काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०८३ सालको कक्षा १२ को परीक्षाफल सार्वजनिक गरेको छ। गत वैशाख १४ गतेदेखि २७ गतेसम्म सञ्चालन भएको परीक्षाको नतिजा परीक्षा सम्पन्न भएको ३९ दिनमै प्रकाशित गरिएको बोर्डले जनाएको छ।
यस वर्षको परीक्षामा कुल ४ लाख १८ हजार १७० विद्यार्थी सहभागी भएका थिए। तीमध्ये नियमिततर्फ ३ लाख ३२ हजार २४१ तथा आंशिकतर्फ ८५ हजार ९२९ परीक्षार्थी रहेका थिए।
बोर्डका अनुसार नियमिततर्फ २ लाख ३१ हजार ७७० जना (६९.७५ प्रतिशत) र आंशिकतर्फ ३६ हजार ४२० जना (४२.३८ प्रतिशत) गरी कुल २ लाख ६८ हजार १९० विद्यार्थीले सबै विषयमा ग्रेड प्राप्त गरेका छन्। यो संख्या कुल परीक्षार्थीको ६४.१३ प्रतिशत हो।
नतिजाप्रति असन्तुष्ट विद्यार्थीहरूले प्रति विषय एक हजार रुपैयाँ दस्तुर बुझाएर असार १२ गतेसम्म पुनर्योग (रिटोटलिङ) का लागि अनलाइन आवेदन दिन सक्ने बोर्डले जनाएको छ।
त्यस्तै, बढीमा दुई विषयमा ‘एनजी’ प्राप्त गरेका वा परीक्षामा अनुपस्थित रहेका विद्यार्थीहरूलाई मात्र ग्रेड वृद्धि (पूरक) परीक्षामा सहभागी हुन अनुमति दिइनेछ।
नतिजा हेर्ने विभिन्न माध्यम
विद्यार्थीहरूले वेबसाइट, एसएमएस, आईभीआर तथा यूएसएसडी सेवामार्फत आफ्नो नतिजा प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ।
वेबसाइटमार्फत :
- result.neb.gov.np
- neb.gov.np
- neb.ntc.net.np
सिम्बोल नम्बर र जन्ममिति प्रविष्ट गरेर नतिजा हेर्न सकिनेछ।
उदाहरणः NEB 12345678 टाइप गरी 1600 मा पठाउने।
बोर्डका अनुसार नतिजा प्रकाशित भएको १५ दिनपछि मात्र विद्यार्थीहरूले आफ्नो विद्यालयमार्फत ट्रान्सक्रिप्ट, माइग्रेसन तथा प्रोभिजनल प्रमाणपत्रका लागि आवेदन दिन पाउनेछन्। यसका लागि कक्षा ११ र १२ दुवैमा तोकिएको न्यूनतम ग्रेड प्राप्त गरेको हुनुपर्ने व्यवस्था रहेको छ।




%20(%E0%A4%85%E0%A4%A8%E0%A4%B2%E0%A4%BE%E0%A4%87%E0%A4%A8%E0%A4%95%E0%A4%BE%20%E0%A4%B2%E0%A4%BE%E0%A4%97%E0%A4%BF).gif)
