काठमाडौं। बिहानको सुस्ती हटाउन होस् वा कार्यालयमा काम गर्दागर्दै आएको थकान भगाउन, धेरैको रोजाइमा पर्ने पेय पदार्थ हो कफी। एक कप कडा कफी पिएपछि शरीरमा नयाँ ऊर्जा सञ्चार भएको अनुभव धेरैले गर्छन्। तर वैज्ञानिक अध्ययनले भने कफीले शरीरलाई प्रत्यक्ष रूपमा ऊर्जा नदिने, बरु केही समयका लागि दिमागलाई थकानको अनुभूति हुन नदिने देखाएको छ।
विज्ञानका अनुसार, मानिस जागा बसेर काम गरिरहँदा मस्तिष्कमा ‘एडिनोसिन’ नामक रसायन क्रमशः जम्मा हुँदै जान्छ। यो रसायनले मस्तिष्कका रिसेप्टरहरूमा पुगेर शरीर थाकेको र आराम आवश्यक भएको संकेत दिन्छ। यही कारण मानिसलाई निद्रा लाग्ने, हाइ आउने र अल्छी महसुस हुने गर्छ।
कफीमा पाइने मुख्य सक्रिय तत्व ‘क्याफिन’ रगतमार्फत मस्तिष्कमा पुगेर एडिनोसिन बस्ने रिसेप्टरहरूमा कब्जा जमाउँछ। क्याफिनको आणविक संरचना एडिनोसिनसँग मिल्दोजुल्दो हुने भएकाले यसले एडिनोसिनलाई आफ्नो काम गर्नबाट रोक्छ। परिणामस्वरूप मस्तिष्कले थकानको संकेत पाउँदैन र शरीर अझै सक्रिय रहेको अनुभूति हुन्छ।
विशेषज्ञहरूका अनुसार कफीले शरीरमा नयाँ ऊर्जा उत्पादन गर्दैन। यसले केवल थकान महसुस गराउने संकेतलाई केही समयका लागि रोक्ने काम मात्र गर्छ।
यति मात्र होइन, क्याफिनले शरीरमा डोपामिन र एड्रिनालिनजस्ता हर्मोनको स्तर पनि बढाउँछ। यसले मुटुको धड्कन र रक्तसञ्चार केही तीव्र बनाउने भएकाले ध्यान केन्द्रित गर्न र सतर्क रहन सहयोग पुग्छ।
तर यसको प्रभाव स्थायी हुँदैन। वैज्ञानिकहरूका अनुसार क्याफिनको असर सामान्यतया चारदेखि पाँच घण्टासम्म रहन्छ। त्यस अवधिभर एडिनोसिन भने मस्तिष्कमा निरन्तर जम्मा भइरहन्छ। क्याफिनको प्रभाव कम हुन थालेपछि ती सबै एडिनोसिन एकैपटक सक्रिय हुन्छन्, जसका कारण अचानक बढी थकान र सुस्ती महसुस हुन सक्छ। यस अवस्थालाई ‘क्याफिन क्र्यास’ भनिन्छ।
स्वास्थ्य विज्ञहरूका अनुसार कफीले केही समयका लागि सतर्कता बढाउन मद्दत गरे पनि शरीरको वास्तविक थकान हटाउने उपाय भने होइन। दीर्घकालीन रूपमा स्वस्थ रहन पर्याप्त र गुणस्तरीय निद्रा, सन्तुलित आहार र पर्याप्त आराम नै सबैभन्दा प्रभावकारी उपाय मानिन्छ।




%20(%E0%A4%85%E0%A4%A8%E0%A4%B2%E0%A4%BE%E0%A4%87%E0%A4%A8%E0%A4%95%E0%A4%BE%20%E0%A4%B2%E0%A4%BE%E0%A4%97%E0%A4%BF).gif)
