूले आय–व्यय विवरण प्रस्तुत गरेका हुन्।

जिल्लामध्ये सबैभन्दा ठूलो बजेट मध्यपुर थिमि नगरपालिकाले ल्याएको छ भने सबैभन्दा सानो बजेट चाँगुनारायण नगरपालिकाको रहेको छ।

भक्तपुर नगरपालिकाकी उपप्रमुख रजनी जोशीले २ अर्ब ५५ करोड रुपैयाँको बजेट प्रस्तुत गरिन्। कुल बजेटमध्ये १ अर्ब ५५ करोड ८९ लाख रुपैयाँ (६१.१३ प्रतिशत) चालुतर्फ, ९३ करोड ३१ लाख रुपैयाँ (३६.६० प्रतिशत) पुँजीगततर्फ तथा ५ करोड ८० लाख रुपैयाँ (२.२७ प्रतिशत) वित्तीय व्यवस्थापनतर्फ विनियोजन गरिएको छ।

सूर्यविनायक नगरपालिकाकी उपप्रमुख सरिता तिम्सिना भट्टराईले आगामी आर्थिक वर्षका लागि २ अर्ब २६ करोड रुपैयाँको बजेट प्रस्तुत गरिन्। बजेटमध्ये ९६ करोड ८५ लाख ८२ हजार रुपैयाँ (४२.८५ प्रतिशत) चालुतर्फ तथा १ अर्ब २९ करोड १४ लाख १८ हजार रुपैयाँ (५७.१४ प्रतिशत) पुँजीगततर्फ विनियोजन गरिएको छ।

मध्यपुर थिमि नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठले ३ अर्ब ७१ करोड ८७ लाख ४१ हजार रुपैयाँको बजेट सार्वजनिक गरे। यो जिल्लाका अन्य तीन नगरपालिकाको तुलनामा सबैभन्दा ठूलो बजेट हो। बजेटको ६० प्रतिशत पुँजीगत तथा ४० प्रतिशत चालुतर्फ खर्च हुने जनाइएको छ।

चाँगुनारायण नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकीले २ अर्ब ४ करोड ४५ हजार रुपैयाँको बजेट प्रस्तुत गरे। यो जिल्लाका चार नगरपालिकामध्ये सबैभन्दा सानो बजेट हो। विनियोजन विधेयक तयार नभइसकेकाले चालु, पुँजीगत र वित्तीय व्यवस्थापनतर्फ छुट्याइएको रकम स्पष्ट रूपमा उल्लेख गरिएको छैन।

आन्तरिक आयमा जोड

चारवटै नगरपालिकाले आन्तरिक स्रोत, संघीय तथा प्रदेश सरकारबाट प्राप्त हुने राजस्व बाँडफाँट, विभिन्न अनुदान र चालु आर्थिक वर्षको बैंक मौज्दातबाट बजेट व्यवस्थापन गर्ने बताएका छन्। बजेटमा आन्तरिक आम्दानीलाई विशेष प्राथमिकता दिइएको छ।

भक्तपुर नगरपालिकाले आन्तरिक स्रोतबाट ६९ करोड २० लाख रुपैयाँ आम्दानी हुने अनुमान गरेको छ। सूर्यविनायकले ९७ करोड ३८ लाख ७० हजार ९ सय ७५ रुपैयाँ, मध्यपुर थिमिले ४९ करोड रुपैयाँ तथा चाँगुनारायणले ३४ करोड ६ लाख २० हजार रुपैयाँ आन्तरिक आय हुने प्रक्षेपण गरेका छन्।

प्रशासनिक खर्चमा मध्यपुर सबैभन्दा मितव्ययी

प्रशासनिक तथा कार्यालय सञ्चालन खर्चतर्फ मध्यपुर थिमि नगरपालिकाले ३१ करोड रुपैयाँ विनियोजन गर्दै सबैभन्दा कम खर्च प्रक्षेपण गरेको छ। सूर्यविनायक नगरपालिकाले यस शीर्षकमा ४६ करोड रुपैयाँ खर्च हुने अनुमान गरेको छ, जुन अन्य पालिकाको तुलनामा बढी हो।

भक्तपुर र चाँगुनारायण नगरपालिकाले भने प्रशासनिक तथा कार्यालय सञ्चालनका लागि समान रूपमा ३५–३५ करोड रुपैयाँ विनियोजन गरेका छन्।

शिक्षा र स्वास्थ्यलाई उच्च प्राथमिकता

चारवटै नगरपालिकाले शिक्षा र स्वास्थ्य क्षेत्रलाई बजेटको प्रमुख प्राथमिकतामा राखेका छन्।

