ब्राम्पटनमा आज तेस्रो नेपाल फेस्टिभल–२०२६ हुँदै, खेम सेन्चुरीसहित दर्जनौँ कलाकारको प्रस्तुति

0


शिशिर सिखडा, टोरोन्टो

क्यानडाको ब्राम्पटन सहरमा आज (शनिबार) तेस्रो नेपाल फेस्टिभल–२०२६ आयोजना हुँदैछ। लालीगुराँस स्पोर्ट्स एण्ड कल्चरल क्लबको आयोजनामा हुने फेस्टिभल नेपाली कला, संस्कृति, भाषा, भेषभूषा, संगीत, परम्परागत खानाका परिकार, हस्तकला तथा नेपाली उत्पादनको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्ने उद्देश्यका साथ आयोजना गरिएको हो।

आयोजक संस्थाका अध्यक्ष तथा मूल आयोजक समितिका संयोजक विश्व अधिकारीका अनुसार फेस्टिभलको सम्पूर्ण तयारी पूरा भएको छ। कार्यक्रमस्थलमा मञ्च निर्माण, नेपाली झण्डा, सांस्कृतिक झल्को दिने ब्यानर तथा आकर्षक सजावटको व्यवस्था गरिएको उनले जानकारी दिए।

ब्राम्पटन सिटीस्थित सुपर वर्ल्ड कम्प्लेक्सको प्राङ्गणमा स्थानीय समयअनुसार दिउँसो १ बजेदेखि बेलुका ९ बजेसम्म सञ्चालन हुने महोत्सवमा नेपाली परिकारका स्टलसहित करिब ३० भन्दा बढी व्यावसायिक तथा सामाजिक स्टल रहनेछन्। क्लबका महासचिव एवं नेपाल फेस्टिभल–२०२६ मूल समारोह समितिका सदस्य धर्म न्यौपानेका अनुसार महोत्सवले नेपाली समुदायलाई एकै ठाउँमा जोड्ने अवसर प्रदान गर्नेछ।

फेस्टिभलमा गुरुङ, तामाङ, शेर्पा, नेवार, थारु, मधेसीलगायत विभिन्न जातजातिको सांस्कृतिक झाँकी, मौलिक नृत्य तथा लाखेनाच प्रस्तुत गरिने कार्यक्रम रहेको छ।

आयोजकका अनुसार महोत्सवमा प्रवेश निःशुल्क हुनेछ भने पार्किङको पनि निःशुल्क व्यवस्था गरिएको छ। क्लबका कोषाध्यक्ष अनिल ज्ञवालीले सहभागीलाई सहज व्यवस्थापन मिलाइएको जानकारी दिए। करिब १० हजारभन्दा बढी दर्शक तथा सहभागीको उपस्थिति रहने अनुमान गरिएको क्लबका उपाध्यक्ष तथा मूल समारोह समितिका सदस्य श्याम अर्यालले बताए।

यसअघि पनि लालीगुराँस स्पोर्ट्स एण्ड कल्चरल क्लबले ब्राम्पटनमा पहिलो र दोस्रो नेपाल फेस्टिभल सफलतापूर्वक आयोजना गरिसकेको छ।

महोत्सवको उद्घाटन क्यानडाका लागि नेपाली राजदूत भरतराज पौडेलले गर्ने कार्यक्रम रहेको छ। कार्यक्रममा क्यानडाका सिटिजन्स तथा बहुसांस्कृतिक मन्त्री ग्राहाम म्याकग्रेगर, संघीय सांसद सोनिया सिधु, अमनदीप सिंह, एनआरएनए क्यानडाका अध्यक्ष जगन्नाथ सापकोटालगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहने आयोजकले जनाएको छ।

खेम सेन्चुरीको विशेष सांगीतिक प्रस्तुति

महोत्सवको प्रमुख आकर्षणका रूपमा चर्चित लोकगायक तथा संगीतकार खेम सेन्चुरीको विशेष प्रस्तुति रहनेछ। उनले ‘म त ढलेँ ढलेँ’, ‘मायालाई पानको पात’, ‘सोचेझैँ जिन्दगी रैनछ’, ‘झ्यालमा पर्दा छ’, ‘लरिलरिलै’, ‘उखु गुलियो’, ‘नन्दनी’, ‘कपालु कोरेर’, ‘हान्छु तिमीलाई लौरीले’, ‘जाम साईंली’, ‘सुर्ती माड्दै माड्दै गयो जोवन’, ‘अरेली काँडैले’, ‘कमाउने नि हो’, ‘तिमीलाई पछ्यौरी किनिदिऊँला’ र ‘तीजै रमाइलो’ लगायत आफ्ना चर्चित गीतहरू प्रस्तुत गर्नेछन्।

त्यसैगरी गायक चेतन सापकोटा, लोकगायिका देविका केसी, गायक मानसिंह खड्का, अर्जुन कुमार, बिन्दा परियार, आशीर्वाद सुवेदीलगायत दर्जनभन्दा बढी कलाकारले गायन तथा नृत्य प्रस्तुति दिने आयोजकले जनाएको छ।

नेपाली समुदायको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको यस महोत्सवले क्यानडामा नेपाली कला, संस्कृति र पहिचानलाई अन्तर्राष्ट्रिय समुदायसमक्ष थप प्रभावकारी रूपमा प्रवर्द्धन गर्ने विश्वास आयोजकले व्यक्त गरेका छन्।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top