भक्तपुर नगरपालिकाले आफूले सञ्चालन गर्दै आएका शैक्षिक संस्थाहरूलाई निरन्तरता दिनुका साथै ख्वप मेडिकल कलेज स्थापनाका लागि बजेट विनियोजन गरेको छ। नगरवासीलाई इतिहास, भूगोल, संस्कृति, अर्थशास्त्र, दर्शनशास्त्र तथा राजनीतिशास्त्र विषयमा उच्च शिक्षा अध्ययनका लागि पूर्ण छात्रवृत्ति प्रदान गर्ने व्यवस्था पनि बजेटमा समेटिएको छ। नगरपालिकाले शिक्षातर्फ ५६ करोड रुपैयाँ विनियोजन गरेको छ भने नगर अस्पतालमा एमआरआई र आईसीयू सेवा सञ्चालनका लागि २३ करोड रुपैयाँ छुट्याएको छ।

मध्यपुर थिमि नगरपालिकाले निःशुल्क स्वास्थ्य सेवा र गुणस्तरीय शिक्षाको सुनिश्चिततालाई बजेटको मुख्य उद्देश्य बनाउँदै यस क्षेत्रमा ४६ करोड रुपैयाँभन्दा बढी रकम विनियोजन गरेको छ।

सूर्यविनायक नगरपालिकाले गुणस्तरीय विद्यालय शिक्षा, जीवनोपयोगी सीप विकास तथा आधारभूत स्वास्थ्य सेवामा नागरिकको सहज पहुँच सुनिश्चित गर्ने लक्ष्य लिएको छ।

चाँगुनारायण नगरपालिकाले रोजगारमुखी शिक्षा र गुणस्तरीय स्वास्थ्य सेवा विस्तारलाई प्राथमिकतामा राखेको जनाएको छ।

पूर्वाधार विकासमा ठूलो लगानी

भौतिक पूर्वाधार विकासतर्फ भक्तपुर नगरपालिकाले ३५ करोड रुपैयाँ विनियोजन गरेको छ। यसअन्तर्गत अरनिको सभाहल निर्माण, हनुमन्ते तथा कासन खोला सुधार, करिडोर निर्माण तथा लिवाली र देकोमिवा–इतापाके आवास योजना क्षेत्रका बाँकी काम सम्पन्न गर्ने योजना समावेश छन्।

मध्यपुर थिमि नगरपालिकाले पूर्वाधार विकासमा सबैभन्दा बढी १ अर्ब १८ करोड रुपैयाँभन्दा बढी बजेट छुट्याएको छ।

चाँगुनारायण नगरपालिकाले नगर गौरवको आयोजनाका रूपमा माधवनारायण मार्ग योजनाका लागि ७ करोड रुपैयाँ विनियोजन गरेको छ। साथै प्रत्येक वडालाई २ करोड रुपैयाँका दरले कुल १८ करोड रुपैयाँ उपलब्ध गराइने उल्लेख गरिएको छ।

सूर्यविनायक नगरपालिकाले नगर प्रमुख उज्यालो नगर कार्यक्रम, बृहत्तर खानेपानी आयोजना, नदी तथा कुलो व्यवस्थापनलगायत पूर्वाधार निर्माणका अधुरा आयोजना सम्पन्न गर्न बजेट केन्द्रित गरेको जनाएको छ।

बजेट प्रस्तुतिमा शहीदप्रति श्रद्धाञ्जली

बजेट प्रस्तुतिका क्रममा चाँगुनारायण नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकीले जेनजी आन्दोलनका शहीदहरूको स्मरण गरेका थिए। मध्यपुर थिमिका उपप्रमुख विजयकृष्ण श्रेष्ठले सशस्त्र जनयुद्धका शहीदहरूलाई श्रद्धाञ्जली व्यक्त गरे।

सूर्यविनायक नगरपालिकाकी उपप्रमुख सरिता तिम्सिना भट्टराईले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना तथा जनअधिकार प्राप्तिका लागि जीवन उत्सर्ग गर्ने शहीदहरूको स्मरण गरिन्।

भक्तपुर नगरपालिकाकी उपप्रमुख रजनी जोशीले नेपाल मजदुर किसान पार्टीको सिद्धान्त तथा पार्टी अध्यक्ष नारायणमान बिजुक्छेँले परिकल्पना गरेको ‘सय वर्षपछिको भक्तपुर’ लाई बजेट निर्माणको मार्गनिर्देशकका रूपमा प्रस्तुत गरिन्।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top